मकवानपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरको अध्यक्षमा विनोद सुवेदी चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको प्याब्सन मकवानपुरको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलका प्रिन्सिपल सुवेदीलाई पुनः अध्यक्ष चयन गरेको हो ।
यसैगरी प्याब्सन मकवानपुरको वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की तथा उपाध्यक्षमा नविन केसी र लक्ष्मी श्रेष्ठ चयन भएका छन् । यस्तै सचिवमा विष्णुहरि सुवेदी, कोषाध्यक्षमा उपेन्द्र सुवेदी, सहसचिवमा रामबाबु सापकोटा र सहकोषाध्यक्षमा भरत सापकोटा एवम् सदस्यहरूमा रमिता पाण्डे, गिता आचार्य र रिना आचार्य रहेका छन् ।
२० औँ वार्षिक साधारणसभामा प्याब्सन मकवानपुरले ३ जना सञ्चारकर्मीलाई सम्मानित गरेको छ । कान्तिपुर टेलिभिजनमा कार्यरत बालकृष्ण अधिकारी,कान्तिपुर दैनिकका सुवास बिडारी र समृद्ध समाज दैनिकमा कार्यरत जमुना थिङलाई सम्मानित गरिएको हो । उनीहरू जनही ५ हजार रुपैयाँसहित सम्मानित भएका हुन् ।
यसैगरी कार्यक्रममा प्याब्सन मकवानपुरका संस्थापक अध्यक्ष ऋषिराम आचार्य तथा पूर्वअध्यक्षहरु आशिष श्रेष्ठ, मदन दहाल र अनिल पाण्डेलाई पनि सम्मान गरिएको छ । शिक्षकहरु अरविन्द कुमार झा, उमा मगर र सञ्जिव ठाकुरलाई सम्मान गरिएको छ ।
यसैबीच कार्यक्रमको उद्घाटन सत्रमा प्याब्सन केन्द्रीय अध्यक्ष डी के ढुङ्गानाले संस्थाले कस्ता नेतृत्व चयन गर्ने र कस्ताे नीति बनाउने भन्नेमा लागि परिरहेकाे बताए । मनाङ जिल्ला बाहेक ७६ वटा जिल्लाका प्याव्सन रहेकाे सक्रिय रहेकोमा नयाँ नेतृत्वले शिक्षा पेशाकाे भविश्यकाे सुनिश्चितता गर्नु पर्ने उनले बताए ।
‘प्याव्सन भित्र मात्र २१ लाख विद्यार्थी रहेकोमा करिव १ लाख विद्यार्थी एसइईमा सहभागी हुने भएकोले प्याब्सनले जिल्लामा तथ्यांक प्रणालीलाई व्यवस्थित गर्नुपर्छ’ उनले भने । शिक्षा विधेयक सबैकाे हितमा आउने बताउदै उनले भने ‘अन्तर्राष्ट्रिय स्तरकाे शिक्षा नेपालमा पनि दिन सकिने भएकोले बाहिरका विद्यार्थी नेपालमा आएर पढ्ने वातावरण सिर्जना गर्नेछाै ।’
यस्तै प्याब्सन बागमती प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले नितिगत कुराका प्याब्सनकाे लडाई केन्द्रीकृत मात्र भएकाेले गाउँपालिका, नगरपालिका, जिल्ला तथा प्रदेश तहकाे प्याब्सन पनि सक्रिय हुनुपर्ने बताए ।
प्याब्सन मकवानपुर अध्यक्ष बिनोद सुवेदीको सभाध्यक्षता तथा केन्द्रिय अध्यक्ष डीके ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सन बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

