मकवानपुर । डिजिटल प्रविधिको प्रयोग बढेसँगै अनलाईन सुरक्षाको चुनौती दिनानुदिन बढीरहेको छ । यसको मुख्य कारण इन्टरनेटमा प्रयोगकर्ता स्वंयमले कमजोर पासवर्ड राख्नु रहेको पाइएको छ ।
नेपालमा इन्टरनेटमा जुन जुन साइडहरु प्रयोग गरेपनि कमजोर पासवर्ड राख्नाले असुरक्षा बढी हुने गरेको छ । इन्टरनेट सेवा प्रयोगकर्तामध्ये ३१ प्रतिशतले कमजोर पासवर्ड राख्ने गरेको पाइएको छ । यसैगरी २१ प्रतिशतले त आफ्नो पासवर्ड नै अरुलाई शेयर समेत गर्ने गरेका छन् । यसको कारण साइबर अपराध, ठगीलगायतको समस्य बढ्ने गरेको ईन्टरनेट सेवा प्रदाएक संस्थाहरूको नेटवर्क कार्यकारी निर्देशक शुभास खड्का बताउँछन् ।
कमजोर पासवर्ड राख्ने, आपसमा शेयर गर्ने जस्ता कारण बालबालिकामाथि समस्या हुने गरेको खड्काले बताए । सिविन बाल हेल्पलाईन मकवानपुरको आयोजनामा बुधबार हेटौडामा बालबालिकाहरु अनलाइनबाटै शोषणमा पर्ने गरेकाले घटना रोकथाम सम्बन्धी इन्टरनेट सेवा प्रदायक र सरोकारवालाहरूलाई तालिम कार्यक्रम प्रदान गरिएको थियो ।
डिजिटल प्लेटफर्महरु मार्फत बालबालिकाको शोषण बाल यौन दुर्व्यवहार कसरी हुन्छ भन्ने विषयमा तालिम प्रदान गरिएको सिविन मकवानपुर प्रमुख झविन्द्र ज्ञवलीले बताए । ईन्टरनेट सेवा प्रदायक र सरोकारवालाहरुबीच आपसी समन्वयबाट अनलाइनमा हुने बालयौन शोषणलाई रोकथाम गर्नुको साथै अनलाइनमा बाल संरक्षणलाई प्रबर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सिविन नेपालका कार्यक्रम व्यवस्थापक माधव लोहनीले बताए ।
कार्यक्रममा बागमती प्रदेश राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल टेलिकम, एनसेल, सामुदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्क, ईन्टरनेट सेवा प्रदायकहरुलगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

