काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले बागमती प्रदेश कार्यसमिति र बागमती प्रदेशका ६६ प्रदेशसभा क्षेत्रीय सभापतिहरुलाई प्रशिक्षण दिएको छ । पार्टीले संगठन सुदृढीकरण र समसामयिक राजनीतिक घटनाक्रमका सम्बन्धमा प्रशिक्षण दिएकाे हाे ।
काग्रेस केन्द्रीय सभापति शेर बहादुर देउवाले प्रशिक्षणले संगठन सुदृढिकरण र विस्तारमा सहज हुने बताए । अहिलेकाे विकसित राजनीतिक घटनाक्रम र कांग्रेसको भावी रणनीतिबारे स्थानीय नेता कार्यकर्ताहरुलाई पार्टीकाे धारणा बुझाउन क्षेत्रीय सभापतिहरुलाई उनले निर्देशन दिए ।
कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले प्रशिक्षणले गाउँगाउँमा रहेका आम कार्यकर्ता तथा जनतालाई कांग्रेसको धारणा बारे जानकारी दिन सहज हुने बताए । कांग्रेसले पार्टीको विधान, नेपालको संविधान संशोधन गर्दा ब्यवहारिक र बैज्ञानिकतालाई जोड दिनुपर्ने उनले बताए ।
कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेश कार्यसमिति र प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको काम, कर्तव्य र अधिकार, केन्द्रीय प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक रुपान्तरणमा कांग्रेसको भूमिका, कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कांग्रेसको सांगठानिक अवस्था र संगठन विस्तारको रणनीति, कार्यकारी निर्देशक डा. बुद्धीमान श्रेष्ठले कांग्रेसको आदर्श, सिद्धान्त र समसामयिक मुद्दाका साथै कांग्रेस बागमती प्रदेश कोषाध्यक्ष डा. भद्रा पराजुली भण्डारीले संघीय समावेशी गणतन्त्रमा महिलाको भूमिका सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख चन्द्र महर्जनको सभाध्यक्षतामा कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका प्रशिक्षण कार्यक्रम कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागको आयोजना तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमिति २ क ललितपुरको व्यवस्थापनमा भएको थियो ।

