मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १७ हटिया स्थित अंगारेश्वर धार्मिक तथा पर्यटन स्थलमा जारी श्रीमद्भागवद सप्ताह ज्ञान महायज्ञमा आइतबार १७ नम्बर वडाध्यक्ष उद्धव सत्यालले सप्ताह सर्वण गरेका छन् ।
आत्मालाई जागृत गरौँ, सनातन सत्यलाई अँगालाैं भन्ने आदर्श वाक्यका साथ सुरु सप्ताहमा वडाध्यक्ष सत्यालले ज्ञान महायज्ञको पूर्ण सफलताको कामना व्यक्त गर्दै कार्यक्रमको उद्देश्य पूरा गर्न सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वडाध्यक्षसँगै अंगारेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको उपाध्यक्ष शिवप्रसाद चौलागाईं र हेटौंडा १७ निवासी समाजसेवी तथा युवा व्यवसायी रमेश श्रेष्ठले सप्ताह सर्वण गरेका छन् ।
सप्ताह मुल समारोह समिति संयोजक कृष्णदेव भण्डारीले वडाध्य्क्ष सत्याल,चौलागाईं र श्रेष्ठलाई मायाको चिनो प्रदान गरेका थिए । ३० फागुनमा उद्घाटन भइ आइतबार पाँचौं दिनसम्म सप्ताहबाट करिब ५ लाख संकलन भएकाे आयोजक समितिले जनाएकाे छ । महायज्ञबाट संकलन हुने रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्थरोन्नती गर्ने, मन्दिरको जग्गामा घेराबारा (पर्खाल) लगाउने लक्ष्य रहेको प्रचार समिति संयोजक चुडामणि रुपाखेतीले बताए ।
सप्ताहकाे अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्थाले संयुक्त रुपमा आयोजना गरेको सप्ताहबाट करिब ४५ लाख संकलन हुने अनुमान गरिएकाे छ । ७ फागुनसम्म संचालन हुने महायज्ञमा नियमित सत्सङ्ग, आध्यात्मिक प्रवाचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएकाे भण्डारीले बताए । महायज्ञमा पण्डित बद्रीविशाल शास्त्रीले कथा वाचन गरेका छन् भने पण्डित अनमोल धितालले उपवाचक भूमिकामा रहेका छन् ।
सप्ताह ज्ञान महायज्ञ अन्तरगत प्रत्येक दिन विहान ६ बजेदेखि ११ बजेसम्म पाठ पारायण तथा हवन, विहान ११ बजेदेखि खिउँसो ४ः३० बजेसम्म कथा प्रवचन, साँझ ६ बजेदेखि ९ बजेसम्म महात्म्य प्रवचन तथा भजन किर्तन हुने आयोजकले जनाएकाे छ । यस्तै ७ फागुनमा कथा विश्राम, तिलार्चन, पूर्णाहुति, प्रसाद वितरण, तथा महायज्ञ समापन गरिने छ ।
महायज्ञमा करिब २ हजार भक्तजनहरुको उपस्थिति रहने अनुमान आयोजकले गरेकाे छ । महायज्ञमा दान गर्नेहरुकाे लागि सम्मान कार्यक्रम समेत गरिदै आएकाे आयोजकले जानकारी दिएकाे छ ।

