मकवानपुर । मकवानपुरकाे हेटौंडा भएकाे दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधी काठमाडौंले हात पारेकाे छ । शनिबार प्रदेश राजधानी हेटौंडामा भएकाे फाइनलमा दोलखाकाे टाइगर टिम तिखालाललाई ३–० गोल अन्तरले पाखा लगाउँदै काठमाडौंकाे पशुपति शिवजी चित्लाङ फुटबल क्लबले उपाधीमा कब्जा जमाएकाे हाे ।
उपाधी रक्षासँगै काठमाडौंले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकाे छ भने उपविजेतामा चित्त बुझाएकाे दोलखाले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त हात पार्याे । काठमाडौंकाे लागि पहिलो हाफको २५ औँ मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाए । यसैगरी दोस्रो हाफको ७४ औँ मिनेटमा सुजितले पुनः एक गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । खेलकाे इन्जुरी समयमा काठमाडौंकै आयुष कुँवरले गोल गर्दै टिमकाे जित सुनिश्चित गरेका थिए ।
काठमाडौंका सुजित बुढाथाेकी फाइनलकाे म्यान अफ द म्याच, माेस्ट भ्यालुएवल प्लेयर तथा सर्वाधिक गोल कर्ता घोषित भइ विधागत पुरस्कार प्राप्त गरे । यसैगरी बेष्ट मिडफिल्ड काठमाडौंका विज्ञान खड्का, वेष्ट गोलकिपर काठमाडौका चन्द्र शेखर श्रेष्ठ, बेष्ट डिफेन्डर काठमाडौं जनक काेइराला घाेषित हुँदै नगर ५ हजार हात पारे । यसैगरी दोलखाका सुजन माफी बेष्ट फरवार्ड घोषित हुँदै नगद ५ हजार हात पारे । बेष्ट काेचकाे उपाधी काठमाडोंका रुपेश क्षेत्री घाेषित हुँदै ५ हजार प्राप्त गरे ।
काठमाडौंकाे पशुपति शिवाजी चित्लाङ फुटबल क्लबले लिगमा पहिलाे पटक सहभागिता जनाएकाे हाे । प्रतियोगित अन्तरगत बिहीबार भएकाे दोस्राे सेमिफाइनल खेलमा काठमाडौंले ललितपुर फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियाे । यस्तै बुधबारकाे पहिलाे सेमिफाइनल खेलमा दोलखाले सिन्धुली ब्लु अल्पाइन क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएकाे थियाे ।
प्रदेश फुटबल संघ बागमतीकाे आयोजनामा भएकाे प्रतियाेगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन फुटबल टिमकाे सहभागिता रहेकाे थियाे । रसुवा र रामेछाप जिल्लाको क्लबले भने एन्फामा आबद्ध नभएका कारण प्रतियोगितामा सहभागी जनाएनन् । मकवानपुरको पदमपोखरी युथ क्लबसहित, काठमाडौंको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पाइन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिबेसी युवा समाज, नुवाकोटको बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बिएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लबकाे प्रतियोगितामा सहभागिता रहेको थियाे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्य सहयोगमा सञ्चालन भएको प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती र हेटौंडा उपमहानगरपालिकाको सहयोग रहेको थियाे । गत वर्षकाे पहिलो संस्करणको प्रदेश लिग फुटबल प्रतियोगिता नुवाकोट जिल्लामा भएको थियो ।

