मकवानपुर । मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका प्रथम भएकाे छ । आइतबारबाट सुरु १५ औं संस्करणको प्रतियोगितामा ५ स्वर्ण, १० रजत र ९ कांस्य पदकसहित हेटौंडा प्रथम भएकाे हाे ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको रनिङ्ग शिल्ड प्रतियाेगितामा १३ स्वर्ण, ५ रजत र १० कांस्य पदक प्राप्त गर्दै बकैया गाउँपालिकाले द्वितीय स्थान हात पारेकाे छ । यसैगरी थाहा नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ६ कांस्य पदक प्राप्त गर्दै तृतीय भएकाे छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा मकवानपुरको ९ वटा पालिकाबाट विभिन्न विधाका करिब ६ सय खेलाडीहरुको सहभागिता रहेको थियो । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथ्लेटिक्स, कराँते, तेक्वान्दो कबड्डी लगायतका खेलहरु सञ्चालन भएको थियो । इन्द्रसरोवर गाउँपालिका प्रतियोगितामा सहभागी जनाएन ।
गत वर्ष सम्पन्न भएको १४ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि २० स्वर्ण, ७ रजत र १९ कास्य पदक प्राप्त गर्दै हेटौंडा प्रथम भएको थियो । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तानको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा मंगलबार पुरस्कार वितरण कार्यक्रम भएको हो ।

