मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार चैत २० गते राती १२ बजेबाट संसद्को अधिवेशन अन्त्य गर्नेगरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाकाे चालु हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको हाे । प्रदेशसभाको बैठक चल्न सक्ने अवस्था नरहेकाले अधिवेशन अन्त्यको निर्णयमा सरकार पुगेको उनले जानकारी दिए ।
संसद् बैठक सञ्चालनका लागि मंगलबार बसेको सर्वदलीय बैठकले निष्कर्ष दिन नसकेपछि संसद प्रभावित भएको थियो । प्रदेश सभाकाे हिउँदे अधिवेशन गत १८ माघमा आव्हान गरिएकाे थियाे । २६ माघमा बसेर अनिश्चित कालकाे लागि स्थगित भएकाे बैठक २ महिना पछि मंगलबारकाे लागि आव्हान गरिएकाे भए पनि दलहरु बीच सहमति जुट्न नसक्दा संचालन हुन सकेन । आज बुधबार दिउँसो १ बजेकाे लागि बैठक बाेलाइएकाे भए पनि आजकाे बैठक समेत प्रभावित हुन सक्ने एक नेताले बताए ।

