मकवानपुर । बागमती प्रदेशको ललितपुर जिल्लाको विकट गाउँपालिका कोन्ज्योसोममा १३ करोड ८१ लाख रुपैयाँमा अस्पताल निर्माण गरिएको छ ।
अस्पतालको बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले उद्घाटन गरेका छन् । गाउँपालिकामा निर्माण भएको शंखु अस्पतालको भवन उद्घाटन गर्दै स्वास्थ्य मन्त्री थापाले जनताको स्वास्थ अधिकारलाई सम्बोधन गर्न सरकार सधै तत्पर रहेको बताए ।
प्रदेशका अधिकांश पालिकाहरूमा आधारभूत अस्पताल स्थापना भइसकेको जानकारी दिंदै, अब त्यहाँ आवश्यक मेडिकल सामग्री तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले बताए । भवन मात्र भएर नहुँने बताउँदै मन्त्री श्रेष्ठले चिकित्सकलगायतका अन्य कर्मचारी, उपकरण र सेवा प्रदान गर्ने प्रणाली पनि सँगै हुनुपर्ने बताए ।
कोभिड १९ महामारीको समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको यो अस्पताल स्थापनाको अभियानलाई निरन्तरता दिँदै मन्त्री थापाले सबै तह संघ, प्रदेश र स्थानीय एकै साथ लाग्नुपर्ने आवश्यकता औंल्याए । “पालिकाहरूबाट चिकित्सक, स्टाफ नर्सलगायत आवश्यक स्वास्थ्यकर्मी र उपकरणको माग भइरहेकै छ। यसलाई सम्बोधन गर्न प्रदेश सरकारले ११९ तहका अस्पताललाई सहयोग गर्ने गरी योजना बनाएको छ ” मन्त्री थापाले भने ।
सबै सुविधा तुरुन्त उपलब्ध हुन नसक्ने भए पनि टेलिमेडिसिन सेवाको माध्यमबाट दुर्गम क्षेत्रमा समेत स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा सरकार अग्रसर रहेको उनले जानकारी दिए। स्थानीय तहबाट सुरु भएको यो प्रयासलाई सुदृढ पार्न प्रदेश सरकारको थप सहकार्य आवश्यक रहेको स्थानयहरुले बताएका थिए। मन्त्री थापाले निकट भविष्यमा स्वास्थ्य सेवा गुणस्तरीय र पहुँचयोग्य बनाउन थप कार्यक्रमहरू ल्याइने प्रतिवद्धता व्यक्त गरे ।
अस्पताल बनाउन स्थानीय विष्णुमाया बोम्जनले ३ रोपनी जग्गा दान गरेकी थिइन् । थप १ रोपनी सरकारी जग्गा र २ रोपनी जग्गा विष्णुमायाको नातिहरु मरिचमान र किशोर बोम्जनसँग १६ लाखमा खरिद गरिएकोसहित ६ रोपनीमा अस्पताल निर्माण गरीएको थियो । २०७८ भदौ २३ गते निर्माण कम्पनीसङ्ग १३ करोड ८१ लाख रुपैयाँ निर्माण सम्झौता गरी काम शुरु भएको थियो ।

