मकवानपुर । पछिल्लो समय तिनपाँग्रे सवारी साधनका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त भएकाे मकवानपुरकाे हेटौडा उपमहानगरपालिकामा व्यवस्थापन केन्द्र सञ्चालनमा आएकाे छ । तिनपाँग्रे सवारी व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिकाले छुट्टै सेवा केन्द्र सञ्चालनमा ल्याएको हाे ।
उपमहनगरले सञ्चालनमा ल्याएको सेवा केन्द्रको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरिन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा रहेको तौलपुलबाट सोमबारदेखी उपमहानगरपालिकाले तिनपाँग्रे सवारी व्यवस्थापनको काम सुरु गरेको हो । सेवा केन्द्र उद्घाटनका क्रममा नगर प्रमुख लामाले केहि सवारीका लागि स्टिकर हस्तान्तरण गरेकी थिइन् ।
सेवा केन्द्रले हेटौंडा उपमहानगर भित्र बाह्य क्षेत्रबाट सञ्चालन अनुमति बिना आएका सवारी नियन्त्रणका लागि आवश्यक समन्वय गर्दै नगर क्षेत्र भित्रका लागि स्टपपर्मिटको व्यवस्था, स्टिकर टाँसको काम गर्ने बताइएको छ । बाह्य जिल्लाबाट आएका सवारीका कारण यहाँका तिनपाँग्रे सवारी चालक मारमा परेको गुनासो पछि उपमहानगले स्टिकर टाँस गरी स्थानीय सवारी व्यवस्थापनको काम गरेको तिनपाँग्रे सवारी व्यवस्थापन समितिका संयोजक सबिन न्यौपानेले बताए ।
२०७६ पुष ७ भन्दा अघि हेटौंडा र मकवानपुर चल्ने अनुमति पाएका तिनपाँग्रे सवारीलाई अहिले सेतो स्टिकर टाँस गरिने छ । यस अघि पहिलो चरणमा हरीयो, दोश्रो चरणमा पहेलो टाँस गरीएको थियो । अहिले उपमहानगरले थालेको काम पछि अब स्टिकर टाँस नभएका सवारीलाई कडाइका साथ नियन्त्रण गरिने बताइएको छ । उपमहानगरले पहिलो चरणमा हरियो स्टिकर १ हजार ६ सय ७६ वटा सवारीलाई वितरण गरेको थियो ।
एक महिनासम्म स्टिकर टाँसको समय दिइको छ अब पनि अटेर गरेमा ट्राफिक र नगर प्रहरीको समन्वयमा कडाइका साथ अनुगमन र नियन्त्रण गरीने उपमहानगरले जनाएको छ । स्टिकरटाँस सँगै केहि समयमा उपमहानगर क्षेत्र भित्र तिनपाँग्रे सवारीको रुट अध्ययन पश्चात बैज्ञानिक भाडादर निर्धारण गर्ने योजना उपमहानगरले बनाएको छ । सोमबार आफ्नो सवारीमा स्टिकर प्राप्त गरेपछि हेटौंडा–४ का टिकाबहादुर थापाले उपमहानगरले गरेको काम राम्रो भएको बताए । उनले बाहिरबाट आएका अटो मयुरीले बजारमा निकै समस्या बनाएका थिए अब यो नीतिले राम्रो गर्ने उनले बताए ।

