मकवानपुर । डिजिटल प्रविधिको प्रयोग बढेसँगै अनलाईन सुरक्षाको चुनौती दिनानुदिन बढीरहेको छ । यसको मुख्य कारण इन्टरनेटमा प्रयोगकर्ता स्वंयमले कमजोर पासवर्ड राख्नु रहेको पाइएको छ ।
नेपालमा इन्टरनेटमा जुन जुन साइडहरु प्रयोग गरेपनि कमजोर पासवर्ड राख्नाले असुरक्षा बढी हुने गरेको छ । इन्टरनेट सेवा प्रयोगकर्तामध्ये ३१ प्रतिशतले कमजोर पासवर्ड राख्ने गरेको पाइएको छ । यसैगरी २१ प्रतिशतले त आफ्नो पासवर्ड नै अरुलाई शेयर समेत गर्ने गरेका छन् । यसको कारण साइबर अपराध, ठगीलगायतको समस्य बढ्ने गरेको ईन्टरनेट सेवा प्रदाएक संस्थाहरूको नेटवर्क कार्यकारी निर्देशक शुभास खड्का बताउँछन् ।
कमजोर पासवर्ड राख्ने, आपसमा शेयर गर्ने जस्ता कारण बालबालिकामाथि समस्या हुने गरेको खड्काले बताए । सिविन बाल हेल्पलाईन मकवानपुरको आयोजनामा बुधबार हेटौडामा बालबालिकाहरु अनलाइनबाटै शोषणमा पर्ने गरेकाले घटना रोकथाम सम्बन्धी इन्टरनेट सेवा प्रदायक र सरोकारवालाहरूलाई तालिम कार्यक्रम प्रदान गरिएको थियो ।
डिजिटल प्लेटफर्महरु मार्फत बालबालिकाको शोषण बाल यौन दुर्व्यवहार कसरी हुन्छ भन्ने विषयमा तालिम प्रदान गरिएको सिविन मकवानपुर प्रमुख झविन्द्र ज्ञवलीले बताए । ईन्टरनेट सेवा प्रदायक र सरोकारवालाहरुबीच आपसी समन्वयबाट अनलाइनमा हुने बालयौन शोषणलाई रोकथाम गर्नुको साथै अनलाइनमा बाल संरक्षणलाई प्रबर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सिविन नेपालका कार्यक्रम व्यवस्थापक माधव लोहनीले बताए ।
कार्यक्रममा बागमती प्रदेश राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल टेलिकम, एनसेल, सामुदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्क, ईन्टरनेट सेवा प्रदायकहरुलगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । डिजिटल संचार माध्यमकाे अवस्था, पत्रकारिताको गुणस्तरता र संकट सम्बन्धी हेटौंडामा अन्तरक्रिया भएकाे छ । स्वस्तिक मिडिया प्रालि हेटौंडाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हाे ।
डिजिटल युगमा पत्रकारिताको बदलिँदो स्वरूप, अनलाइन मिडियाको प्रभाव, आर्थिक संकट, नियमनको आवश्यकता, र पत्रकारिताको विश्वसनीयताबारे अन्तरक्रिया भएकाे हाे । “डिजिटल सञ्चारमाध्यम: स्थापना, सञ्चालन र निरन्तरतामा नीति, नियत र नियतीमा आवश्यक संशोधन सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया” कार्यक्रममा अनलाइन मिडिया हालको सबैभन्दा प्रभावशाली सञ्चारमाध्यम भए तापनि यसले भोग्नुपरेको आर्थिक संकट, सरकारी निकायहरूको असहयोग, पत्रकारिताको स्तर, विज्ञापन नीति, अनलाइन नियमन प्रणालीलाई प्रमुख रूपमा उठाइएको थियो।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले पत्रकारिता क्षेत्रमा सुधार ल्याउन श्रमजीवी ऐनको कार्यान्वयन आवश्यक रहेको बताए। उनले सार्वजनिक खरिद ऐनमा संशोधन गर्न जरुरी रहेको जानकारी दिँदै सञ्चार माध्यमहरूले मर्जर गर्नु पर्नेमा जोड दिए । पत्रकारहरूलाई रचनात्मक र तथ्यपरक समाचार प्रस्तुत गर्न उनले आग्रह गरे। सापकोटाले मकवानपुरमा आशा लाग्दो पत्रकारहरूको उपस्थिति रहेको उल्लेख गर्दै प्रदेशको राजधानीमा बसेर पत्रकारिता गर्दै गर्दा गर्वका साथ आफ्नो पेशालाई अगाडि बढाउन आह्वान गरे।
कार्यक्रममा गरिएको छलफललाई ध्यानमा राखेर आगामी दिनहरूमा अझ जिम्मेवार भइ काम गर्न आवश्यक रहेको उनले बताए । उनले पुरानो सरकारी नीतिले डिजिटल मिडियालाई असहयोग भएको स्वीकार गर्दै पुरानो खालका नीतिहरू अहिलेको सन्दर्भमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेकाे बताए । ‘सरकारले डिजिटल मिडियाको व्यापक प्रभाव र महत्त्वलाई बुझेर नयाँ नीति ल्याउनुपर्छ । विज्ञापन वितरणमा पारदर्शिता र समानुपातिक व्यवस्था हुनु पर्छ यसकाे लागि पहल गरिरहेका छौं’ उनले भने ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण शारु मगरले अनलाइन मिडियाको वृद्धिको अवस्थाबारे आफ्नो विचार व्यक्त गर्दै भने, जसरी साप्ताहिक पत्रिका विगतमा बढिरहेको थियो, अहिले अनलाइन मिडिया पनि त्यसरी नै तीव्र वृद्धि हुँदैछ। आज अनलाइन मिडियालाई बचाउनु हाम्रो आवश्यकता हो। ’ उनले अनलाइन मिडिया सञ्चालन गर्नेहरूसँग गुनासोहरू आइरहेको र केही सुधार गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले समानुपातिक विज्ञापन वितरणमा पहल गर्ने तर्फ महासंघले पहल कदमी गरिरहेको र मिडिया मैत्री बनाउनका लागि हामीले लडाइँ लड्नु पर्ने अवस्था आएको बताए । उनले सरकारी कर्मचारीहरूको सकारात्मक दृष्टिकोण नपाउने विषयमा चिन्ता व्यक्त गर्दै भने,‘जुनसुकै तहमा सरकारी कर्मचारीहरू सकारात्मक छैन्, र ‘यस वर्ष मिडिया बजेट कटौतीको विषयमा चिन्ता समेत व्यक्त गरे । अध्यक्ष मगरले पत्रकारहरूको हकहितको लागि सदासर्वदा साथ र समर्थन जारी राख्ने प्रतिबद्धता जनाए।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले डिजिटल सञ्चारमाध्यमको वर्तमान परिस्थितिमा चुनौति रहेको बताए । ‘सामाजिक सञ्जालमा नागरिक पत्रकारिता हावी भएकाले प्रमाणित सूचना प्रवाह गर्ने जिम्मेवारी अझै बढेको छ’ उनले भने । अनुसन्धानमूलक पत्रकारिता आवश्यक भन्दै उनले पत्रकारिताको गरिमा जोगाउन सबैले आफ्नो जिम्मेवारी बाेध गर्नु पर्ने बताए ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईले मिडियाको अस्तित्व बचाउन र पत्रकार महासंघको सम्मान सुनिश्चित गर्नका लागि एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘महासंघलाई समेत प्रदेश सरकारले हेप्ने गरेको छ, अब एक भएर जानुको विकल्प छैन।’ उनले अनलाइन मिडियामा देखिएका विभिन्न समस्याहरू आर्थिक कारणले उत्पन्न भएको उल्लेख गरे । उन भने,‘समस्याहरू छन्, तर समाधानका लागि डरेर लाग्नुपर्छ। हामीले हाम्रो आवाज सरकारसँग राख्दै समाधानको लागि संघर्ष गर्नु पर्छ।’ उनले श्रमजीवीहरूको हकमा सदैव लड्ने र पत्रकारहरूको हकहितको लागि लड्न तयार रहेको र समाधानको लागि आशावादी रहन समेत आग्रह गरे ।
तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीले लामो समयदेखि यस्ता विषयमा छलफल भइरहे पनि अवस्था यथावत रहेको बताए। ‘मिडिया टिकाउने आधारभूत संरचना र धरातल निर्माणको अभाव मुख्य समस्या हाे’ उनले भने सामग्री (कन्टेन्ट) उत्पादनमा उचित लगानीको कमी रहेको छ ।’ अधिकारीले विकशित देशमा कन्टेन्ट उत्पादनलाई प्राथमिकता दिइने बताउँदै नेपालमा पनि गुणस्तरीय सामग्री निर्माणमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए। सञ्चार रजिस्ट्रारको भूमिका स्पष्ट हुनु पर्ने बताउँदै उनले भने ‘मिडिया टिकाउन रजिस्ट्रारले कुनै ठोस पहल गरेकाे देखिदैन् ।’ उनले कानुनी प्रक्रिया झन्झटिलो रहेको भन्दै, मिडिया स्थायित्वका लागि नीति निर्माणमा सरोकारवालाको नियत स्पष्ट हुनुपर्ने धारणा राखे।
पत्रकार मनोज डोढारीले यस्ता कार्यक्रम निरन्तरता दिनुपर्ने आवश्यकता रहेकाे बताए । ‘पत्रकारितालाई मर्यादित बनाउन नीति र विधिमा आधारित हुनुपर्छ’ उनले भने सबै पत्रकारहरूले कानूनी प्रावधान, नीति, नियम, र ऐन बुझेर जिम्मेवारीपूर्वक काम गर्नुपर्छ ।’ उनले नियम र प्रक्रियामा आधारित पत्रकारिता मात्रै दीगो र मर्यादित हुने भन्दै, नीति निर्माण र कार्यान्वयन दुवै पक्षमा ध्यान दिनुपर्ने आवश्यकतामा रहेकाे बताए ।
प्रेस चौतारी नेपाल, मकवानपुरकी अध्यक्ष सरिता दाहालले वर्तमान पत्रकारिता अघिल्लो पुस्ताले गरेको पत्रकारिता भन्दा भिन्न हुँदै गएकाले अझ सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको बताईन् । ‘पत्रकारहरू चुक्न हुदैंन । अहिले सबै नागरिक सूचना प्रवाहमा अगाडि रहे पनि पत्रकारहरूले तथ्यपरक समाचार ल्याउनु अत्यावश्यक छ’ उनले भनिन् ‘अनलाइन पत्रकारिताको मुल उद्देश्य ब्रेकिङ न्युज मात्र नभई गहिरो अनुसन्धानसहितको फलोअप हुनुपर्छ ।’ ‘पत्रकारिता राजनीतिक प्रभावबाट हुनु पर्छ’ उनले भनिन् । मिडिया टिकाइराख्न एकता आवश्यक रहेकाे भन्दै अनलाइन मिडियाहरूलाई वर्गीकरण गरी स्थायित्व प्रदान गर्न संचार रजिष्ट्रार कार्यालयको भूमिका प्रभावकारी हुनुपर्ने उनले बताइन्।
प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष र नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुर्ब अधिकारीले पत्रकारिता क्षेत्रमा एकता अपरिहार्य रहेको बताउँदै अरूको नियतमा खोट लगाउने भन्दा आफ्नै नियत जाँच्न आवश्यक रहेको बताए । उनले पत्रकारहरुमा समाचारको विषयमा गम्भीर बहसको अभाव रहेकाे बताउँदै सामाजिक संजालमा आउने सूचनाभन्दा फरक र प्रमाणित समाचार ल्याउन आग्रह गरे।
उनले भने, आचारसंहिता कमजोर हुँदै गइरहेको र अब यसमा सचेत हुन आवश्यक छ। समानुपातिक विज्ञापन वितरण गर्ने प्रणालिका लागि पहल गर्न उनले आग्रह गरे। उनले पत्रकार महासंघ मकवानपुर एकजुट भएर समस्याहरूको समाधान गर्न सहकार्य गर्न तयारी रहेको पनि बताए। प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्माले अनलाइन मिडियाको विकास भए पनि अझै व्यवस्थित हुनुपर्ने बताए। उनले कर्मचारी सेटिङका आधारमा विज्ञापन वितरण हुने गरेको भन्दै विज्ञापन नीतिलाई न्यायोचित बनाउन माग गरे।
पत्रकार रमेश बन्जराले सञ्चार रजिस्ट्रार कार्यालयको भूमिका कमजोर रहेको टिप्पणी गरे । ‘केवल दर्ता प्रक्रिया पूरा गर्ने तर प्रभावकारी नियमन नगर्ने प्रवृत्तिले मिडियाको स्थायित्व संकटमा परेको छ’ उनले भने । पत्रकार जि न्यौपानेले मिडिया क्षेत्रमा विभेद भइरहेको आरोप लगाउँदै सबैलाई समान अवसर प्रदान गर्नुपर्ने धारणा राखेका छन् । उनले सम्मानित हुने विषयमा समेत माग गर्नुपर्ने अवस्थाले मिडिया क्षेत्रमा असमानता व्याप्त रहेको संकेत गर्छ भन्दै यस्ता विभेद अन्त्य गर्नुपर्ने बताए। पत्रकार मञ्जु मैनालीले सत्य खोज्दा धेरै कठिनाइ भोग्नुपरेको अनुभव सुनाउँदै अनुसन्धानमूलक पत्रकारितालाई प्रवर्धन गर्न अग्रज पत्रकारहरूको मार्गदर्शन र साथको आवश्यक रहेको बताइन् ।
कार्यक्रममा हाल अनलाइन पत्रकारितामा मौलाएको ‘कपी-पेस्ट’ प्रवृत्ति माथि कडा आलोचना भयो। धेरै अनलाइन मिडियाले आफ्नै अनुसन्धानभन्दा गुगल सर्चबाट समाचार कपी गरेर प्रकाशित गर्ने प्रवृत्ति हाबी भएको भन्दै यसले पत्रकारिताको विश्वसनीयता गुमाउँदै गएको धारणा व्यक्त गरियो।
पत्रकारीता अनुसन्धानभन्दा गुगल सर्चमा भर पर्ने प्रवृत्तिले अनलाइन मिडियाको अस्तित्वलाई नै संकटमा पार्दैछ भन्ने धारणा व्यङ्ग्यात्मक रुपमा उठेको थियो । छलफलका क्रममा, “कपी-पेस्ट गर्नै गुगलमा खोज पत्रकारिता भैरहेको छ” भन्दै व्यङ्ग्यात्मक टिप्पणीसमेत भयो ।
छलफलमा हाल केही अनलाइनहरू हप्तौँसम्म अपडेट नगर्ने, पुराना समाचारलाई नयाँ बनाएर हाल्ने, वा सामाजिक सञ्जालबाट सिधै समाचार कपि गर्ने गरेको समेत चर्चा गर्दै यस्ता मिडियाहरूलाई स्तरअनुसार वर्गीकरण गर्न सुझाव दिएका थिए ।
डिजिटल मिडिया एसोसिएसन गठनको प्रस्ताव
कार्यक्रममा डिजिटल मिडिया सञ्चालकहरू एकजुट भएर संगठन निर्माण गर्नुपर्ने आवश्यकता रहेको भन्दै “डिजिटल मिडिया एसोसिएसन” गठन गर्ने प्रस्ताव अघि सारिएकाे थियाे । सहभागीहरुले संगठन निर्माण भएमा अनलाइन मिडियाको अधिकार रक्षा, सरकारी विज्ञापन समानुपातिक रूपमा वितरण गराउने, अनलाइन पत्रकारिताको व्यावसायिकता अभिवृद्धि गर्ने, र अनलाइनलाई मुलधारको मिडिया बनाउने लक्ष्य राख्न सकिने बताएका थिए ।
कार्यक्रममा सरकारी विज्ञापन वितरण प्रणालीको असमानताबारे पनि छलफल भएकाे थियाे । सरकारी आधिकारिक सूचना तथा विज्ञापन ‘क’ वर्गको राष्ट्रिय पत्रिकाहरूमा मात्र अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने कानूनी व्यवस्थाले अनलाइन मिडियालाई बञ्चित गरिरहेको भन्दै समानुपातिक विज्ञापन वितरण नीति ल्याउनकाे लागि समेत पुरानाे कानून संसोधनकाे आवश्यक रहेकाेले पहल हुनु पर्ने सहभागीहरुले बताएका छन् ।
कार्यक्रम स्वस्तिक मिडिया प्रा.लि.का सञ्चालक रबिन्द्र गौतमकाे सभाध्यक्षतामा भएकाे हाे ।
मकवानपुर । मकवानपुरको हेटौंडामा पाँच दर्जन इन्जिनियरसहित पहिलो हेटौंडा ईन्जिनियर्स मिटअप भएको छ । एस्ट्राेनाेभा फाउन्डेसन नेपालकाे आयाेजनामा हेटौंडामा पहिलाेपटक “पहिलो हेटाैँडा ईन्जिनियर्स मिटअप” कार्यक्रम भएकाे हो।
स्टुडेन्ट डेको अवसरमा गरिएको भेलामा इन्जिनियरिङतर्फ सिभिल , इलेक्ट्रोनिक्स, इलेक्ट्रिक,मेकानिकल, सूचना प्रविधि, कम्प्युटर, आइटी सेक्युरिटी, इन्ड्रस्टियल, केमिकल, अटोमोबाइलका साथै विज्ञान प्रविधिका अन्य क्षेत्रमा बि.टेक, फरेस्ट्री, कृषि, एक्चुरिएल साईन्स, आर्किटेक्ट, मेडिकल साईन्स लगाएतका विभिन्न क्षेत्रमा स्नातक उत्तीर्ण तथा अध्ययनरत ६० भन्दा बढी विद्यार्थी युवाशक्तिहरूकाे सहभागिता रहेकाे थियाे।
एस्ट्रोनोभा फाउण्डेशन नेपालका अध्यक्ष किशन बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव चिरञ्जीवी लामिछाने, कोषाध्यक्ष आयुष बस्नेत, बोर्ड सदस्य अनुज अधिकारी तथा इन्जिनियर लिलानाथ घिमिरेले संस्थाको भिजन, मिसन र लक्षहरूको साथ साथै आफुहरूले हाल गरिरहेका ईनोभेटिभ प्रोकेक्टजरू र भइरहेका कामका प्रगति विवरण पनि पेस गरिएको थियो ।
फाउन्डेसनका संस्थापक अध्यक्ष बास्ताेलाले विज्ञान, सूचना प्रविधी, नवप्रवर्तन, उधमशीलतामा कसरी बालबालिकाहरुलाई विद्यालयस्तर देखिनै अग्रसर गराउनु पर्ने बताए । ‘उनिहरुमा दिर्घकालिन सोच, वैज्ञानिक साेँच, संस्कृति, नविनतम विचारधाराकाे सँस्कृती विकास गराई हेटाैडालाई विज्ञान, प्रविधी, नवप्रवर्तनशीलता, उधमशीलता तथा शैक्षिक र पर्यटनका हिसाबले देशकै नमुना सहरका रुपमा विकास गराउन सकिन्छ’ उनले भने । यसका लागि फिजिकल, डिजिटल र पेडागोजिकल पक्षको समिश्रण सहितको समाधानका माेडेल समेत उनले प्रस्तुत गरेका थिए ।
फाउन्डेशनले आफ्नो उद्देश्य अनुरुप वैज्ञानिक एवम् प्रविधिमय वातावरणका निम्ति रोबटिक्स एण्ड अटोमेसन, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्युचर टेक्नोलोजी, ड्रोन टेक्नोलोजी, रकेट एण्ड एभिएसन, वेदिक गणित, एष्ट्रोनोमी केन्द्रित कार्यशाला गर्दै आएको छ ।
यसअघि विद्यार्थीहरूलाई फिजिक्स, फिजिक्स इन एक्सन, म्याथ इन एक्सन, चन्द्रमा अवलोकन, नोबेल विजेता वैज्ञानिकहरूले हस्ताक्षर गरेको टेलिस्कोपबाट सोलार अवलोकन, ब्ल्याक होल, बिग ब्याङ थेउरी, थेउरी अफ रिलेटिभिटी, (स्पेशल/जनरल) को बारेमा चर्चा परिचर्चा फरक फरक ठाउँमा लगेर खुला आकाश मुनि कक्षाहरू मार्फत गरिएको थियो।
फ्युचर टेक्नोलोजीतर्फ आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, अगमेन्टेड रियालिटी, भर्चुअल रियालिटी र डेटा सेक्युरिटी लगायतको विषयमा प्रशिक्षण दिइँदै आएको फाउण्डेशनले जनाएको छ ।
सांसद् सिंहद्वारा एष्ट्रोनोभा फाउण्डेशनको ल्याब अवलोकन
Tags: No Comments
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ का सांसद् एवम् पूर्व उर्जा राज्यमन्त्री दिपकबहादुर सिंहले एष्ट्रोनोभा फाउण्डेशन नेपालले सञ्चालन गर्ने तयारी गरेकाे ल्याबकाे अवलोकन गरेका छन् । फाउण्डेशनले संचालन गर्न लागेकाे क्रियटिभिटी एण्ड इनोभेशन वर्कसप ल्यावरोटरी एएफएन टिङ्करिङ ल्याबको सिंहले अवलाेकन गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित निर्माणाधिन उक्त ल्यावको अवलोकन पश्चात सांसद् सिंहले निर्माण सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । प्रस्तावित प्रयोगशाला देशकै नमूना प्रयोगशाला हुने बताउँदै सांसद सिंहले देशमै केही गर्छु भन्ने युवाहरुको जोश जाँगर र सिर्जनशील क्षमतालाई यही सदुपयोग गर्न फाउण्डेशनले थालेकाे अभियानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले ल्याव निर्माण सम्पन्न गर्न सके, विद्यार्थीहरुमा विज्ञान, प्रविधि, नवप्रवर्तन, उद्यमशीलता लगायत उनीहरुको, जिज्ञासा र क्षमता अभिबृद्धिमा सहयोग पुग्ने बताए । उनले फाउण्डेशनको भावी योजनाबारे बताउँदै बालबालिकाहरुमा सानै उमेरदेखि वैज्ञानिक सोच संस्कृतिको विकास गर्दै प्रविधिमय वातावरणको निर्माण गरी उद्यमशीलताको क्षेत्रमा काम गर्ने उल्लेख गरे ।
फाउन्डेशनले हेटौंडामा वैज्ञानिक एवम् प्रविधिमय वातावरण बनाउने उद्देश्यका साथ रोबोटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्युचर टेक्नोलोजी र एष्ट्रोनोमीमा केन्द्रित कार्यशाला गर्दै आएको छ । फाउण्डेशनले यसअघि फिजिक्स, फिजिक्स इन एक्सन, म्याथ इन एक्सन, चन्द्रमा अवलोकन, नोबेल विजेता वैज्ञानिकहरूले हस्ताक्षर गरेको टेलिस्कोपबाट सोलार अवलोकन, ब्ल्याक होल, बिग ब्याङ थेउरी, थेउरी अफ रिलेटिभिटी, (स्पेशल/जनरल) को बारेमा चर्चा परिचर्चा गरेको थियो ।
त्यस्तै इन्बेडेड सिस्टम तथा रोबोटिक्स अन्तर्गत सी प्रोग्रामिङ ल्याङ्ग्वेज, अटो ट्राफिक लाइट सिस्टम, भूकम्प मापन सिस्टम, होम अटोमेसन सिस्टम, बेस्ट म्यानेजमेन्ट सिस्टम (स्मार्ट डस्टबिन) लगायतको विषयमा पनि विद्यार्थीहरुलाई प्रशिक्षण दिइसकिएको फाउण्डेशनले जनाएको छ ।
फ्युचर टेक्नोलोजीतर्फ आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, अगमेन्टेड रियालिटी, भर्चुअल रियालिटी र डेटा सेक्युरिटी लगायतको विषयमा प्रशिक्षण दिइँदै आएको पनि फाउण्डेशनले जनाएको छ । यस अघि एष्ट्रोनोभा फाउण्डेशन नेपालले मकवानपुरका दुई विद्यालयमा एकैपटक निशुल्क रोबटिक्स र अटोमेशन सम्बन्धि कार्यशाला समे गरिसकेकाे छ । हेटौंडाको नवोदय शिशु सदन इङ्लिस बोर्डिङ् स्कुल र बालजागृती इङ्लिस बोर्डिङ स्कुलमा ६ दिने उक्त कार्यशाला गरेकाे थियाे ।
विद्यार्थीहरुमा वैज्ञानिक सोच, रचनात्मक एवम् सकारात्मक चिन्तन र सृजनशील तथा नेतृत्व विकासलगायत क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षासहित विभिन्न समयमा विभिन्न कार्यशाला आयोजना गरिदै आएकाे फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले जानकारी दिए । उनले सानै उमेरदेखि विद्यार्थीहरूमा वैज्ञानिक सोच संस्कृतिको विकास गर्न, प्रविधिमय वातावरणको निर्माण गर्न, उद्यमशीलताको क्षेत्रमा काम गर्न कार्यशाला प्रभावकारी हुने समेत बताए ।
मकवानपुर । विज्ञान शिक्षक समाज मकवानपुर र नवोदय शिशु सदन हेटौंडाले विज्ञान दिवस मनाउने भएको छ ।
‘विज्ञान साक्षरता र उद्यमशीलता : सफल अर्थतन्त्रको आधारशीला’ भन्ने नाराका साथ देशभर विज्ञान दिवस –२०८० मनाउन लागिएको छ । विज्ञान दिवस –२०८० को सन्दर्भमा ‘समृद्ध समाज निर्माणका लागि विज्ञान शिक्षाको भूमिका’ विषयक माध्यमिक तह (कक्षा ९–१२)स्तरीय वक्तृत्व कला प्रतियोगिता हुने भएको हो । विज्ञान शिक्षक समाज मकवानपुरले नवोदय शिशु सदनको सहकार्यमा असोज ६ गते वक्तृत्व कला प्रतियोगिता आयोजना गर्न लागेको छ ।
नवोदय शिशु सदनमा हुने वक्तृत्व कला प्रतियोगितामा मकवानपुरका गाउँपालिकाबाट कम्तिमा १ छात्रा सहित ३ जना , थाहा नगरपालिकाबाट कम्तिमा १ छात्रासहित ४ जना र हेटौँडा उपमहानगरपालिकाबाट कम्तिमा २ छात्रासहित ५ जना विद्यार्थी सहभागी हुने समाज सचिव सुवास खनालले जानकारी दिए ।
जिल्लास्तरीय उक्त प्रतियोगिताको लागि ४ पालिकास्तरको छनौट पूरा भइसकेको र ६ पालिकामा हुँदै गरेको सचिव सुवास खनालले बताए । बकैया, मनहरी , गढी र हेटौँडाको छनौट पूरा भएको छ । मकवानपुर गढी गाउँपालिकाको छनौट प्रक्रिया भाद्र २७ गते भएको थियो भने हेटौँडा उपमहानगर पालिकाको छनौट भाद्र २९ गते भएको छ । त्यसै गरी मनहरी पालिकाले डिजिटल प्रविधिबाट छनौट कार्यक्रम गरेको छ ।
मकवानपुरगढीको गाउँपालिकाकामा १३ जना सहभागीहरूमध्येबाट जनता माध्यमिक बिद्यालय मकवानपुर गढी ७ सुकौराका छात्र बिकास गोले, भानु माध्यमिक बिद्यालय मकवानपुर गढी ६ मक्रान्चुलिका छात्रा सन्ध्या दहाल र चण्डिका माध्यमिक बिद्यालय मकवानपुर गढी २ शिखर कटेरीका छात्रा सन्ध्या बास्कोटा छनोट गरेको छ ।
यसै गरी उपमहानगरस्तरीय छनौट कार्यक्रम भने भुटनदेवी मावि हेटौँडा –४ मा भएको भएकोमा बाल जागृति इङ्ग्लिस स्कुलकी रितिका छत्कुल्ली, नवोदय शिशु सदनकी विदुषी हुमागाईँ, ज्ञानदीप शिक्षा निकेतनका आदर्श पौडेल र प्रतिष्ठा कार्की तथा जनप्रिय माविकी एरिना चौलागाईँ छनौट भएका छन् ।
छनौट भएका सबै पालिकाका प्रतियोगीलाई पुन: नवोदय शिशु सदनमा प्रतिष्पर्धा गराई प्रथम, द्वितीय , तृतीय र सान्त्वना हुनेलाई क्रमश: ६ हजार , ५ हजार, ४ हजार र ३ हजार सहित प्रमाणपत्र प्रदान गरिने स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेले जानकारी दिए ।