मकवानपुर । मकवानपुरकाे हेटौंडामा भोली ६ फागुनदेखि हुने राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवकाे तयारी पुरा भएकाे छ । १० वर्षपछि पुनः आयोजना हुन लागेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने भएका छन् ।
सोमबार आयोजक निर्माण व्यवसायी संघ मकवानपुरले पत्रकार सम्मेलन गर्दै महाेत्सवकाे तयारी पुरा भएकाे जानकारी दिएकाे हाे । मकवानपुर जिल्लाको निर्माण तथा औद्योगिक क्षेत्र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल निर्माण व्यवसायी महासंघ र संघकाे संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएकाे हो । संघका अध्यक्ष बालगोपाल कंडेलका अनुसार महाेत्सव गृहमन्त्री रमेश लेखकले उद्घाटन गरिने छ भने उद्घाटनकाे दिन सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
मकवानपुर जिल्लाको निर्माण तथा औद्योगिक क्षेत्र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएकाे महोत्सवमा विभिन्न निर्माण सामग्री उत्पादक, उद्योगी, व्यवसायी, हस्तकला व्यवसायी, महिला उद्यमी, तथा उपभोक्ताका लागि ३५० भन्दा बढी स्टल राखिने छन्। मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई विशेष प्रोत्साहन प्रदान गर्न स्टल भाडामा ५० प्रतिशत छुट दिइने संघले जनाएको छ।
महोत्सवमा निर्माण उपकरण तथा औद्योगिक उत्पादनका प्रदर्शनीसँगै व्यवसाय प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ। व्यवसायी, बिक्रेता, तथा उपभोक्ताबीच समन्वय कायम गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
महोत्सवको अर्को मुख्य आकर्षण ‘हेटौंडा आइडल’ प्रतियोगिता हुने छ जसमा मकवानपुरका नवप्रतिभाहरूले आफ्नो गायन क्षमता प्रस्तुत गर्ने अवसर पाउनेछन्। आइडल प्रतियोगिताकाे लागि १५ जना प्रतिष्पर्धी छनौट भएका छन् । उनीहरुले महाेत्सवकाे अवधीमा स्टेज प्रस्तुति दिनेछन् । दर्शक समेतकाे भाेटिङ्गमा आइडलकाे घाेषणा गरिने आयोजकले जनाएकाे छ ।
हेटौंडा–१० टिसिएन चौरमा आयोजना हुने महोत्सव फागुन १८ गतेसम्म चल्नेछ । जसमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। आयोजकका अनुसार महोत्सवमा आउने आगन्तुकका लागि बाल उद्यान, विभिन्न परिकारका खानाका स्टलहरू तथा अन्य मनोरञ्जनात्मक गतिविधि हुनेछन् । महोत्सव आयोजना तथा सम्पन्न गर्न २५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ।
महोत्सव आयोजक समितिले स्थानीय बासिन्दा, व्यवसायी, तथा सम्पूर्ण इच्छुक नागरिकहरूलाई महोत्सवमा सहभागी हुन अनुरोध गरेको छ। उद्घाटनको दिन निःशुल्क प्रवेश रहेकाले पहिलो दिन अधिक भीड हुने अपेक्षा गरिएको छ। करिव ३ कराेडकाे काराेवार हुने अनुमान गरिएकाे महाेत्सवकाे लागि १ लाख ५० हजार जनाले अवलाेकन गर्ने आयोजकले अनुमान गरेकाे छ ।

