मकवानपुर । बागमती प्रदेशमा लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि गाई र भैंसी गरी ९६ हजार ३ सय ४७ वटा खोप लगाईएको छ । प्रदेश सरकारले चलाएको सप्ताहव्यापी खोप अभियान अन्तरगत प्रदेशका १३ जिल्लामा उक्त परिमाणमा खाेप लगाइएकाे हाे ।
यो वर्ष प्रदेशकाे ललितपुर जिल्लाबाट लम्पी स्किन रोगको प्रभाव न्यूनिकरणका लागि खोप अभियानको सुरुवात गरिएको थियो । त्यसपछि १३ वटै जिल्लामा अभियान सञ्चालन गरिएको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएकाे छ । बागमती प्रदेशका १३ जिल्लाका १ लाख २० हजार पशुलाई लम्पी स्किन विरुद्ध खोप लगाइने लक्ष्य सहित गत १ भदौबाट अभियान संचालन गरिएकाे थियाे ।
सप्ताहव्यापी खोप अभियान अन्तर्गत मकवानपुर जिल्लामा सबै भन्दा बढी खोप लगाइएको छ । मकवानपुरका २४ हजार ६ सय ९५ गाईभैँसीलाई खोप लगाइएको छ । यसैगरी सिन्धुलीमा १० हजार ३ सय २८ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ । त्यस्तै दोलखामा ९ हजार ९ सय ८२, नुवाकोटमा ७ हजार ७ सय २४, काभ्रेपलाञ्चोकमा ७ हजार ६ सय ९८, सिन्धुपाल्चोकमा ६ हजार २ सय ८४, धादिङमा ६ हजार ५१, चितवनमा ६ हजार १५ वटा लम्की स्किन रोग विरुद्धको खोप लगाइएको छ ।
यसैगरी रामेछापमा ४ हजार ४ सय ३७, काठमाडौंमा ४ हजार ३ सय ५०, रसुवामा ३ हजार ६ सय ३४, ललितपुरमा ३ हजार ६ सय ६, भक्तपुरमा १ हजार ५ सय ४३ वटा गाईभैँसीमा लम्की स्किन रोग विरुद्धको खोप लगाइएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत खोप लगाउन सुरु गरिएको खोप कार्यक्रम अहिले पनि निरन्तर जारी रहेको मन्त्री मधुसूदन पौडेलले बताए ।
मन्त्रालयको तथ्यांकअनुसार बागमती प्रदेशभर कुल गाईको संख्या ६ लाख ९४ हजार २ सय १७ रहेको छ भने भैँसीको संख्या ५ लाख ४९ हजार १ सय ८२ रहेको छ । ती पशुहरू मार्फत वार्षिक रूपमा जम्मा ४ लाख ८१ हजार ७७१ मिल्क टन दूध उत्पादन गर्ने गरेका छन्। जिल्लागत रूपमा हेर्दा चितवनमा सबैभन्दा बढी दूध उत्पादन हुने गरेको देखिन्छ । जहाँ सात स्थानीय तहमा ९२ हजार २ सय ५६ गाई र ७२ हजार २ सय भैँसी छन्।
आर्थिक वर्ष २०८०।८१ मा बागमती प्रदेशमा मात्र ११ हजार २१८ गाई तथा भैँसी लम्पी स्किन रोगका कारण मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। सोही अवधिमा ३७ हजार ८९ गाईभैँसी संक्रमित भएका थिए भने कुल २ लाख ५६ हजार ७५९ पशु प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित भएका थिए। यसअघि प्रदेशभर २ लाख ४५ हजार २२२ गाई तथा भैँसीलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले १ भाद्र २०८२ बाट प्रदेशका १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गरकाे थियाे । बागमती प्रदेश सरकारले लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि प्रदेशव्यापी खोप अभियान सञ्चालन गरी खोप लगाउँदै आएकाे छ । लम्पी स्किन रोगले गाई तथा भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादनमा गिरावट आउने, शरीर सुन्निने र जनावर अशक्त देखिने जस्ता लक्षणहरू देखिन्छन् ।

