मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीमा राष्ट्रिय विभूति शङ्खधर शाख्व पार्ककाे शिलान्यास गरिएकाे छ । बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले शिलान्यास गरेकाे उक्त पार्कमा शाख्वकाे प्रतिमा स्थापना तथा पूर्वाधार निर्माण समेत हुनेछ ।
पार्क शिलान्यास गर्दै श्रेष्ठले शङ्खधर शाख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न आवश्यक रहेको बताए। ‘पार्कलाई नेपालकै ठूलो तथा नमूना पार्कका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ’ उनले भने । यसका लागि पर्खाल, गेट, शङ्खधर शाख्वाको प्रतिमा, पोखरी, ढुङ्गेधारा लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने उनले बताए ।
करिब चार बिगाहा क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रलाई पदमपोखरीकै सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनकाे भनाई थियाे । ‘पदमपोखरी आसपासका विभिन्न समुदायको संस्कृति जोडेर पार्कलाई विकास गर्न सकिन्छ’ उनले भने ‘सरकारले मात्र नभई स्थानीयस्तरबाट पनि सचेतना आवश्यक छ ।’ जनस्तरबाट चासो र योगदान दिए मात्रै पदमपोखरीको वास्तविक विकास सम्भव रहेकाे उनले बताए ।
स्थानीय राजेश नगरकोटीले पार्कलाई नेपालकै नमूना बनाउने प्रतिबद्धता जनाउँदै मास्टर प्लान तयार पार्न अझै केही काम बाँकी रहेको जानकारी दिए । ‘यो सुरुवात हो, थप योजना बनाएर शङ्खधर शाख्वा पार्कलाई नेपालकै उत्कृष्ट बनाउने छौँ’ उनले भने ।
नेवा गुठी खलः पदमपोखरीका अध्यक्ष कृष्ण नगरकोटीले पदमपोखरी क्षेत्रलाई ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न सकिने बताए । ‘पदमपोखरीका विभिन्न स्थानमा थातथलो पूजा गर्दै यसको सांस्कृतिक महत्व उजागर गरिनुपर्छ’ उनले भने ।
नेवा गुठी खल मकवानपुरका अध्यक्ष अनिल खड्गेले स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले शङ्खधर शाख्वा पार्कको विकासका लागि निरन्तर प्रयास गर्नुपर्ने बताए । सरकारले आवश्यक बजेट तथा नीति ल्याएमा पार्क छिट्टै निर्माण सम्पन्न हुने उनले बताए । समाजसेवी सिताराम प्रधानले पदमपोखरीको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
बागमती प्रदेशको सस्कृती तथा पर्यटन मन्त्रालयको ७५ लाख बजेट एवम् स्थानीय श्रमदान गरी ८३ लाख ३६ हजारमा सो योजना निर्माण गर्न लागिएको हो । नेपाल सरकारले ३ मंसिर २०५६ मा नेपाल संवतका प्रवर्तक शाख्वालाई राष्ट्रिय बिभुती घोषणा गरेको हो । उनले वि. सं. ९३६ मा कान्तिपुर र भादगाउँ का जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्बतको थालनी गरेका थिए।
नेवा गुठी खलः पदमपोखरीका अध्यक्ष कृष्ण नगरकोटीको सभाध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठकाे प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम भएकाे हाे ।

