मकवानपुर । मकवानपुरकाे इन्द्रसरोवर गाउँपालिका स्थित सिमखेलामा बेलिब्रिज निर्माण हुने भएको छ । बागमती प्रदेश राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत पर्ने उक्त खाेलाकाे पुल असोजकाे अविरल वर्षासँग पुल बगाएकाे थियाे ।
अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि जलाशयकाे ड्यामका ढोका खोलिए पछि ड्याम मुनी रहेकाे सिमखोलाकाे पुलमा क्षती पुर्याएकाे थियाे । सिम खोलामा बेलिब्रिज निर्माणका लागि बागमती प्रदेशकाे यातायात पूर्वाधार निर्देशनालय हेटौंडा मार्फत ठेक्का आह्वान भएको छ । बेलिब्रिज निर्माणका लागि निर्देशनालयले शुक्रवार टेन्डर आह्वान गरेको हाे । बेलिब्रिजका साथै पहुँच मार्ग समेत निर्माण गर्नका लागि १ करोड ७९ लाखको टेन्डर आह्वान गरिएको निर्देशनालयले जनाएकाे छ ।
सिम खोलामा करिब ५० मिटर लामो बेलिब्रिज रहने र सो बाहेकको स्थानमा पहुँच मार्ग निर्माण गर्नेगरी ठेक्का खुल्ला गरिएको निर्देशनालयकाे भनाइ छ । वर्षायाम सुरु हुनुअघि नै पुल राख्ने काम र पहुँच मार्ग निर्माण गर्ने गरी भीमफेदी गाउँपालिका–६ स्थित माण्डु खोलामा रहेको बेलिब्रिज निकालेर सिमखोलामा हाल्ने गरी ठेक्का आह्वान गरिएको बताइएकाे छ ।
निर्देशनालयका अनुसार माण्डु खोलाको बेलिब्रिज निकालेर ल्याउने र सिम खोलामा उक्त पुल अड्याउनका लागि निर्माण गरिने पक्की टेको र पहुँच मार्ग निर्माण गर्न टेन्डर आह्वान गरिएकाे हाे । यसअघि माण्डु खोलामा रहेकाे बेलिब्रिज उक्त खोलामा पक्की पुल निर्माण भएसँगै प्रयोगविहीन अवस्थामा रहेकोले सिमखाेलामा हालिने भएकाे हाे ।
११ र १२ असोज २०८१ को अविरल वर्षासँगै कुलेखानी जलाशय भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसगैं सडकमा समेत क्षति पुगेकाे थियो । हाल उक्त स्थान भन्दा तलबाट डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिदै आएकाे छ ।

