मकवानपु्र । मकवानपुरकाे बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप प्रतियोगितामा चर्च व्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ ।
सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै चर्च व्वाइज युनाइटेड सेमिफाइनल प्रवेश गरेको हो ।
बागमती गाउँपालिकाले निर्माण गरेकाे सहिद स्मृति रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली आर्मीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
चर्च व्वाइजका लागि टाइब्रेकरमा विदेशी खेलाडी अर्मान विडम र अनयोमीसहित सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोलले गोल गरे । आर्मीका लागि विमल पाण्डे, फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे । नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्र सिं थापाले बचाएका थिए । खेलको म्यान अफ द म्याच चर्च व्वाइजका गोलरक्षक थापा घोषित हुँदै १० हजार रुपैयाँ हात पारे । चर्च व्वाइज प्रतियोगितामा नयाँ टोली हो ।
बागमती खेलकुद विकास समितिकाे आयोजनामा ३ फागुनमा सुरु भएकाे प्रतियाेगिताकाे फाइनल खेल १२ फागुनमा हुने छ । प्रतियोगिता उपाधि विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता रहेकाे छ । गत वर्षकाे छैठौं संस्करणको प्रतियोगिता फापरबारीस्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा भएको थियो । छैटौं संस्करणकाे उपाधी काठमाडौंको मछिन्द्र क्लबले हात पारेकाे थियो भने सशस्त्र प्रहरी बलको एपीएफले उपविजेतामा चित्त बुझाएकाे थियो ।

