मकवानपुर । दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को अवसरमा आयोजना गरिएकाे हेटौंडा आइडल गायन प्रतियाेगिताकाे लागि ३५ जना सहभागी भएका छन् ।
निर्माण व्यवसायी संघ मकवानपुरको आयोजना भएकाे हेटौंडा आइडलमा सहभागी ३५ जना प्रतिस्पर्धीले शनिबार अडिसनमा प्रस्तुति देखाए । सहभागी ३५ जना मध्ये १५ जना अडिसनमा बाट स्टेज प्रस्तुतिकाे लागि छनौट भएकाे प्रतियोगिता संयोजक दिपेश श्रेष्ठले जानकारी दिए । ६ फागुनदेखि १८ फागुनसम्म हेटौंडा १० स्थित टिसिएन चौरमा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा उनीहरुले स्टेजमा प्रतिभा देखाउने छन् ।
प्रतियोगिता संयोजक श्रेष्ठले हेटौंडा आइडलको ग्राण्ड फिनाली फागुन १८ गते हुने बताए । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कंडेलले हेटौंडा आईडलकाे उपाधी विजेताले ५१ हजार, फष्ट रनरअपले २५ हजार, सेकेण्ड रनरअपले १५ हजार रुपैंया प्राप्त गर्नेछन् । यस्तै २ जना रनरअपलाई जनही ५/५ हजार रुपैंया सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।
मकवानपुरका गायक कृष्णगोपाल महर्जन, सुनिता बुर्लाकोटी र ईश्वर खड्का रहेकाे हेटौंडा आइडलको निर्णायक समूहले आइडल टप १५ मा छनौट भएकाहरुमा अमित वर्तौला, विरसाना सिंघान, दिलप लामा, मेधना लामा, शुक्र महर्जन, सरोज स्याङबो, शुभम केसी सुगम, आरपी सापकोटा, प्रकाश वाइवा, रमेश घतानी, दिपा स्याङतान, भुवन घलान, अनिस वस्नेत, शान्तीमाया स्याङ्तान, शिवजी बुढाथोकी रहेकाे छन् ।
व्यापार महोत्सवमा निर्माण उपकरण तथा सामग्रीहरुको प्रदर्शनी एवम् बिक्री हुनेछन् । यस्तै बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधि प्रदर्शनी, कृषि उत्पादनको प्रदर्शनी तथा कृषि प्रतियोगिता, दैनिक राष्ट्रिय/स्थानीय कलाकारहरुको प्रस्तुती, शैक्षिक, घरजग्गा, अटो तथा खाना महोत्सव, मनोरञ्जनात्मक बाल उद्यान, नविनतम उपकरणहरुको प्रदर्शनी, नयाँ/नौलो प्रबिधिको प्रदर्शनी हुने आयोजकले जनाएकाे छ ।
महोत्सवका लागि २ सय ५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको संघले जनाएकाे छ । यस अघि संघले २०७१ सालमा महोत्सव आयोजना गरेको थियो ।

