मकवानपुर । गजल मञ्च मकवानपुरले दुर्गा लामिछाने ‘नमुना’लाई श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मानद्वारा सम्मानित गरेको छ ।
मञ्चकाे २२१ औं नियमित गजलयात्रा अन्तरगत शनिबार भएकाे कार्यक्रममा गजल मञ्चकी संस्थापक उपाध्यक्ष लामिछानेलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । गजल क्षेत्रको संस्थागत विकास गर्दै उन्नयन र प्रवर्धनमा भूमिका खेलेको भन्दै शिक्षासेवी एवम् साहित्यसेवी भोला शिवाकोटीले स्थापना गरेको श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मान लामिछानेलाई प्रदान गरिएको हो ।
मञ्चका अध्यक्ष केशव समर्पण, साहित्यकार तुलसी घिमिरे, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, पुरस्कार संस्थापक शिवाकोटीले लामिछानेलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । मञ्चले गतवर्षदेखि उक्त सम्मान प्रदान गर्न सुरु गरेको हो । गत वर्ष गजलकार अनिश न्यौपाने ‘भावना’लाई उक्त सम्मान प्रदान गरिएको थियो ।
यस्तै नियमित गजल यात्राकै क्रममा शनिबार नै आयोजना गरिएकाे माध्यमिक तहस्तरीय गजल प्रतियोगितामा निकेश रुम्बा सर्वोत्कृष्ट घोषित भएका छन् । हेटौंडा–१४ मयुरधापमा रहेको जनज्योति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रुम्बा सर्वोत्कृष्ट हुदै मनमाया स्मृति गजल पुरस्कारबाट पुरस्कृत भएका छन् । नगद ५ हजार पाँच सय ५५ रुपैयाँ नगद राशीको उक्त पुरस्कार गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा स्थापना गरिएकाे हाे ।
२०७० सालदेखि हरेक वर्ष माध्यमिक तहस्तरीय गजल प्रतियोगितामार्फत सर्वोत्कृष्ट घोषित हुनेलाई उक्त पुरस्कार प्रदान गर्दै आएकाे मञ्च अध्यक्ष केशव समर्पणले जानकारी दिए । प्रतियोगितामा मकवानपुरका विभिन्न विद्यालयका १४ जना विद्यार्थीले भाग लिएका थिए । १४ मध्येबाट उत्कृष्ट ७ गजल छनौट गरी कार्यक्रममा वाचन गरिएकाे थियो । उक्त प्रतियाेगितामा गजलकार सानु खनाल र भावना सापकोटाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
मञ्चका अध्यक्ष समर्पणको अध्यक्षतामा तथा अग्रज कवि, गीतकार, गजलकार तुलसी घिमिरेको प्रमुख आतिथ्यतामा भएकाे २२१ औँ नियमित गजल यात्रामा देवराज तिवारी, विश्वनाथ सञ्जेल, धर्मराज स्याङ्तान, भवानी तिमल्सिना, सञ्जीत श्रेष्ठलगायतले गजल वाचन गरेका थिए ।

