मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा भएकाे सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । हेटौंडामा भएकाे दुर्घटनामा १ जना तथा बकैयामा भएकाे दुर्घटनामा २ जना घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
आइतबार हेटौडा १५ रातोमाटे स्थित पुर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौडातर्फ आउदै गरेको ना ७ ख ३७०९ नम्बरको तेल लोड ट्याङकरले हेटौडाबाट चुरियामाई तर्फ जादै गरेको ना.२ ह १८७५ नं.को अटोलाई ठक्कर दिदा अटो चालक कृष्ण केसी घाइते भएका छन् । हेटौडा २ काग्रेस चोक बस्ने ६० वर्षीय केसीलाई हेटौडा अस्पताल तर्फ ल्याइएकाे थियाे ।
टाउको र शरिरको बिभिन्न भागमा चोट लागि अचेत रहेका उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । ट्याङ्कर चालक सिन्धुली कमलामाई ६ बस्ने ४९ वर्षीय बुद्धी बहादुर स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
यसैगरी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ तिनतल्ले स्थित मदन भण्डारी लोकमार्गमा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ट्रक चालक हेटाडा– १४ मयुरधाप बस्ने ४० वर्षिय रबि थापा मगर र ट्रकमा सवार उनको छोरा १३ वर्षिय रिहान थापा मगर घाइते भएका हुन् ।
हेटौडाबाट फापरबारी तर्फ सिमेन्ट लोड लिई आउदै गरेको ना ५ ख ४६५६ नम्बरको ट्रक दुर्घटना हुँदा बाबुछोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । उनका अनुसार ट्रकमा अचानक ब्रेक फेल भई दुर्घटना भएको हो । .घाइते दुवै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

