मकवानपुर । डिजिटल संचार माध्यमकाे अवस्था, पत्रकारिताको गुणस्तरता र संकट सम्बन्धी हेटौंडामा अन्तरक्रिया भएकाे छ । स्वस्तिक मिडिया प्रालि हेटौंडाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हाे ।
डिजिटल युगमा पत्रकारिताको बदलिँदो स्वरूप, अनलाइन मिडियाको प्रभाव, आर्थिक संकट, नियमनको आवश्यकता, र पत्रकारिताको विश्वसनीयताबारे अन्तरक्रिया भएकाे हाे । “डिजिटल सञ्चारमाध्यम: स्थापना, सञ्चालन र निरन्तरतामा नीति, नियत र नियतीमा आवश्यक संशोधन सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया” कार्यक्रममा अनलाइन मिडिया हालको सबैभन्दा प्रभावशाली सञ्चारमाध्यम भए तापनि यसले भोग्नुपरेको आर्थिक संकट, सरकारी निकायहरूको असहयोग, पत्रकारिताको स्तर, विज्ञापन नीति, अनलाइन नियमन प्रणालीलाई प्रमुख रूपमा उठाइएको थियो।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले पत्रकारिता क्षेत्रमा सुधार ल्याउन श्रमजीवी ऐनको कार्यान्वयन आवश्यक रहेको बताए। उनले सार्वजनिक खरिद ऐनमा संशोधन गर्न जरुरी रहेको जानकारी दिँदै सञ्चार माध्यमहरूले मर्जर गर्नु पर्नेमा जोड दिए । पत्रकारहरूलाई रचनात्मक र तथ्यपरक समाचार प्रस्तुत गर्न उनले आग्रह गरे। सापकोटाले मकवानपुरमा आशा लाग्दो पत्रकारहरूको उपस्थिति रहेको उल्लेख गर्दै प्रदेशको राजधानीमा बसेर पत्रकारिता गर्दै गर्दा गर्वका साथ आफ्नो पेशालाई अगाडि बढाउन आह्वान गरे।
कार्यक्रममा गरिएको छलफललाई ध्यानमा राखेर आगामी दिनहरूमा अझ जिम्मेवार भइ काम गर्न आवश्यक रहेको उनले बताए । उनले पुरानो सरकारी नीतिले डिजिटल मिडियालाई असहयोग भएको स्वीकार गर्दै पुरानो खालका नीतिहरू अहिलेको सन्दर्भमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेकाे बताए । ‘सरकारले डिजिटल मिडियाको व्यापक प्रभाव र महत्त्वलाई बुझेर नयाँ नीति ल्याउनुपर्छ । विज्ञापन वितरणमा पारदर्शिता र समानुपातिक व्यवस्था हुनु पर्छ यसकाे लागि पहल गरिरहेका छौं’ उनले भने ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण शारु मगरले अनलाइन मिडियाको वृद्धिको अवस्थाबारे आफ्नो विचार व्यक्त गर्दै भने, जसरी साप्ताहिक पत्रिका विगतमा बढिरहेको थियो, अहिले अनलाइन मिडिया पनि त्यसरी नै तीव्र वृद्धि हुँदैछ। आज अनलाइन मिडियालाई बचाउनु हाम्रो आवश्यकता हो। ’ उनले अनलाइन मिडिया सञ्चालन गर्नेहरूसँग गुनासोहरू आइरहेको र केही सुधार गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले समानुपातिक विज्ञापन वितरणमा पहल गर्ने तर्फ महासंघले पहल कदमी गरिरहेको र मिडिया मैत्री बनाउनका लागि हामीले लडाइँ लड्नु पर्ने अवस्था आएको बताए । उनले सरकारी कर्मचारीहरूको सकारात्मक दृष्टिकोण नपाउने विषयमा चिन्ता व्यक्त गर्दै भने,‘जुनसुकै तहमा सरकारी कर्मचारीहरू सकारात्मक छैन्, र ‘यस वर्ष मिडिया बजेट कटौतीको विषयमा चिन्ता समेत व्यक्त गरे । अध्यक्ष मगरले पत्रकारहरूको हकहितको लागि सदासर्वदा साथ र समर्थन जारी राख्ने प्रतिबद्धता जनाए।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले डिजिटल सञ्चारमाध्यमको वर्तमान परिस्थितिमा चुनौति रहेको बताए । ‘सामाजिक सञ्जालमा नागरिक पत्रकारिता हावी भएकाले प्रमाणित सूचना प्रवाह गर्ने जिम्मेवारी अझै बढेको छ’ उनले भने । अनुसन्धानमूलक पत्रकारिता आवश्यक भन्दै उनले पत्रकारिताको गरिमा जोगाउन सबैले आफ्नो जिम्मेवारी बाेध गर्नु पर्ने बताए ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईले मिडियाको अस्तित्व बचाउन र पत्रकार महासंघको सम्मान सुनिश्चित गर्नका लागि एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘महासंघलाई समेत प्रदेश सरकारले हेप्ने गरेको छ, अब एक भएर जानुको विकल्प छैन।’ उनले अनलाइन मिडियामा देखिएका विभिन्न समस्याहरू आर्थिक कारणले उत्पन्न भएको उल्लेख गरे । उन भने,‘समस्याहरू छन्, तर समाधानका लागि डरेर लाग्नुपर्छ। हामीले हाम्रो आवाज सरकारसँग राख्दै समाधानको लागि संघर्ष गर्नु पर्छ।’ उनले श्रमजीवीहरूको हकमा सदैव लड्ने र पत्रकारहरूको हकहितको लागि लड्न तयार रहेको र समाधानको लागि आशावादी रहन समेत आग्रह गरे ।
तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीले लामो समयदेखि यस्ता विषयमा छलफल भइरहे पनि अवस्था यथावत रहेको बताए। ‘मिडिया टिकाउने आधारभूत संरचना र धरातल निर्माणको अभाव मुख्य समस्या हाे’ उनले भने सामग्री (कन्टेन्ट) उत्पादनमा उचित लगानीको कमी रहेको छ ।’ अधिकारीले विकशित देशमा कन्टेन्ट उत्पादनलाई प्राथमिकता दिइने बताउँदै नेपालमा पनि गुणस्तरीय सामग्री निर्माणमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए। सञ्चार रजिस्ट्रारको भूमिका स्पष्ट हुनु पर्ने बताउँदै उनले भने ‘मिडिया टिकाउन रजिस्ट्रारले कुनै ठोस पहल गरेकाे देखिदैन् ।’ उनले कानुनी प्रक्रिया झन्झटिलो रहेको भन्दै, मिडिया स्थायित्वका लागि नीति निर्माणमा सरोकारवालाको नियत स्पष्ट हुनुपर्ने धारणा राखे।
पत्रकार मनोज डोढारीले यस्ता कार्यक्रम निरन्तरता दिनुपर्ने आवश्यकता रहेकाे बताए । ‘पत्रकारितालाई मर्यादित बनाउन नीति र विधिमा आधारित हुनुपर्छ’ उनले भने सबै पत्रकारहरूले कानूनी प्रावधान, नीति, नियम, र ऐन बुझेर जिम्मेवारीपूर्वक काम गर्नुपर्छ ।’ उनले नियम र प्रक्रियामा आधारित पत्रकारिता मात्रै दीगो र मर्यादित हुने भन्दै, नीति निर्माण र कार्यान्वयन दुवै पक्षमा ध्यान दिनुपर्ने आवश्यकतामा रहेकाे बताए ।
प्रेस चौतारी नेपाल, मकवानपुरकी अध्यक्ष सरिता दाहालले वर्तमान पत्रकारिता अघिल्लो पुस्ताले गरेको पत्रकारिता भन्दा भिन्न हुँदै गएकाले अझ सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको बताईन् । ‘पत्रकारहरू चुक्न हुदैंन । अहिले सबै नागरिक सूचना प्रवाहमा अगाडि रहे पनि पत्रकारहरूले तथ्यपरक समाचार ल्याउनु अत्यावश्यक छ’ उनले भनिन् ‘अनलाइन पत्रकारिताको मुल उद्देश्य ब्रेकिङ न्युज मात्र नभई गहिरो अनुसन्धानसहितको फलोअप हुनुपर्छ ।’ ‘पत्रकारिता राजनीतिक प्रभावबाट हुनु पर्छ’ उनले भनिन् । मिडिया टिकाइराख्न एकता आवश्यक रहेकाे भन्दै अनलाइन मिडियाहरूलाई वर्गीकरण गरी स्थायित्व प्रदान गर्न संचार रजिष्ट्रार कार्यालयको भूमिका प्रभावकारी हुनुपर्ने उनले बताइन्।
प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष र नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुर्ब अधिकारीले पत्रकारिता क्षेत्रमा एकता अपरिहार्य रहेको बताउँदै अरूको नियतमा खोट लगाउने भन्दा आफ्नै नियत जाँच्न आवश्यक रहेको बताए । उनले पत्रकारहरुमा समाचारको विषयमा गम्भीर बहसको अभाव रहेकाे बताउँदै सामाजिक संजालमा आउने सूचनाभन्दा फरक र प्रमाणित समाचार ल्याउन आग्रह गरे।
उनले भने, आचारसंहिता कमजोर हुँदै गइरहेको र अब यसमा सचेत हुन आवश्यक छ। समानुपातिक विज्ञापन वितरण गर्ने प्रणालिका लागि पहल गर्न उनले आग्रह गरे। उनले पत्रकार महासंघ मकवानपुर एकजुट भएर समस्याहरूको समाधान गर्न सहकार्य गर्न तयारी रहेको पनि बताए। प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्माले अनलाइन मिडियाको विकास भए पनि अझै व्यवस्थित हुनुपर्ने बताए। उनले कर्मचारी सेटिङका आधारमा विज्ञापन वितरण हुने गरेको भन्दै विज्ञापन नीतिलाई न्यायोचित बनाउन माग गरे।
पत्रकार रमेश बन्जराले सञ्चार रजिस्ट्रार कार्यालयको भूमिका कमजोर रहेको टिप्पणी गरे । ‘केवल दर्ता प्रक्रिया पूरा गर्ने तर प्रभावकारी नियमन नगर्ने प्रवृत्तिले मिडियाको स्थायित्व संकटमा परेको छ’ उनले भने । पत्रकार जि न्यौपानेले मिडिया क्षेत्रमा विभेद भइरहेको आरोप लगाउँदै सबैलाई समान अवसर प्रदान गर्नुपर्ने धारणा राखेका छन् । उनले सम्मानित हुने विषयमा समेत माग गर्नुपर्ने अवस्थाले मिडिया क्षेत्रमा असमानता व्याप्त रहेको संकेत गर्छ भन्दै यस्ता विभेद अन्त्य गर्नुपर्ने बताए। पत्रकार मञ्जु मैनालीले सत्य खोज्दा धेरै कठिनाइ भोग्नुपरेको अनुभव सुनाउँदै अनुसन्धानमूलक पत्रकारितालाई प्रवर्धन गर्न अग्रज पत्रकारहरूको मार्गदर्शन र साथको आवश्यक रहेको बताइन् ।
कार्यक्रममा हाल अनलाइन पत्रकारितामा मौलाएको ‘कपी-पेस्ट’ प्रवृत्ति माथि कडा आलोचना भयो। धेरै अनलाइन मिडियाले आफ्नै अनुसन्धानभन्दा गुगल सर्चबाट समाचार कपी गरेर प्रकाशित गर्ने प्रवृत्ति हाबी भएको भन्दै यसले पत्रकारिताको विश्वसनीयता गुमाउँदै गएको धारणा व्यक्त गरियो।
पत्रकारीता अनुसन्धानभन्दा गुगल सर्चमा भर पर्ने प्रवृत्तिले अनलाइन मिडियाको अस्तित्वलाई नै संकटमा पार्दैछ भन्ने धारणा व्यङ्ग्यात्मक रुपमा उठेको थियो । छलफलका क्रममा, “कपी-पेस्ट गर्नै गुगलमा खोज पत्रकारिता भैरहेको छ” भन्दै व्यङ्ग्यात्मक टिप्पणीसमेत भयो ।
छलफलमा हाल केही अनलाइनहरू हप्तौँसम्म अपडेट नगर्ने, पुराना समाचारलाई नयाँ बनाएर हाल्ने, वा सामाजिक सञ्जालबाट सिधै समाचार कपि गर्ने गरेको समेत चर्चा गर्दै यस्ता मिडियाहरूलाई स्तरअनुसार वर्गीकरण गर्न सुझाव दिएका थिए ।
डिजिटल मिडिया एसोसिएसन गठनको प्रस्ताव
कार्यक्रममा डिजिटल मिडिया सञ्चालकहरू एकजुट भएर संगठन निर्माण गर्नुपर्ने आवश्यकता रहेको भन्दै “डिजिटल मिडिया एसोसिएसन” गठन गर्ने प्रस्ताव अघि सारिएकाे थियाे । सहभागीहरुले संगठन निर्माण भएमा अनलाइन मिडियाको अधिकार रक्षा, सरकारी विज्ञापन समानुपातिक रूपमा वितरण गराउने, अनलाइन पत्रकारिताको व्यावसायिकता अभिवृद्धि गर्ने, र अनलाइनलाई मुलधारको मिडिया बनाउने लक्ष्य राख्न सकिने बताएका थिए ।
कार्यक्रममा सरकारी विज्ञापन वितरण प्रणालीको असमानताबारे पनि छलफल भएकाे थियाे । सरकारी आधिकारिक सूचना तथा विज्ञापन ‘क’ वर्गको राष्ट्रिय पत्रिकाहरूमा मात्र अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने कानूनी व्यवस्थाले अनलाइन मिडियालाई बञ्चित गरिरहेको भन्दै समानुपातिक विज्ञापन वितरण नीति ल्याउनकाे लागि समेत पुरानाे कानून संसोधनकाे आवश्यक रहेकाेले पहल हुनु पर्ने सहभागीहरुले बताएका छन् ।
कार्यक्रम स्वस्तिक मिडिया प्रा.लि.का सञ्चालक रबिन्द्र गौतमकाे सभाध्यक्षतामा भएकाे हाे ।

