चैत महिना स्कुलमा परीक्षा सकिने र रिजल्टकाे पर्खाईमा विद्यार्थीहरु रहने समय । त्यसो त फागुन चैत महिना भ्रमणकाे लागि समेत उपयुक्त । वर्षकाे एक पटक कही न कही पारिवारिक भ्रमण गर्न रुचाउनेहरुकाे लागि यो समय उत्तम।
वर्षकाे एक/दुई पटक पारिवारिक भ्रमण गर्न आफूसमेत श्रीमती, छोरी र छाेराकाे लागि उपयुक्त समय विद्यालय केही साता बिदा हुँदा हुनेगर्छ । स्थान चयनमा भने छोरीछोराहरु भन्दा पनि अभिभावककाे निर्णय हुने गर्छ । छोरा अली सानाे भएकाेले उस्लाई स्थानकाे बारेमा खासै ज्ञान रहँदैन् । छोरीकाे लागि भने चासो रहने गर्छ । वर्षमा २-३ पटक हामी केही लामाे र केही छोटाे पारिवारिक भ्रमण गरिरहन्छौं । यसले तनाव कम गर्छ भने स्फुर्ती समेत बढाउँछन् ।
यो पटककाे भ्रमण केही साथीसंगीका परिवार सहित पुर्वी नेपालका पहाडी जिल्लाहरु जाने तयारी भए पनि उपयुक्त समय नभएर रोकियो । त्यही दिन घरमा नुवाकाेट जाने योजना बन्यो । नुवाकाेट भ्रमणकाे लागि छनौटमा पर्नुकाे पछाडी मेरो जन्मस्थान रहेकाे जिल्ला तथा दुप्चेश्वर महादेव मन्दिर हाे । जुन मन्दिर अर्काे पशुपति भनेर समेत चिनिन्छ । यो यात्रामा अर्काे संयोग समेत जुरेकाे छ मावली गाउँ । जन्मस्थान रहेकाे दुप्चेश्वर गाउँपालिकासँगै जोडिएकाे तादी गाउँपालिकामा पर्छ मावली गाउँ ।
जन्मथलोमा हजुरबुबा काकाहरुसँग भेटघाट हुने, मावलामा मामाहरु, माइजु्हरु, दाइहरु, भाउजुहरु तथा भाइ बहिनीहरुसँग भेटघाट हुने र सम्बन्ध नविकरण समेत हुने मेसोमा नुवाकाेट राेजाइमा पर्यो । अझ श्रीमती (सरिता दहाल) ले विवाहपछि धेरै पटक रहर गरेकाे स्थान नुवाकाेट जाने इच्छा पुरा हुँदै थियाे । उनी करिब १७ वर्षमा पहिलो पटक नुवाकाेटकाे घरपट्टीकाे पुर्ख्यौली थलो र मावला जादै थिइन् । छोरी छोराहरुकाे लागि अझ नयाँ पहिलाे अनुभव ।
चैत्र २० गते साथीभाइकाे सल्लाहले अन्यस्थानकाे यात्रा तय गर्ने अवसर नमिलेपछि २२ चैत २०८१ शुक्रबार काठमाडौं हुँदै नुवाकाेट दुप्चेश्वरसम्म जाने र जन्मथलो र मावली गाउँ समेत घुमघाम गर्ने गरी कार्यक्रम तय भयो । १६ वर्षपछी आफू जन्मिएकाे स्थानमा पुग्दै थिए भने मावला दर्जनौ पटक गएकाे एक थपिदै थियाे । करिव ४ दिनकाे लागि तय भएकाे यात्रामा शुक्रबार १ बजे हेटौंडाबाट काठमाडौंसम्म लागि यात्रा तय गर्यौ । काठमाडौंमा बसाइ व्यवस्थापन कसरी गर्ने तय थिएन । तर बाटोमा जादै गर्दा दुप्चेश्वर साहित्य समाजका अध्यक्ष बासुदेव गुरागाईं (काका) लाई सम्झियौं । उहाँ साहित्यमा पिडालु पण्डितले समेत चिनिनुहुन्छ । साहित्य समाजकाे माध्यमबाट दुप्चेश्वरकाे प्रचार प्रसारमा समेत लागि रहनु भएकाे छ ।
उहाँकाेमा शुक्रबार पाहुना हुने निधाे गर्नुका पछाडी भेटघाटका अलावा दुप्चेश्वरमा पछिल्लो समय भएका गतिविधि बुझ्न र भाेली पल्ट बिहानै काकाकाे घर नजिकैबाट दुप्चेश्वर जाने सवारी साधन पाइनुले पनि हाे । भेटमा केही बेर गफियौं र बिहानै ६ बजेकाे इभी सवारीका ३ सिट बुक गरी सुत्यौं । २३ गते शनिबार बिहान ५ बजे उठेर नित्यकर्मपछि ६ बजे इभीवालले फोन गरेसँगै हामीले नुवाकाेटकाे यात्रा गर्यौ । ३ जना पहिलाे पटककाे यात्रामा तर म नयाँ बाटोमा पहिलो पटक ।
स्वच्छ नदीनाला हरिया वनजंगल सुन्दर हिमाल र मनोरम पहाडले घेरिएकाे प्राकृतिक वातावरणकाबिच कलापूर्ण चट्टानी पहरोकाबीचमा विराजमान नुवाकाेटकाे पशुपति वा दोस्राे पशुपति भनेर चिनिने मनोरम धार्मिक पर्यटकीय स्थल दुप्चेश्वर महादेव क्षेत्र । यस्तै देखिएकाे थियाे मेराे दोस्राे पटककाे भ्रमणमा । यसले समेत परिवारका सदस्यलाई त्यहाँसम्म पुर्याउने जमर्काे गरियो । शनिबार विहान ९ः३० बजे हामी दुप्चेश्वर महादेव रहेकाे पहरोकाे फेदी रामतीमा तादी नदिकाे किनारा मै रोकियौं । त्यहाँ केही पुजाका सामग्री लिएर तादी नदी पार गरी गोगनचौर हुँदै उकालो उक्लिदै दुप्चेश्वरकाे उत्पत्तीका पौराणिक कुरा गर्यौ ।

शनिबार बिदाकाे दिन केही बढी घुइचाे हुन्छ भन्नु भएकाे थियाे काकाले काठमाडौंमै । केहीबेर पंतिबद्ध भइ उभिएदैं अगाडि बढ्दा मुख्य मन्दिरमा पुगेर दर्शन गर्यौं । सरर् चिसो हावा चल्ने राउचुलीको काख, शिखरबेसीको समीप, कुतुङ खोलाको दोभान, सूर्मयती (तादी) खोलाको तीर, रामावती (रामती) को छिमेकी पहाडको शिर, करेजुङको पाउ, रमाइलो ठाउँ गोगनचौर फाँट | गोगनचौरलाई काखमा च्यापेर गजधम्म बसेको रसिलो पहाड । त्यसैको नाभीमा विराजमान दुप्चेश्वर दर्शन गर्न लाइन बस्दै देखि केही फोटो खिच्यौं । मन्दिर परिसरबाट रामती बजार नियाल्यौं शिखरवेसी (चामलकाे लागि प्रख्यात स्थान) हेर्यौं ।
महादेवको शिवलिङ्ग । त्यो पनि भिरको अनकन्टार बिच अक्करमा । भिरमा शिवजीको बासस्थान, त्यसको प्राङ्गणमा अवस्थित गोगनचौर फाँट र तादी खोलाको कलिलो कलकल स्वरमा बग्ने कञ्चन जलप्रवाह, घरभन्दा ठुला ढुङ्गा, सबै क्षेत्र पारिवारिक सदस्यलाई चिनाउँदै फर्कियौं । तादी तरेर रामतीमा बिहानकाे भाेजन गर्यौं र सल्लाहले भ्याङ्ले हुँदै कमेरगाउँ सम्म हिडेंर जाने भयौं । यो यात्रा मेरो तेस्राे थियाे । दुप्चेश्वरबाट कमेरेगाँउसम्म करिब ५ किमी यात्रा गर्दा बाटोमा फलेका ऐंसेलु खायौ काडालाई घाेचाएरै ।
पूर्व तिरकाे हुँङ हेर्यौ । तादी नदिकाे तिरै तिर बनेकाे माेटर बाटोबाट हिड्यौं । केहीबेरकाे यात्रा पछि पारीपट्टी समुन्द्रटार देखियाे जुन बजार जिजुबाजे हजुर बा र बाहरुकाे बजार थियाे । अहिले पक्की घर बनेर आधुनिक बजार बन्दै थियाे । तादी तर्न झोलुङ्गे पुल भएकाे स्थान सँगै पक्की पुल बनेकाे रहेछ । समुन्द्रटारलाई बायाँ पारेर केही पश्चिम हिडेपछि नौविशे हुँदै भ्याङ्लेकाे पुल तरेर कल्याण मावि पुग्यौ । त्यहाँबाट केही बेर उकालो लागे पछि आउने कमेरेगाउँ पैरे पुग्दा आफ्नाे बाल्यकालका केही स्मृतिहरु मानसपटलमा आइरह्यो । काका (माधव बुबाकाे भाई) काे घरमा केहीबेर बसेर गर्मीमा मोही पियौं । काकासँग केही मकवानपुर तिरका केही नुवाकाेट तिरका र पारिवारिक गफगाफ गर्यो र करिब १ घण्टा अलमलियौं
आफू जन्मेकाे स्थान (घर २०७२ सालकाे भूकम्पले भत्किएकाे) चिनाउँदै घरै माथिकाे सिमलकाे रुख (जुन २०० वर्ष भन्दा अगाडीकाे भन्ने गर्छन्) देखाउँदै केही माथि बाहुनथोकमा रहनु भएका हजुर बुबा, काकाकाकीहरुसँग भेटघाटकाे लागि उक्लियौं । यात्रामा ७ वर्षीय छोरा स्वरुप म सँगसँगै हिडिरह्यो कहीकतै थकाइ समेत लागेकाे भनेकाे थाहा भएन । आफ्नो पुर्वजहरुले त्यही उकालाे उरालाे गरेर जीवन निर्वाह गरेकाे स्थानमा कहिल्यै उकालाे नगरेकाे छोराे हिडेकाे देखेर हामी अचम्मित भयौं । छोरी र श्रीमतिलाई भने केही गार्हाे भयो हिडाईमा ।
केहीबेरमा हजुरबुबा (रामप्रसाद) काकाहरु (गोकर्ण र नवराज) बसोबास गरेकाे स्थान बाहुनथोक पुग्यौं । केही कुरा गरेर फेरी भेट्ने भन्दै छुट्टीयौं करिब दिउँसोकाे ४ बजे । आफू जन्मिएर केही वर्ष त्यहीकाे माटोकाे सुगन्ध लिएकाे लुटपुटिएर हुर्किएकाे स्थानमा २० वर्ष पाइला टेकेकाे थिए । अरुले पहिलाे पटक । गुरागाईंहरुकाे बाक्लो बस्ति रहेकाे बालकुमारी गाविस (अहिलेकाे दुप्चेश्वर गाउँपालिका) मा अहिले दर्जन घर समेत छैनन् । काेही काठमाडौं काेही मकवानपुर काेही चितवन बसाई सरेर उक्त गाउँ छोडेका छन् ।
आफू जन्मिएकाे स्थानमा एक रात बसेर फर्कनु पर्ने हाे तर त्यो दिनकाे बासकाे प्रवन्ध तादी गाउँपालिका सातविसेमा चैत २१ गते नै तय भएकाे थियाे, चैते दशैंमा मामा घर बस्ने गरी । हामीले पुर्ख्यौली थलो थातथलोमा करिब ३ घण्टा बिताएर पहिलेका गाेरेटो बाटो पहिल्याउँदै ओरालो झर्यौ । बन्न त कच्चीबाटाे बनेकाे छ । तर हामीले गोरेटेबाटो नै रोज्यौं । पुर्वजहरु हिडेकाे बाटोलाई स्पर्श गर्नु थियाे भने अरुलाई यस्तोबाटो र माटोमा रमाएका थिए भन्ने देखाउनु र थोरै भए पनि अनुभूति गराउँनु थियाे ।
साँझ ७ बजे सातविसे बजार आइपुग्यौ मामाकाे घर । ठुलोमामा सतारकाे मैदानमा बस्नुहुन्छ । मामाकाे छोरा(दाई) भाउजु र छोरा बुहारी सातविसे वस्न थाल्नु भएकाे ८ वर्ष अघिदेखि हाे । कान्छो मामाकाे परिवारले सतार दाहालथोक छोड्नु भएकाे करिब १२-१५ वर्ष भयो । काठमाडौं बस्नु हुन्छ । काठमाडौं जाँदा भेट हुन्छ । तर ठुलाेमामा र उहाँकाे परिवारसँग १५ वर्षपछि भेट भएकाे हाे । दुप्चेश्वर मन्दिरदेखि बालकुमारीकाे बाहुनथोकसम्म र बाहुनथोकबाट सातविशेसम्म हिड्दा करिब १०-११ किमी यात्रा तय गरेका थियौं थकाइले गलेका थियौं । दाजु भाउजु र भाईसंग गफिदैं आराम गर्यौं खाना पछि सुत्यौ । भाेलीकाे दिन विहानै फेरी उकालाे हिडेर मामा माइजुलाई भेट्न जानु छदै थियो ।
२४ चैत आइतबार १५ वर्षपछि ठुलोमामाकाेमा जानु थियाे । बिहान ८ बजे सातविसेबाट घट्टेखाेला पार गर्दै दाहाल थोक हुँदै उकालियौं । हिजोकाे हिडाईंले केही थकित भएपनि जानु त छदै थियाे । मामाकाेमा पुग्दा १०ः३० बजेकाे थियाे बिहानकाे । माइजु मात्रै घरमा भेटिनु भयो । केही बेर गफ गर्दै खानाकाे तरखरमा माइजु लाग्नु भयो हामीले सहयोग गरौं । खाना पाक्दै गर्दा श्रद्धा (श्राद्ध) काे तिथीमा यजमानकाे जानु भएकाे मामा आइपुग्नु भयो । हामी खाना पछि करिब दिउँसोकाे ३ बजे बाह्रविशे तर्फबाट जाने गरी ओरालो लाग्यो । त्यो बाटोमा ध्रुव मामाकाे घर रहेकाेले त्यहाँ पनि पस्नु पर्ने थियाे । मामा सँग भेट हुन सकेन । उहाँ रामती काम विशेषले जानु भएकाे रहेछ । त्यहाँ करिब १ घण्टा अलमलिएर भाेली बिहानै काठमाडौं हिड्नु पर्ने भएकाेले छुट्टियाैं । २५ गते बिहानै हामी सुमाेबाट काठमाडौं आयौं । काठमाडौंमा स्वयम्भु र धरहरा साथै बसन्तपुर दरबारकाे फन्काे लगाएर घुमघामकाे विट मार्यौ । भाेली पल्ट बिहानै हेटौंडा आयौं ।

३२ वर्ष अघिकाे दुप्चेश्वर यात्रा
पहिलाे पटक २०४९ सालमा आमासहितका केही आफन्तकाे साथ लागेर मंसिर महिनामा दुप्चेश्वरमा लाग्ने जात्रा समेत हेर्न भ्याउने गरी जन्मस्थान र मावला गएका थियौं । उतीबेला हेटौंडाबाट साझा बस बाइरोड (त्रिभुवन राजपथ जुन भैसे सिमभन्ज्याङ्ग दामन पालुङ हुदै काठमाडौं जोडिन्छ) बाट काठमाडौं जाने आउने गर्थ्यौ । त्यही बसमा उभिएर कहिले आमासँगै बसेर यात्रा गरेकाे ताजै छ । बाइरोडकाे बाटो घुम्ती धेरै बसकाे यात्रामा समेत वमिट गरेकाे थिए (त्यस पछि जुनसुकै गाडीकाे यात्रामा वमिट गरेकाे छैन) ।
एक दिनमा काठमाडौं पुगेर बुबाकाे काकाकाे घरमा बास बसेर भाेलीपल्ट बिहानै बालाजुबाट नुवाकाेट त्रिशुली जाने बसमा रानीपौवासम्म गएकाे र त्यहाँबाट पैदल थानसिङफाँट हुदै कविलास पुगेर बास बसेकाे याद छ । त्यसपछीकाे दिन पूर्णिमा बिहानै कविलासबाट खरानीटारकाे फेदीकाे बाटो दुप्चेश्वर पुगेका थियौं । मेला लाग्ने दिन भएकाेले पसलहरुकाे लागि अस्थायी टहरा बन्दै थियाे । विभिन्न झाँकीहरु आउने क्रम थियो । उखुकाे लाङ्ग्रा बाटोभरी बेच्न राखेकाे भेटिन्थ्यो । गित गाउनेहरुकाे टोली छुट्टै थिए । गोगनचौर सिंगारिए झैं लागेकाे थियाे । केटाकेटी बेला आँखाले देखेकाे रमाइलाे मात्रै रमाइलो मान्ने बेला थियाे त्यो अन्य कुराकाे भेउ पाउदैन थिए ।
मन्दिर दर्शन पछि केहीबेर त्यही बसेर रमाइलो हेर्यौं । उखुका लाङ्ग्रा किन्नु भयो आमाहरुले । मलाई उखु खान मात्रै हाेला भन्ने लागेकाे त । त्यही उखु टेक्दै हिड्न सजिलो समेत हुने रहेछ । हिडेर फर्किदै कतै बस्दै त्यही उखु खादै कमेरेगाउँ आमाकाे दिदि भिनाजुकाे मा बास बस्ने गरी आयौं । थकाइले लखतरान म दोहाेरो नाता पर्ने (बुबा पट्टीबाट हजुर बुबा हजुरआमा, आमा पट्टीबाट ठुलीआमा ठुलोबुबा ) गुरागाईंकाे घरमा बेलुकाकाे दुख र भात खादाखादैं निदाए । उतीबेला त्यस वरिपरीका परिवेशकाे खासै मेसाे पाइन ।
२१ वर्ष अघिकाे यात्रा
२०६० सालकाे पुष महिना । आमाकाे साथ लागेर फेरी मावला जानु पर्ने भयो । उती बेला काठमाडौं बसिन्थ्यो पढाइकाे सिलसिलामा । परीक्षा आउनु केही समय अघी गयो परीक्षा सकिए पछि फर्किने गरी बसाई काठमाडौं थियाे । काकाकाे छाेरा गणेश पनि काठमाडौं बसेर पढ्दै थियाे । जाडो महिनामा कलेज बिदा परेकाे बेला थियाे । आमा हेटौंडाबाट काठमाडौंसम्म आउनु भयो । गणेशलाई हिड् जाउँ भनेकाे हुन्छ भने पछि हामीले काठमाडौं बट्टार गगटे चौघडा हुँदै आप्रसम्मकाे बसकाे यात्रा तय गरेका थियौं । त्यहाँबाट मावली गाउँ आउन पैदल करिब १ घण्टा लाग्ने । म आमालाई मावलामै छोडेर गणेशसँग कमेरे गाउँ गए । मैले जन्मभूमि छाेडे पछि थाहा भए अनुसार दोस्राे बास थियाे त्यहाँ ।
काकाकाीले झण्डै नचिन्नु भएकाे । गणेशसँग भाेलीपल्ट दुप्चेश्वर जाने सल्लाह भयो । काकालाई तादीकाे माछा पाइन्छ भने ल्याउनु न भन्यौ । बुबाले बेला बेला भन्नु हुन्थ्याे तादीकाे चिसो पानीमा भएकाे माछा खुब पान्छन् । बिहानै हामी दुई दाजु भाई भ्याङ्लेकाे झौलुङ्गे पुर तरेर समुन्द्रटारलाई दायाँ पार्दै रामती हुँदै दुप्चेश्वर पुगेका थियौं । द्वन्द्वकालमा खासै चहलपहल थिएन त्यहाँ । हामीले मन्दिर क्षेत्रमा कसैलाई भेटेनौ पुजारी बाहेर । त्यो बेला सबै केटी राम्रा हुँदैनन् राम्रा जती हाम्रा हुदैनन्.. गीत युवा माझ अली बढी चल्तीमा थियाे । भाईले त्यही गीतलाई अली रिमिक्स पाराले गायो । म हाँसे । १०-१५ मिनेट जति मन्दिर क्षेत्रमा विताए पछि भाईले हुङ हुदैं फर्किने कुरा गर्यो । उसकाे मावली गाउँ हुङ । मेराे ठुली आमाकाे घर पनि । हिड्नेकाे कुरा मिलेपछि भेटघाट हुने र विहानकाे खाना उतै खाने योजना बनाएर तादी र रामतीलाई दायाँ पारेर भिरकाे बाटो हिड्यौ केही बेर ।
बाटोमा भेटिएका घरहरुमा बस्दै कुरा गर्दै गाउँमा माेही पाइए खादैं जाने भाईकाे योजनाले काम गर्दैन की लागि रहेकाे थियाे । द्वन्द्वकालमा मानिसहरु नौलो मानिस देखे पछि कि बोल्दैन थिए की थोरै बाेलेर पन्छिन खोज्थे । हिड्दै जादाँ एउटा घरमा पुगेर कुरा सुरु गरेको कमेरे गाउँकाे गुरागाईं भनेपछि साेधीखाेजी सुरु भयो । बुबाहरुलाई चिन्नु हुदो रहेछ । केही बेर कुरा गरौ । पानीकाे सट्टा माेही भए दिनुस भन्यौ । १/१ गिलास माेही खाएर विदा भयौ त्यहाँबाट । केही समय भाइकाे मावला घर मेराे ठुलाेआमा ठुलाेबुबाकाे घर आइपुग्यो । दुवै घर तल माथि छ । खानाकाे प्रवन्ध मामा घरमा भयो ।

हुङबाट समुन्द्रटार हुँदै कमेरेगाउँ पुग्यौ । काकाकाेमा पुग्दा साझैं परिसकेकाे थियो । काकाले माछा ल्याउनु भएछ तादी खाेलाकाे । थाकेका थियौं । बेलुकाकाे खाना खाए पछि सुत्यौं । भाेलीपल्ट गाउँ घुम्ने योजना थियाे । त्यसै गर्यौ । बाहुनथोकसम्म पुगेर इष्टमित्र भेटघाट गर्यौं । बेलुका फर्किदा पैरेमा माओवादीकाे त्यस क्षेत्र हेर्ने इन्चार्ज (समुन्द्र भने उनले चिनाउँदा पछि सेनासँग जम्काभेट हुँदा तादीमा हाम फाले भन्ने सुनिएकाे) भेटियाे । उनैले सेना सातबिसेबाट माथि आउँदै गरेकाे जानकारी दिए । माघे संक्रान्तीकाे दिन मामा घर पुग्ने योजना थियाे । भाेली उता लाग्नु पर्ने । कतै डर लाग्दै थियाे नौलाे स्थान सेनाकाे फेस गर्नु पर्यो भने के गर्नु कसरी गर्नु । जे त हाेस जानु छदै थियाे । भाेली पल्ट खाना खाएर दिउँसो काकाकाे घरबाट गणेशलाई समेत लिएर निस्किए सातविशे तर्फ केही सेनाका एक टोलीसँग जम्मका भेट भयो स्थानीय पाण्डे थर (उनकाे नाम अहिले याद छैन तर बुबाहरुकाे साथी) का मानिससँगै । सेनाका सुरुका सिपाहीले घर कहाँ कता हिडेकाे लगायतका केही कुरा सोधे भएकाे कुरा भनिदिए । आइडी कार्ट नागरिकता देखाइदिए । ती पाण्डेले समेत थप पुष्ट्याइ दिए । ती मध्येका एक जना गणेशकाे साथी रहेछन् कलेज सँगै पढेका । त्यसपछि केरकार गरेनन् । र सहजै रुपमा मामा घर पुगे ।
दुप्चेश्वर महादेवस्थानकाे उत्पत्तीका किंवदन्ती
हिन्दु धर्मावलम्बीहरुले समय समयमा देवताहरुले मानव जीवनलाई संरक्षण र परिपालन गर्न विभिन्न स्थानमा स्वयं प्रकट हुने गरेको विश्वास गर्छन् । देवी देवताहरु विभिन्न स्थान विशेषमा प्रकट भएको किंवदन्तीहरु सुन्न पाइन्छ सुन्दै आएका छौं । दुप्चेश्वर महादेवको उत्पत्ति सम्बन्धी किंवदन्ती रोचक लाग्छ । दुप्चेश्वर महादेव भिरको पहरोमा अवस्थित छ । उहिले उक्त स्थानमा दर्शनकाे लागि लहरा र बुटाहरुको सहारा लिदै जानु पर्थ्यौ ।भिरको तल समथर फाँट, सूर्यमती नदी र अन्यत्र घना जङ्गल थियो ।
त्यहाँका मानिसहरु पशुपालनबाट आफ्नो जीवन निर्वाह गर्दथे । एक दिन एक जना गोठालाको गाई हरायो । सबै गोठाला मिली चारैतर्फ गाईको खोजी गरियो तर गाई भेटिएन् । गोठालाहरुले जति खोज्दा पनि गाई नभेट्टाए पछि निराश भए । एक रात एक गोठालालाई सपनामा जोगीकाे भेषमा कोही आई गाई अन्यत्र गएको छैन यतै कतै खोजी गर भनी अलप भएछन् । बिउँझेपछि बिहानै सबै गोठालाहरु जम्मा भई जोगीको सल्लाह अनुसार गाई खोजी गर्न जुटेछन् । यत्तिकैमा एउटा गोठालाले पहरोतर्फ हेर्दा गाईको आकार देखेछन् । अरु गोठालाहरुले त्यहाँ हेर्दा देखिएको आकार गाईकै जस्तो भएको कुरा स्वीकारे गरेछन् । तर त्यस्तो पहरोमा गाई जान सक्ने कुरा कसैले कल्पना गर्ने सक्दैनथ्यो ।
त्यसैले त्यस्ता कुरामा उनीहरुलाई विश्वास नभए पनि उनीहरुमध्ये एक जनाले त्यहाँ गएर रहस्य पत्ता लगाउने उत्सुकता जाग्यो । उसले साथीहरुलाई आफू त्यहाँ गएर के हाे पत्ता लगाउने कुरा गर्यो । घाँस र लहराहरु समाउँदै त्यहाँ पुग्दा गाई थिइनन् । गोबरको थुप्रो र त्यहाँको शिलामा प्रशस्त दूध पोखिएको मात्र देख्यो । यस्तो दृश्य देखेपछि अचम्म मान्दै उ फर्केर आयो । अचम्म । हराएको गाई त आफै गोठमा आई बाच्छीलाई दूध चुसाइरहेकी र गाई बाँधिएको अवस्थामा देखे । त्यस समयदेखि त्यस शिलालाई दुग्धेश्वर महादेव मानी पूजा गर्ने प्रचलन सुरू भयो । दुग्धेश्वर महादेव अप्रभ्रंश भई दुप्चेश्वर महादेवको नामले चिनिन थालेकाे हाे ।
यस सम्बन्धमा केही फरक-फरक किंवदन्ती पनि रहेका छ । गाई गोठालाहरु फाँटमा गाईलाई चराउन छोडी त्यहाँको प्रसिद्ध तादी (सूयमती) नदीको किनारमा पौडी खेल्ने गर्दथे र बेला-बेलामा फाँटमा चरिरहेका गाईहरूको देखभाल गर्दथे । सोही क्रममा मध्याह्न समयमा सँधै कैली गाईको बाच्छी आई उनीहरु तर्फ दृष्टि दिद ग्वाँ ग्वाँ गर्दथिन् । गोठालाहरु त्यसलाई बेवास्ता गर्दै आ-आफ्ना खेलमा मस्त हुन्थे । सो क्रम केही दिन चलेपछि त्यस बाच्छीको गोठालाले त्यसको रहस्य पत्ता लगाउने विचार गरी बाच्छीलाई मायाले सुमसुम्याउँदै हुलतर्फ जाँदा त्यस बाच्छीको माउ त्यहाँ देखिएन् ।
गोठालाले सबै गाई बाच्छी गणना गर्थ्यो तर कैली गाई त्यहाँ देख्दैनथ्यो । त्यसपछि साथीहरुलाई यो कुरा सुनाउन जान्थ्यो । साथीहरु उसको कुरा सुनेर खेल्न छाडी फर्की आई हेर्दा गाई त्यही हुलसँग आफ्नो बाच्छीलाई मायाले चाट्दै गरेको देख्दथे । २-४ दिन नै यो क्रम चलेपछि साथीभाइले उसलाई खिस्याउँदै गिल्ली गर्न थाले । साथीहरूको यस्तो व्यवहारले उसमा ग्लानी भाव उत्पन्न भयो । एक दिन उसले साथीभाइसँग खेल्न नगई गाईको चियोचर्चो गर्ने विचार गर्यो र सम्पूर्ण ध्यान त्यही कैली गाईमा केन्द्रित गन्यो । अचम्म के पायो भने कैली गाई हावाको वेगमा कुदेर भिरको पहरो हुँदै माथितिर लागिन् । ऊ पनि लहरो समाउँदै बिस्तारै गाईको पछि लाग्यो । बल्लतल्ल ऊ गाई भएनेर पुग्दा त गाईको थुनबाट तररर दुग्ध धारा एउटा शिलामा बगिरहेको देख्यो । उसले गाईलाई आफ्नो उपस्थिति देखाएन । तर केही समयपछि ती कैली गाई त्यसै गरी सहज रूपमा तल ओर्लिएर आफ्नो हुलमा मिसिइन् । गोठालोले यी सबै कुराको बेलीविस्तार आफना गोठाला साथीभाइ र गाउँका बुढापाकाहरुसँग गर्यो । बूढापाकाहरुले यसको सत्यताको परीक्षण गरी उक्त शिलालाई दुग्धेश्वर महादेवको रूपमा पूजा गर्न थाले । उही दुग्धेश्वर महादेव नै पछि अपभ्रंश भई दुप्चेश्वर महादेवको रूपमा रहेकाे छ ।
दुप्चेश्वर महादेवसँग सम्बन्धित विभिन्न आस्था र विश्वास परापूर्वकालदेखि नै चल्दै आएको छ । महादेवलाई रूद्राभिषेकसहित दैनिक पूजा गर्ने गरिन्छ भने विशेष समयमा हिन्दु र बौद्ध धर्मालम्वीहरूले विशेष पूजा अर्चना गर्दछन् । विशेषतः यी आस्था र विश्वास प्रमाणित गर्ने महत्वपूर्ण दिन मार्गशीर्ष शुक्लपक्षको चर्तुदशी र पूर्णिमा हुन् । उक्त समयमा ब्राह्मण, क्षेत्री, शेर्पा, तामाङ्ग, राई, गुरूङ, मगरलगायत दलित जातजातिले विशेष जात्रा गर्ने हुँदा सबै जाति जनजातिहरुको सम्मिश्रण र एकता भाव जात्रामा देख्न सकिन्छ । धेरै मानिसहरु चिताएको कुरा पूरा गरिदिने देवताको स्पमा दुप्चेश्वर महादेवस्थान पुजा गर्न जाने गर्छन् भनिन्छ । जागिरमा पदोन्नति हुन, शिक्षामा सफलता प्राप्त गर्न, प्रेमलाई विवाहमा परिणत गर्न, विदेश यात्राको चाहना पूरा गर्न र हर कुरामा सम्पन्नता प्राप्त गर्न लगायतका भाकल गर्ने जनसमुदाय हजारौं भेटिन्छन् । सन्तानको चाहना पूरा नभएकाहरूलाई महादेवले सन्तान दिलाइदिने कुरामा प्रायः सवैले विश्वास गर्ने गरेकाे बुढापाकाहरु बताउँछन् । त्यसैले दुप्चेश्वरलाई सन्तानेश्वर महादेवको रूपमा समेत लिने गरेको पाइन्छ ।
महादेव ग्रहहरुका पनि मालिक भएकाले ग्रहदशा बिग्रिएकाहरु आफ्नो ग्रहदशा सपारी अनुकूल बनाउन यहाँ पूजाआजा, रूद्रि, होम गर्न आएका पनि प्रशस्त भेटिन्छन् । त्यसैले यी महादेव सामाजिक व्यवहार सुधारक, दुःख दर्द विनासक र ग्रहदशा निवारकको भूमिकामा पनि उत्तिकै अगाडि उभिएका छन् भन्दा कुनै अत्युक्ति हुने छैन । पछिल्लो समय दुप्चेश्वर महादेवलाई धार्मिक आस्थाको आधारमा मान, सम्मान गर्नेहरूको जमात बढ्दै गएको छ ।
दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको तत्कालिन राउतवेंशी गाविसको दुप्चेश्वर महादेवलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गरेकाे दुप्चेश्वर संरक्षण समितिका पदाधिकारी बताउँछन् । हरेका शनिबार दुप्चेश्वरकाे दर्शन गर्न अन्य जिल्लाका मानिसकाे घिड लाग्ने गरेकाे छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक हुने गरेकाे समितिले जनाएकाे छ । ।
दुप्चेश्वर गाँउपालिका पर्यटकीय स्थलको रुपमा प्रख्यात रहेको छ । गोसाइकुन्ड जाने पदमार्ग यहि गाउँपालिकामा पर्दछ । मन्दिरमा गल्छी त्रिशुली सडकखण्ड अन्तर्गत पर्ने गङ्गटेबाट ढिकुरे, खरानीटार, सातविसे, रामती हुँदै पुग्न सकिन्छ । यसबाहेक काठमाडौंबाट टोखा छहरे, चौघडा, खरानीटार सातविसे, रामती हुँदै पुग्न सकिन्छ । रामतीबाट मन्दिरमा जानको लागि झोलुङ्गे पुल निर्माण गरिएको छ । काठमाडौंदेखि शिखरबेसीसम्म बस सुमाेलगायतकाे सवारी साधन सञ्चालन हुने गरेकाे छ ।

दुप्चेश्वर महादेवको उत्पत्तिसँग सम्बन्धित थप किंवदन्ती
“केही व्यक्तिहरू यी महादेवलाई गोपालेश्वर महादेव पनि भन्न रूचाउँछन् । यस्तो मत राख्नेहरू द्वापर युगका श्रीकृषा भगवान्सँग यसको प्रसङ्ग जोडेर सुनिआएको किंवदन्ती सुनाउँछन् । यस्तो किंवदन्ती सुनाउनेहरु द्वापर युगमा श्रीकृष्ण भगवान् नुवाकोटका रमणीय हिमाली क्षेत्रमा भ्रमणका लागि आउनु भयो । भ्रमणका क्रममा श्रीकृष्णजी अहिले यिनै दुप्चेश्वर महादेवको शिला भएको रमणीय पहरामा पुग्नु भयो । यस पहराले भगवान्को मन निकै आकर्षित गयो । यस्तो रमणीय स्थानमा शिवलिङ्ग स्थापना गर्न पाए कति राम्रो हुन्थ्यो भन्ने भावना भगवान् श्रीकृष्णमा जागृत भयो । अनि, त्यस क्षेत्रको भ्रमणबाट फर्कनुअघि श्रीकृष्ण भगवान्ले त्यहाँ शिवलिङ्ग स्थापना गर्नु भयो । श्रीकृष्ण भगवान्ले स्थापना गरेको यही शिवलिङ्ग नै अहिले सबैले विश्वासका साथ पुजिआएका दुप्चेश्वर महादेव हुन् । द्वापरयुगी गोपालवंशीय श्रीकृष्ण भगवान्ले स्थापना गरेको हुनाले यिनलाई गोपालेश्वर महादेव पनि भनिएको हो । साभार : नुवाकोटका पशुपति दुप्चेश्वर महादेव, २०७३, वासुदेव गुरागाई, पृष्ठ ३७)
…र अहिले दुप्चेश्वर वरपर हाेटल लजहरु खुलेका छन् । काठमाडौंबाट एक दिनमै पुगेर फर्किन सकिने भएकाे छ । बागमतीका काठमाडौं उपत्यका बाहेकका जिल्लाबाट जादाँ एक रात बिश्राम लिदाँ उत्तम हुन्छ । सडक सञ्जालले जाेडिएकाे छ । मन्दिरकाे फेदीबाट मात्रै हिड्नु पर्छ । पुजा सामग्रीका पसल पाइन्छ । खाना खाजाका लागि पसल छन् । सोमबार र शनिबार जात्रै जस्तो लाग्छ । सधैं रमाइलो वातावरण हुन्छ ।
तर सधैं उस्तै लाग्छ सरर चिसो हावा चल्ने राउचुलीको काख, शिखरबेसीको समीप, कुतुङ खोलाको दोभान, सूर्मयती (तादी) खोलाको तीर, रामावती (रामती) को छिमेकी पहाडको शिर, करेजुङको पाउ, रमाइलो ठाउँ गोगनचौर फाँट | गोगनचौरलाई काखमा च्यापेर गजधम्म बसेको रसिलो पहाड । त्यसैको नाभीमा विराजमान दुप्चेश्वर महादेवको शिवलिङ्ग । त्यो पनि भिरको अनकन्टार बिच अक्करमा । भिरमा शिवजीको बासस्थान, त्यसको प्राङ्गणमा अवस्थित गोगनचौर फाँट र तादी खोलाको कलिलो कलकल स्वरमा बग्ने कञ्चन जलप्रवाह, घरभन्दा ठुला ढुङ्गा यस्तो प्राकृतिक अद्भूत छटा । दृश्यावलोकनको लागि नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि करिब ३५/३६ कि. मि. उत्तरपूर्वी (इशान) कोणमा रहेको तथा काठमाडौंबाट उत्तर रहेकाे धार्मिक स्थल जो कोहीका लागि पर्खिरहेको छ ।


