मकवानपुर । मकवानपुरको हेटौंडामा ‘बालबालिकासँग किताबका कुरा’ कार्यक्रम गरिएको छ ।
किताबघर हेटौंडाको आयोजनामा उक्त कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरपालिका ४, भैरबरोडमा रहेको किताबघरमा शुक्रबार ५ विद्यालयका बालबालिकाले ‘एउटै मात्र इभान’ किताबमाथि चर्चा गरेका थिए । हेटौंडाका दुईवटा सामुदायिक तथा तीन संस्थागत विद्यालयका विद्यार्थी सहभागी थिए ।
ज्ञानोदय बालवाटिका आवासीय मावि, हेटौंडा ५ कि अंशु लामा, सिद्धार्थ शिशु सदनका आदित्य पराजुली, बालजागृति इङ्लिस सेकेन्डरी स्कुलकी देविना सञ्जेल, सिद्धार्थ माध्यमिक विद्यालयकी स्वरुपा गुरागाइँ र बालज्योति माध्यमिक विद्यालयका शुभम् खनालले किताबका सकारात्मक तथा नकारात्मक पक्षबारे आफ्ना धारणा राखेका थिए । विशेषगरी पशु अधिकारबारे गम्भीर हुँदै जनावरलाई पनि मानवीय व्यवहार गर्न किताबले प्रेरित गरेको सहभागीहरूले बताएका छन् ।
हेटौंडामा पठन संस्कृतिको विकासका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको किताबघरले बालबालिकालाई सहभागी गराएर पहिलोपटक किताब चर्चा गरेको हो । प्रत्येक महिनाको तेस्राे शुक्रबार यो कार्यक्रमले निरन्तरता पाउने किताबघरका प्रबन्धक छवि अनित्यले बताए।
कार्यक्रममा ज्ञानोदय बालवाटिका आवासीय माविका संस्थापक प्रिन्सिपल श्यामकुमार बानियाँले यस्ता कार्यक्रमले बालबालिकालाई किताबप्रतिको अभिरुचि बढाउने बताए । उनले बालबालिकाले अध्ययनको बानी बिकास गर्दै गर्दा कहि कतै लेख्नु पर्ने तथा समय मिलाएर सामाजिक सन्जालहरुमा समेत आउनु पर्ने बताए ।

