मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषदमा ४ जना सदस्य नियुक्त गर्ने निर्णय गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ४ जनालाई परिषद्काे सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
परिषद्को सदस्यमा मकवानपुरका संगीत श्रेष्ठ, चितवनकी नविना खनिया, ललितपुरका रवी महर्जन र रामेछापकी कल्पना खड्कालाई नियुक्त गर्ने निर्णय गरिएकाे सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । ५ सदस्य रहने परिषदमा एक सदस्यको कार्यअवधि बाँकी रहेकाे छ । हाललाई परिषदमा रिक्त रहेकाे सदस्य पदमा ४ जनालाई नियुक्त गरिएको लामिछानेले बताए ।
मन्त्री लामिछानेका अनुसार बैठकले प्रदेश सुशासन केन्द्रको वार्षिक प्रतिवेदनलाई प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले प्रदेश सरकारका २ सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेलाई युवा तथा खेलकुद मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको समेत जिम्मेवारी तोकिएको प्रवक्ता सुरजचन्द्र लामिछाने बताए ।
यस्तै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ स्वीकृति प्रदान गर्ने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको छ ।

