मकवानपुर । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तरगत हेटौंडामा चेतनामूलक गीतिनाटक प्रस्तुत गरिएको छ ।
‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने नाराकासाथ मनाइदै गरिएको अभियानको बार्हौ दिन हेटौंडा-१०, बसपार्कमा शुक्रबार गीतिनाटक प्रस्तुत गरिएको हो । गीतिनाटकमा शारीरिक अशक्तता भएका महिला, छाउपडी, मानव बेचबिखन, एकल महिला, बोक्सीको आरोपलगायतका विषय प्रस्तुत गरिएको थियो ।
सामुदायिक प्रहरी उपसेवा केन्द्र बसपार्क, माइती नेपाल र लैंगिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको आयोजना तथा, साना हातहरु, शान्ति फाउन्डेसन, सुनिता फाउन्डेसन, ग्रीन फाउन्डेसन, मानवअधिकार संगठन, हिमराइट्स्, कोशिस, न्यानो आगन, मकवानपुर महिला समूह,महिला तथा बालबालिका र ज्येष्ठ नागरिक सेवाकेन्द्र प्रमुख संगीता लामा, अस्मिता नेपाललगायत संघसंस्थाको समन्वयमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाध्यक्ष फुर्वा दोर्जे लामाले यस्ता चेतनामूलक कार्यक्रममा संघसंस्थामात्र नभइ सबै जनता एकाकार हुनुपर्ने बताए । मकवानपुरका डीएसपी श्यामु अर्यालले नाटक सान्दर्भिक भएको बताउँदै हिंसाविरुद्ध प्रहरीले दैनिकजसो नागरिकमा चेतना फैलाउने गरेको बताए ।
सामाजिक विकास मन्त्रालय महिला विकास अधिकृत चन्दा ब्यञ्जनकार, गैरसरकारी संस्था मकवानपुर अध्यक्ष रमिला सापकोटा, मानव अधिकार संगठन अध्यक्ष शर्मिला श्रेष्ठ, फ्रेन्ड्स् हेटौंडाका बिनोद ढकाल, ट्राफिक प्रहरी केशब अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
यसअघि उक्त गीतिनाटक १९ मंसिरमा मनहरी गाउँपालिका-३ स्थित पशुपतिनाथ मावि र २० मंसिरम बकैया गाउँपालिकामा प्रदर्शन भएको थियो । उपकेन्द्र अध्यक्ष प्रदीप कडेलको सभाध्यक्षतामा तथा हेटौंडा १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यता भएको कार्यक्रमको सहजीकरण माइती नेपाल मकवानपुर संयोजक माया लामाले गरेकी थिइन् ।

