गत फागुन १४ बाट नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आए । ती मध्येकाे एउटा चलचित्र हाे मायावी । मायावी भन्ने वित्तिकै मायाकाे कुरा जोडिएर आउँछ । पुरै चलचित्रकाे कथा पोखराकाे सेरोफेरोमा घुमेकाे छ । पोखराकाे पनि लेकसाइड केन्द्रमा छ चलचित्र, जहाँ मुख्य पात्र जोय (पल शाह) सामन्य परिवारकाे तथा आफ्नो रेस्टुरेन्टमा काम गर्छन्।
परिवारका सदस्यले विवाहको कुरा गर्दा उनी सुन्दर केटीको खोजी रहेकाे बताउँछन् । उनी साइकल चढेर ढुल्छन । मन्दिरमा भजन गाउँछ । सानो पसलमा चिया बेच्ने अनि बाटोघाटोमा युवतीहरुलाई जिस्काउदैं हिड्ने पात्र जोय । सुन्दर केटीकाे कल्पना गर्दै जादाँ संयोगवश डाक्टर आर्या (दीपिका प्रसाईं) को गाडीमा साइकल ठोक्किन्छ । त्यहीबाट सुरु हुन्छ चलचित्रको कथा ।
फितलो जिस्काइ सँगै कथा (एक तर्फी प्रेम) को सुरुवात हुन्छ । तर आर्यालाई प्रभावित पार्न कम्मर कसेर लागेकै बेलामा उनी पहिल्यै आदित्य भट्टराईसँग विवाहको तयारीमा रहेको खुल्छ करिब चलचित्रको मध्य तिर । अर्कोतर्फ, जोयका साथीहरू सुशील (जो अपाङ्गता भएका व्यक्ति हुन्) र करिश्माबीच प्रेम सम्बन्ध हुन्छ । तर फिल्मको मुख्य सस्पेन्स आर्याले जोयलाई रोज्छिन् कि आदित्यलाई? अनि सुशील र करिश्माको प्रेम सफल हुन्छ कि असफल? यसैमा टिकेको छ। निर्देशकले यसलाई फिल्ममा सस्पेन्सको रूपमा प्रयोग गर्न खोजेका छन् ।
फिल्मले प्रेम केवल भौतिक सुख सुविधालाई मात्रै हेरेर मात्र हुन्न भन्ने सन्देश दिन खोजेको छ । प्रेममा त्याग हुनुपर्छ भन्ने प्रेरणादायी सन्देश प्रवाह गर्न खोजेको भए पनि चलचित्रलाई भूमरी(ट्विस्ट) बनाउने चक्करमा कथा रुमलिएको छ र कमजोर बनेकाे छ । फिल्मको सिनेमाटोग्राफी राम्रो देखिन्छ । पुरै चलचित्रमा पोखराको फेवाताल वरपरको प्राकृतिक दृष्यले चलचित्रलाई आकर्षक बनाएको छ ।
लक्ष्मी गिरी, राजाराम पौडेल, र अंशु थापाको कमेडीले दर्शकलाई बिचबिचमा हल्का राहत दिएको छ । कही कही सस्ता संवाद दिए पनि उनिहरुको कमेडी प्रभावकारी नै छ। करिश्मा श्रेष्ठको अभिनयमा केही निख्खारता देखिंदा दीपिका प्रसाईँको अभिनयले दर्शकको मन लान्न सकेको देखिदैन । पल शाह चरित्रमा फिट हुन सकेका छैनन् ।
फिल्मको कथा त्रिकोणात्मक प्रेम सम्बन्धलाई आधार बनाएर लेखिएको छ । तर कथामा नयाँ पन केही छैन । कथा र कथ्य शैलीमा नयाँपन दिन नसकिएको प्रष्ट हुन्छ । हिरोको दुर्घटना हुँदा हिरोइन आईपुग्नु, हिरोइन पछ्याउदै हिरो अस्पताल धाउनुजस्ता सिनले चलचित्रमा पुरानो पाराको स्वाद भेटिन्छ । चलचित्र चलाउन सस्तो संवादको सहारा लिएको भन्ने लाग्छ । चलचित्रमा थुप्रै भावुक दृश्य छन् तर ती दृश्यले दर्शकको मन छुन सक्दैन/छुन सकेन ।

निर्देशक दिवाकर भट्टराईले निर्देशनले ९० को दशककै कथ्यशैली देखाइरहेको छ । सुरुवातमा २ पात्रलाई मात्रै फिचराइज्ड गरेर मध्यान्तरमा अर्को पात्र प्रवेशलाई नै सस्पेन्स बनाउन खोजेको कथाले अन्तिमको नतिजासम्म सस्पेन्स टिकाउन सक्दैन र नतिजा सहजै अनुमान गर्न सकिने बनाएको छ । फिल्म निर्माणमै हुने कमजोरी समेत ‘मायावी’ मा छ ।
प्रेम मनबाट हुने हो । प्रेमकथाको पक्ष भावना हो । तर ‘मायावी’का प्रेमिल संवाद अनि दृश्यहरू प्रभावकारी लाग्दैनन् । पात्रबीचको भावनात्मक सम्बन्धलाई दर्शकको मनसम्म पुग्ने गरी लैजानै सकेका छैनन् । कथासँगै दर्शकको मनले यात्रा गर्न सकेको छैन मायावीमा । अक्सर चलचित्र भन्दा बढी गीतलाई स्थान दिइएको छ ‘मायावी’मा । ८ वटा गीतले स्थान पाएको फिल्ममा ती गीतले कथालाई अझै कमजोर बनाएको छ।
फिल्मको पहिलो भागको कथा सुस्तरी अगाडि बढ्छ। जहाँ निर्देशकले दर्शकको धैर्यताको परीक्षा नै लिए समान अनुभव हुन्छ । कथासँगै कमजोर देखिएको छ पटकथा । भनाईमा हिरोइनको बुबाको पात्रलाई कडा मिजासको देखाउन खोजिए पनि उनलाई कुनै पनि दृश्यमा त्यसरी प्रस्तुत गरिएको छैन ।
त्यसो त अष्ट्रेलियामा पढ्न जादा भटेको र माया बसेको भनेर कथान्तरको मध्य तिर मुख्य पात्रलाई सप्राइज दिन हिरोइनले उभ्याएको पात्र कतैबाट टिपेर ल्याएको जस्तो लाग्छ । घर इन्डिया मात्रै भनिएको पात्र इन्गेजमेन्ट पछि टाढा हुँदा हिरोइनले महसुस गरेको फ्रड पात्र पल प्रतिको माया नै कथाको मुख्य सार हाे । पहिले ननसेन लाग्ने पात्र पछि हिरोइनले टाढा राख्छु भन्दा नसकेकाे देखाएकाे टाढा रहनेहरुसँग खासै मन नबस्ने यथार्थ फिल्मले भन्न खोजेकाे देखिन्छ ।
अभिनेता पल शाहका फ्यानहरुका लागि खुशीको खबर बनेर आएको चलचित्र ‘मायावी’ उनको करियरको एउटा कमजोर चलचित्रको रुपमा नेपाली रजतपटमा नाम लेखाएको छ । धेरै ठाँउमा चलचित्र हेर्दा अल्छी लाग्छ । दर्शकले गफ गर्ने, अन्त मन लगाउन सक्छन् ।
यस अगाडि ‘मेरो जीवन साथी’ ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’जस्ता फिल्म निर्देशन गरिसकेका दिवाकरले निर्देशन गरेको मायावी कमजोर चलचित्र हो भन्न सकिन्छ । कसैलाई नाम देख्दा आहा भन्ने लागेर मायावी हेर्न जानु भयो र हेरिरहँदा मजा लागेन भने त्यसको टिमलाई नरम तरिकाले गाली गर्ने छुट पक्कै हुनेछ । चलचित्रको अन्त्य दर्शकले कल्पना गर्न खोजेका तर यसो होला की भन्दै अलिअलि उत्सुकता छ । तर व्यावहारिक जीवनमा यस्ता घटना सायदै हुन्छ । ४/५ वर्षकाे नानी बाबुले पहिलाे भेटमै एक अर्का प्रति देखाएकाे आत्मियता राम्राे देखिदैन् ।
अन्तमा कमजोर कथाबस्तु, औसत पटकथा संवाद, सामान्य अभिनय लगायतका कारण चलचित्र मायावी औसत चलचित्रभन्दा माथि उठेको छैन । निर्देशक दिवाकर भट्टाईको पर्दामा कथा भन्ने शैली पुरानै चलचित्रको प्रभाव देखाउँदा नेपाली सिनेजगतमा ‘मायावी’ परम्परागत चलचित्रकै रुपमा आएको छ । दर्शककाे मन जित्न ठूलो बजेट, महँगा नाम चलेका कलाकार राखेर चलचित्र निर्माण गर्ने होइन उत्कृष्ट कथाबस्तु, कलात्मक दृष्टिकोण र अभिनयमा पोख्त कलाकार भए हुन्छ । जादाजादै चलचित्रकाे समूहलाई शुभकामना ।

