मकवानपुर । मकवानपुरकाे हेटौंडामा राष्ट्रिय हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगीता हुने भएकाे छ । २२ फागुनबाट दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप ८ ए साइट रनिङ शिल्ड प्रतियाेगिता हुने भएकाे हाे ।
आयोजक संस्था हेटौंडा भेट्रान्स क्लबले आइतबार पत्रकार भेटघाट गरी प्रतियोगिताकाे जानकारी गराएकाे हाे । २६ फागुनसम्म हेटौंडाकाे हुप्रचौरमा आयोजना हुने प्रतियोगिताकाे उपाधी विजेता टोलीले १ लाख ५० हजार ५ सय ५५ रुपैंया नगद प्राप्त गर्ने छन् । यसैगरी प्रतियाेगिताकाे उपविजेता टोलीले ७५ हजार ५ सय ४४ रुपैंया हात पार्ने संयोजक मणिराज गौतमले जानकारी दिए ।
प्रतियोगितामा विभिन्न विधागत पुरस्कारकाे समेत व्यवस्था गरिएकाे गौतमले बताए । उनका अनुसार प्रतियोगिताका सर्वश्रेष्ठ कोच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर विधामा पुरस्कार प्रदान गरिने छ । उक्त विधागत उत्कृष्ठ हुनेलाई जनही ५ हजार रुपैंया नगद प्रदान गरिने उनले जानकारी दिए । यस्तै प्रतियाेगिताकाे म्यान अफ द सिरिजले १० हजार रुपैंया प्राप्त गर्ने छन् ।
प्रतियोगितामा हेटौंडाकाे २ वटासहित १४ वटा भेट्रान्स क्लबले सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष रमेशकुमार उप्रेती जानकारी दिए । दशौं संस्करणकाे हेटौंडा भेट्रान्स कप प्रतियाेगितामा वीरगञ्ज युथ भेट्रान्स क्लब (पर्सा), सिमरा भेट्रान्स क्लब (बारा), चितवन भेट्रान्स क्लब (चितवन), वगरभाई खलक भेट्रान्स क्लब (पोखरा कास्की), एबीसी भेट्रान्स क्लब (पोखरा), बुटवल भेट्रान्स क्लब (रुपन्देही), थापागाउँ भेट्रान्स क्लब (काठमाडौं), किंङकम भेट्रान्स क्लब (काठमाडौं), बौद्ध भेट्रान्स क्लब (काठमाडौं), फ्रिडम फाइटर भेट्रान्स क्लब (काठमाडौं), हेटौडा भेट्रान्स क्लब (आयोजक),नागस्वती भेट्रान्स क्लब (हेटौंडा), बानेश्वर फ्रेण्डसीप भेट्रान्स क्लब (काठमाडौं) र एन जे. जे.भी.सी. (सिमरा बारा) काे सहभागिता रहने उनले बताए ।
नवौं संस्करणकाे उपाधी काठमाडौंकाे बानेश्वर फ्रेण्डसीप भेट्रान्स क्लबले हात पारेकाे थियाे । भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करणकाे उपाधी चितवन भेट्रान्स क्लब चितवनले हात पारेकाे थियाे । सानो गौचरणनाईट किंग क्लव काठमाडौंले तेस्रो संस्करण, बगरभाई खलक भेट्रान्स क्लब पोखराले चौथो र छैटौं संस्करण, एवीसी भेट्रान्स क्लब पोखराले पाँचौ साताैं र आठौं संस्करणकाे उपाधी जितेकाे थियाे ।
प्रतियोगिताकाे लागि १२ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेकाे छ । प्रतियोगितामा मुख्य सहयोगीका रुपमा हेटौंडा उपमहानगरपालिका रहने छ भने हेटौंडा स्कूल अफ म्यानेजमेन्टका साथै जिल्लाका अन्य पालिकाहरु संघ संस्था तथा समाजसेवी, फुटबल खेलप्रेमीहरुको साथ सहयोग रहेकाे गौतमले जानकारी दिए ।
२०७२ सालबाट रोटरी क्लव अफ मकवानपुरसँगको सहकार्यबाट सुरु गरिएको प्रतियोगिता २०७४ साल देखि हेटौंडा भेट्रान्स क्लब आयोजक भई हेटौंडा भेट्रान्स कप ८ ए साईड राष्ट्रिय फुटबल प्रतियोगीता संचालन हुँदै आएकाे संयोजक गौतमले जानकारी दिए । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ क्लबले गतवर्ष देखी ४५ वर्ष माथि उमेर समुहमा प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए । यस वर्षपनि ४५ वर्ष माथि उमेर समुहमा खेल खेलाईने बताइएकाे छ ।
पछिल्लो समय फुटबल खेल क्षेत्रमा भेट्रान्स खेलाडीहरुको सक्रियता उत्साहजनक भईरहेको, देशैभर ४० वर्ष माथि उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरु भेट्रान्स खेलमा आकर्षण बढ्दो रुपमा रहेकाे, ४० वर्ष माथि उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिताले देशैभर रौनकता थप्दै आएको अवस्थामा भेट्रान्स प्रतियोगिताले पूर्व खेलाडीहरुको सम्बन्ध विस्तार र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने उदेश्यले यो प्रतियाेगिता आयोजना गर्न लागिएकाे अध्यक्ष उप्रतीले जानकारी दिए ।

