मकवानपुर । हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता भन्ने नाराका साथ साेमबारबाट सुरु भएकाे ३३ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान – २०२४ पहिलाे दिन साँझ हेटाैंडाकाे बुद्ध चाेकमा दीप प्रज्वलन गरिएकाे छ ।
हरेक वर्ष २५ नाेभेम्बरदेखि १० डिसेम्बरसम्म मनाइने अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अवसरमा दीपावली गरिएकाे हाे । मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धकाे जिल्ला सञ्जालकाे नेतृत्वमा आयाेजित दीपावलीमा अभियानकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे । जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले दीपालवी गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
अभियानकाे क्रममा माइती नेपाल मकवानपुरले हिंसा विरुद्ध हस्ताक्षर संकलन समेत गरेकाे छ ।
मानव बेचविखनबाट प्रभावितहरुको उद्दार, स्वदेश फिर्ती र सामाजिक पुनर्स्थापनाका लागि मानक सञ्चालन कार्यविधि अविलम्ब कार्यान्वयन गर्नका लागि सरकारसंग माग गर्दै हस्ताक्षर संकलन गरिएको माइती नेपाल मकवानपुर प्रमुख माया तामाङले बताइन् ।
म हिंसा सहन्न, हिंसा गर्दिन, हिंसाकाे प्रतिकार गर्छु भन्ने प्रतिवद्धता सहित सराेकारवालाहरुलगायत प्रहरी तथा विद्यार्थीहरुले अभियानमा ऐक्यबद्धता जनाएका थिए । १६ दिनसम्म संकलन गरिएकाे हस्ताक्षर अभियानकाे अन्तिम दिन प्रखुम जिल्ला अधिकारीलाई बुझाइने सञ्जालकाे सह संयाेजक तथा माइती नेपाल मकवानपुर प्रमुख तामाङले बताइन् ।
कार्यक्रममा सञ्जाल संयाेजक आरती पाठकले आफूहरु वर्षैभरी हिंसा विरुद्धकाे अभियानमा लागिरहेकाे भए पनि याे १६ दिन पर्वकाे रुपमा मनाउने गरिएकाे बताइन् ।

