मकवानपुर । साहित्यकार श्रीराम पाण्डेको कथा सङ्ग्रह ‘दुर्घटित जन्म’को हेटौँडामा विमोचन तथा विमर्श गरिएको छ ।
शनिबार हेटौंडास्थित किताबघरमा कृति विमोचन तथा विमर्श गरिएको हो । पाँच दशकदेखि साहित्य क्षेत्रमा क्रियाशील पाण्डेको ‘दुर्घटित जन्म’ पुस्तकका रुपमा चौथो तथा आख्यानका रुपमा पहिलो कृति हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दनाले कृतिभित्रका कथाहरू रचनाकालका दृष्टिले पुराना भएपनि पछिल्लो समयका पाठकलाई कथाले आकर्षित गर्ने क्षमता राख्ने बताइन् । सङ्ग्रहभित्रका ३६ वटा कथाहरूमध्ये कतिपयमा विषयवस्तुको पुनरावृत्ति भए पनि त्यसले पाठकमा सकारात्मक प्रभाव छाड्ने उनले बताइन् ।
यसैगरी कवि साम्ब ढकालले कविता, निबन्ध तथा आख्यानमा उत्तिकै सशक्त ढङ्गले कलम चलाउने पाण्डेका कृति प्रकाशनको हिसाबले भने पछि परेकोमा दुःख व्यक्त गरे । पछिल्लो समय कृतिका रुपमा पाण्डेका रचनाहरू बाहिर आउनुलाई नेपाली साहित्यमा ‘असल धातुको उत्खनन्’ भएको आफूले महसुस गरेको ढकालले बताए ।
सर्जक सन्जाल मकवानपुर संयोजक तथा समीक्षक निमेष निखिलले तीसको दशकदेखि नै कथा लेखनमा सक्रिय पाण्डेको कथा लेखनको शैली उत्कृष्ट रहेको बताए । साहित्यकार रमेशमोहन अधिकारीले पनि नेपाली साहित्यका स्थापित कथाकारहरू जत्तिकै सशक्त लेखन भैकन पनि पछि परिरहेको अवस्थामा पाण्डेका अन्य कृतिहरू पनि प्रकाशित हुँदै जाने विश्वास व्यक्त गरे ।

