मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राज्यले गर्नुपर्ने धेरै काम यातायात व्यावसायी आफैँले गरिरहेको बताएका छन् । नारायणी यातायात व्यावसायी सङ्घको ३६औँ वार्षिक साधारणसभा तथा १६ औँ अधिवेशन उद्घाटन समारोहलाई शनिबार हेटौँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यातायातमा भएका समस्या समाधान गर्न प्रदेश सकार तयार छ रहेकाे बताउँदै उनले भने यसकाे लागि नियम कानुन संशोधन गरिनु पर्छ । रोड परमिट, सवारी जाँचपास र नवीकरणलाई प्रविधिमैत्री बनाउन छलफल अगाडि बढाउन प्रदेश सरकार तयार रहेको उनले बताए । ‘विदेशमा भएको प्रणाली (सिस्टम) प्रदेशमा पनि कार्यान्वयनमा ल्याउनुपर्छ’ उनले भने ‘दुर्घटना तथा बिमासम्बन्धी ऐनमा आवश्यक संशोधन गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्नेछ ।’
साधारणसभामा बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले बागमती प्रदेशको ३० प्रतिशत राजश्वमा यातायात क्षेत्रले योगदान गरिरहेको बताए । २२ लाख सवारी चालक अनुमति पत्र नागरिक एपमा राखिएको जानकारी दिदैं उनले भने ‘अनलाइनबाटै राजस्व तिर्ने, नवीकरण गर्ने र नामसारी गर्ने व्यवस्था मिलाउने तयारीमा प्रदेश सरकार लागिपरेकाे छ ।’
कार्यक्रममा संघ अध्यक्ष हीरालाल श्रेष्ठले सेवामूलक संस्था भएर पनि संघले नेपाल सरकारलाई कर तिर्दै आइरहेको बताए । हेटौँडामा मुख्य कार्यालय रहेको नारायणी यातायात व्यावसायी संघले चितवनको रामनगरमा रहेको जग्गा बिक्री गरी कर तिर्ने तयारी गरिरहेको छ । ‘नेपाल सरकारलाई कर तिर्नु पर्दा आर्थिक अभाव भएका कारण भरतपुरको रामनगरमा रहेको जग्गा बिक्री गरेर कर चुक्ता गर्ने विषयमा छलफल भइरहेको छ’ उनले भने ।
करिब २ करोड रुपियाँ कर तिर्नुपर्ने भएपछि संघ भौतिक सम्पत्ति बिक्री गरेर मात्रै कर चुक्ता गर्न सकिने अवस्था रहेको उनले जानकारी दिए । २०७५ फागुन १९ गतेको राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन अनुसार नारायणी यातायात व्यावसायी संघको रूपान्तरित कम्पनीको रूपमा स्थापना भएको पुरानो नारायणी यातायात कम्पनी प्रालि दर्ता गरेर संघका नेतृत्वले व्यावसयीका दुर्घटना, बिमा दायित्वलगायत विषयमा काम गर्न थालेको उनले जानकारी दिए । ढुवानी तथा तौलपुल बन्द गर्न सरकारी संयन्त्र नै अग्रसर भएको उनले बताए ।
संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ, प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह रानाभाट लगायतले यातायात सम्बन्धी समस्या समाधान गर्न आवश्यक सहयोग र सहकार्य गर्न आआफ्नो क्षेत्रबाट तयार रहेको बताएका छन् ।
हेटौंडामा मुख्यालय रहेको मानवसेवा आश्रमलाई हरेक साधारणसभामा सहयोग गर्दै आएको संघले यो वर्ष ५१ हजार नगर रुपियाँ सहयोग गरेको छ । त्यसैगरी लामो समयदेखि यातायात दुर्घटना नगराउने ५ जना चालकलाई जनही १० हजार रुपियाँ नगरसहित सम्मान गरिएको छ । सम्मान हुने चालकहरुमा हेटौंडाका अर्जुन भुर्तेल, ध्रुवलाल श्रेष्ठ, काठमाडौंका सुरेश श्रेष्ठ, चितवनका भोला थापा र रौतहटका रामपुकार राय छन् ।
साधारणसभाकाे अवसरमा नेपाल मेडिसिटी अस्पताल काठमाडौंका विशेषज्ञ डाक्टरसहितकाे टोलीले व्यावसायी तथा स्थानीयकाे स्वास्थ्य परीक्षण समेत गरेको थियो । कार्यक्रमलाई संघका महासचिव सरोज खनालले सहजिकरण गरेका थिए ।

