मकवानपुर । दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधी रक्षाका लागि काठमाडौं र दोलखा भिड्ने भएकाे छन् ।बागमती प्रदेश राजधानी हेटौंडामा बिहीबार भएकाे सेमिफाइनलबाट काठमाडौं फाइनलमा प्रवेश गरेसँगै दोलखासँग भेट पक्का गरेकाे हाे ।
प्रतियोगित अन्तरगत बिहीबार भएकाे दोस्राे सेमिफाइनल खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लबले ललितपुर फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । यसअघि प्रतियोगिता अन्तरगत बुधबारकाे पहिलाे सेमिफाइनल खेलमा दोलखाले सिन्धुलीलाई हराउँदै फाइनलमा स्थान बनाएकाे हाे ।
बिहीबारकाे सेमिफाइनलकाे पहिलाे हाफकाे तेस्राे मिनेटमा काठमाडौंले गोल गर्दै अग्रता कायम गरेकाे थियाे । यसैगरी खेलकाे ४२ औं मिनेटमा ललितपुरले जवाफी गोल गर्दै खेललाई १–१ गोलको बराबरी पुर्याएकाे थियो । खेलको ४८ औं मिनेटमा काठमाडौंकाे तर्फबाट १ गोल थप गर्दै टिमले २–१ को अग्रता लिएकाे थियाे । खेलको ६६ औं मिनेटमा काठमाडौंले पुनः गोल गरेकाे थियाे ।
प्रतियोगिताकाे म्यान अफ द म्याच काठमाडौंका यमन महर्जन घोषित भए । उनले टिमलाई फाइनल प्रवेश गर्न २ गोल गरेका थिए । म्यान अफ द म्याच हुँदै उनले ३ हजार रुपैयाँको नगदसहित ट्रफी हात पारे । बुधबारकाे पहिलाे सेमिफाइनल खेलमा सिन्धुलीको ब्लु अल्पाइन क्लबलाई २–१ गोल अन्तरले पाखा दोलखाले फाइनल यात्रा तय गरेकाे थियाे ।
प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । २० पुस शनिबार दिउँसो २ बजे हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा फाइनल खेल हुने आयोजक प्रदेश फुटबल संघले जनाएको छ ।
प्रतियोगितामा सुवा र रामेछाप जिल्लाको क्लब सहभागी भएनन् । मकवानपुरको पदमपोखरी युथ क्लबसहित, काठमाडौंको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पाइन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिबेसी युवा समाज, नुवाकोटको बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बिएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लबकाे प्रतियोगितामा सहभागिता रहेको थियाे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्य सहयोगमा सञ्चालन भएको प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती र हेटौंडा उपमहानगरपालिकाको सहयोग रहेको छ । गत वर्ष पहिलो संस्करणको प्रदेश लिग प्रतियोगिता नुवाकोट जिल्लामा भएको थियो ।

