झुरझरे, बागमती । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अन्त्य नभएसम्म सामाजिक न्याय स्थापित गर्न नसकिने बताएका छन्। मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा शनिबार शहीद स्मृति रङ्गशालामा सुरु भएको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
अहिले नागरिक जनस्तरमा भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक समृद्धिको पक्षमा देशव्यापी जनचेतनाको लहर भित्रिएको उनले बताए । देशभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको बताउँदै उनले भने ‘हाम्रो अभियान सफल बन्दै गएको छ।’
सुशासन, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा आफूहरुले अभियानको थालनी गरेकोमा सोही दिशामा मुलुक अघि बढेको उनले बताए । ‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकता अनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाइ गर्नु पर्छ’ उनले भने । देशभरी नै नयाँ एकता निर्माणको अभियान सुरु भएको उनले बताए ।
बागमती गाउँपालिका कार्यकर्ता लक्षित गर्दै उनले देशव्यापी रुपमा पार्टीप्रति आकर्षण लहर सुरु भएको बताउँदै यसलाई संस्थागत तरिकाले लैजान आग्रह गरे । नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापी रुपमा स्थापित गर्न खेलकुदको विकास महत्वपूर्ण भएको उल्लेख गर्दै उनले भने ‘स्थानीय सरकारले यसमा ध्यान दिएकाे छ । खेलका कारण देशको प्रतिष्ठा उच्च बनाउन सकिन्छ ।’
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन बागमती प्रदेशसभा सदस्यहरु प्रेमप्रसाद पुलामी, कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितकुमार घलान लगायतको उपस्थितति रहेको थियो । बागमती गाउँपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा ए डिभिजन क्लबका ७ र मोफसलका ३ टोलीले भाग लिएका छन् ।
बागमती गाउँपालिकाले वडा नम्बर ४ झुरझुरेमा ३ करोड ६० लाख ८८ हजारको लगानी गरी प्यारापिटसहित सुविधासम्पन्न रंगशाला निर्माण गरेकाे छ । सातौं संस्करणकाे बागमती गोल्डकप पालिकाकाे आफ्नै रंगशालामा आयोजना गरेकाे हाे ।

