मकवानपुर । बागमती प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्तरगत बुधबारकाे बैठकमा ५ वटा विधेयक पेश भएको छ । संशोधनका लागि दर्ता भएको ४ र प्रदेश प्रमुखबाट फिर्ता भएको एक विधेयक प्रदेश सभामा पेश भएको हो ।
बैठकमा स्वास्थ्य मन्त्री किरण थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेश गरे । यसैगरी युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद ऐन संशोधन विधेयक पेश गरेका छन् । त्यस्तै बैठकमा उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेश गरेकी छिन् ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभामा फिर्ता पठाएकाे प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनः विचारका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रदेश प्रमुख देवकोटाले औल्याएका कमजोरी र सुझावको प्रतिवेदन सहित संसदमा पेश गरेका हुन् ।
प्रदेश सभामा पेश गरिएका उक्त विधेयकहरु माथि विचार गरियाेस भनी गरिएकाे प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भएकाे छ । ती विधेयकहरु माथिकाे दफाबार छलफल पछि पारित हुनेछ । सो विधेयकहरु प्रदेशसभाको हिउँदे अधिवेशनमा पारित गर्ने तयारी रहेको बताइएकाे । प्रदेश सभाकाे अर्काे बैठक २४ माघ बिहीबार १ बजे बस्ने गरी सभामुख सानु कुमार पाठकले आजकाे बैठक स्थगित गरे ।

