मकवानपुर । माझी समुदायकाे पर्व लदी २० फागुनमा बकैयामा मनाइने भएकाे छ । आइतबार हेटौंडामा पत्रकार भेटघाट गर्दै नेपाल माझी उत्थान संघ केन्द्रिय समितिले पर्व मनाउने सम्बन्धमा जानकारी गराएकाे हाे ।
पत्रकार भेटघाटमा संघ केन्द्रिय समिति अध्यक्ष चिनिमाया माझीले नेपालमा बासोबास गर्ने माझी समुदायहरुको महान पर्व लदि (कोसी) पुजाको जानकारी गराउँदै उक्त पर्व २० फागुन मंगलबार मनाइने जानकारी दिइन् । बकैया गाउँपालिका वडा नम्बर ६ जुइनामा मनाइने पर्वकाे उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने बताइएकाे छ ।
सरकारले आदिवासी जनजातिको बर्गिकरणमा अतिसिमान्तकृत जातिमा वर्गीकरण गरेको माझी जातिको जनसंख्या १ लाख ११ हजार ३५२ रहेको छ । माझी जातिले भारोपेली भाषा परिवार अन्तर्गतकाे माझी भाषा बाेल्ने गर्छन् । सुनकोशी, तामाकोशी, दुधकोशी क्षेत्रहरुमा माझी भाषा बढी बाेलिने गरेकाे छ । २०७८ सालकाे राष्ट्रिय जनगणनामा उक्त भाषा बोल्नेको संख्या ३२ हजार ९१७ रहेको छ ।
बकैया गाउँपालिकाले दियो पर्वकाे अवसरमा सार्वजनिक विदा
माझी समुदायको प्रमुख पर्व कोशी पूजा (लदी पर्व) को अवसरमा २० फागुन मंगलबार बकैया गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले आइतबार सूचना जारी गर्दै लदी पर्वको अवसरमा विदा दिने जानकारी गराएको हो ।
बकैया गाउँपालिका कार्यालयकाे १३ फागुनकाे बैठकबाट लदी पर्वको अवसरमा विदा दिने निर्णय गरेको थियाे । मंगलबार गाउँ कार्यपालिकाको कार्यालय, गाउँ कार्यपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जारी गरेकाे सूचनामा उल्लेख छ ।

लदी पर्व सम्बन्धी जानकारीसहितकाे प्रेस विज्ञप्ती यहाँबाट पढ्न सक्नु हुनेछ

