मकवानपुर । पशु सेवा कार्यालय मकवानपुरले ट्रकमा गोरु तस्करी गरि लैजादै गरेकाे अवस्थामा बाराकाे पथलैयाबाट नियन्त्रणमा लिएकाे छ । हेटौंडा हुँदै बारातर्फ गइरहेको २५ वटा गोरु बोकेको बा.प्र.०३-००१ ख १४२४ नम्बरको ट्रक आइतबार कार्यालयले सशस्त्र प्रहरीकाे सहयोगमा नियन्त्रणमा लिएको हाे।
सशस्त्र प्रहरीको सहयोगमा ट्रक नियन्त्रणमा लिइए लगत्तै ट्रकका चालक र गोरु चराउने सहायकहरू फरार भएका छन् । ट्रक चालक फरार भएपछि हेटौँडाबाट अर्को चालक बोलाएर ट्रकलाई हेटौंडा ल्याइएकाे पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले साेमबार पत्रकार सम्मेलन गरी जानकारी दिए।
गोरु ओसारपसारका लागि आवश्यक भेटेरिनरी प्रमाणपत्र नक्कली भेटिएकाे उनले बताए । ‘२५ वटा जर्सीक्रस गोरु कृषि प्रयोजनका लागि झापातर्फ लगिदै गरेकाे देखाउन खोजिएको रहेछ’ उनले भने ‘भेटेरिनरी प्रमाणपत्रमा आबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्स मार्फत झापाको हेमादेवी सप्लायर्स लाई गोरु विक्री गरेको उल्लेख थियो।’ प्रमाणपत्रमा डा. टिकाराम न्यौपानेको हस्ताक्षर देखिए पनि सो कागजात प्रमाणीकरण नभएकाे उनले जानकारी दिए ।
छानबिनका क्रममा गोरुहरूलाई सर्लाहीको नवलपुरमा २ दिनसम्म राख्ने र त्यसपछि अर्को ट्रकमा झापा पुर्याउने योजना बनाइएको पाइएको कार्यालय प्रमुख ठाकुरले बताए । प्रतिगोरु ५ हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजनका लागि लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर-१६, हेटौंडाको नाममा बिजक जारी गरिएको थियो।
तनहुँ जिल्ला आबु खैरेनीबाट काकडभिट्टा तर्फ जाँदै गरेकाे उक्त ट्रक बारा जिल्ला पथलैया राजश्व कार्यालयकाे समन्वयमा नियन्त्रणमा लिइ पशु सेवा कार्यालय मकवानपुरलाई जिम्मा लगाइएकाे ठाकुरले बताए ।
यसरी भएकाे थियाे तस्करी नियन्त्रण
४ फागुन आइतबार दिउँसो नै गोरु तस्करी भइरहेको सूचना पाएपछि कार्यालय प्रमुख ठाकुर ट्रकलाई नियन्त्रणमा लिन तयारी अवस्थामा थिए। सरकारी मोटरसाइकलमा राजमार्गभन्दा फरक बाटो हुँदै रातोमाटे प्रहरी चौकीमा पुगेकाे उनी बताउँछन् । ‘त्यहाँ पुग्दा बा.प्र.०३-००१ ख १४२४ नम्बरको ट्रकलाई प्रहरीले रोकेर सामान्य जाँच गरिरहेको देखे’ उनले भने । उक्त ट्रकमा २५ वटा जर्सीक्रस गोरु लोड गरिएको थियो।
प्रमुख ठाकुरले प्रहरीलाई ट्रक अवैध रूपमा जाँदैछ भनी जानकारी गराएकाे बताउँछन् ।तरपनि, प्रहरीले ट्रक नियन्त्रणमा नलिएकाे उनले बताए । “ट्रक नियन्त्रणमा लिन चौकीका इन्चार्ज कुमार फुयालसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई पनि जानकारी गराए’ उनले भने । प्रहरीले नै बाइकमा स्कर्टिङ गरेर नाका कटाइ दिएकाे ठाकुरले आराेप लगाए ।
रातोमाटे चौकीबाट ट्रक पथलैयातर्फ गएपछि ठाकुर पनि ट्रकको पछिपछि लागेर गएकाे उनले जानकारी दिए। स्थानीय प्रहरीले कुनै सहयोग नगरेपछि उनी हेटौँडा–१५, नयाँ बस्तीस्थित सशस्त्र प्रहरी राजमार्ग सुरक्षा चेकपोस्टका सशस्त्रका असईलाई जानकारी गराएकाे बताए । ठाकुरले सशस्त्र प्रहरी १४ नम्बर हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँग समन्वय गरेर पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा खटिएका सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएकाे जानकारी दिए ।
रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयालले भने आफूलाई गोरु तस्करीबारे जानकारी नभएको बताए। “गोरु तस्करी र नियन्त्रणका विषयमा सम्बन्धित कार्यालयहरूबाट मलाई कुनै जानकारी आएको छैन,” उनले भने। आइतबारको घटनाबारे आफूलाई जानकारी नभएको भन्दै उनले चौकीमा सामान्य सुरक्षा जाँचपछि ट्रक छोडिएको बताए। प्रहरीकै संरक्षणमा ट्रकलाई नाका कटाइएको भन्ने आरोप गलत भएको उनको दाबी छ।
नेपालको फौजदारी संहिता २०७४ अनुसार गाई/गोरु वध गर्नेलाई ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ। गाई/गोरु मासु बेच्न, बोक्न, ओसारपसार गर्न दण्डनीय अपराध हो। साथै, कस्टम ऐन, पशु ऐन, वन्यजन्तु संरक्षण ऐन अन्तर्गत तस्करीमा संलग्नहरूलाई कानुनी कारबाही गरिनेछ।

