मकवानपुर । ३३ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान – २०२४ साेमबारबाट सुरु भएकाे छ । २५ नाेभेम्बरदेखि १० डिसेम्बरसम्म मनाइने अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकाे पहिलाे दिन मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धकाे जिल्ला सञ्जालकाे नेतृत्वमा प्रहरीलाई ध्यानाकर्षण तथा अपिल पत्र बुझाइएकाे छ ।
हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता भन्ने नाराका साथ पहिलो दिन सेतो रिवन अभियान समेत सुरु गरिएकाे सञ्जालकाे सह संयाेजक तथा माइती नेपाल मकवानपुर प्रमुख माया तामाङले बताइन् । सञ्जालले मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्कालाई अनौपचारिक क्षेत्रका महिला श्रमिकहरूको अधिकार, सम्मानपूर्ण र हिंसामुक्त वातावरणको लागी संयुक्त अपिल–पत्र हस्तान्तरण गरिएकाे थियाे । ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रहरी प्रमुख खड्काले हिंसा पीडित प्रभावितलाई न्यायमा पहुंचको लागि सधै समर्थन हुने प्रतिबद्धता व्यक्त गरे ।
संजाल सदस्य मकवानपुर महिला समुहको कार्यक्रम अधिकृत निशा लामाले ध्यानाकर्षण पत्र वाचन गरेर सुनाएकी थिइन् । डिएसपी श्यामु अर्याल समेतको उपस्थिति रहेको कार्यक्रममा गैसस अध्यक्ष रमिला सापकोटा, कोशिश मकवानपुरको पैरवी अधिकृत सुनिरा लामा, माइती नेपाल फिल्ड सुपरभाइजर मन लामा,हिमराट्स मकवानपुर प्रमुख कुमारी वाइबालगायत सन्जालका सदस्यहरूको उपस्थिति रहेको सचिव तथा सेलर्डको कार्यक्रम संयोजक जगन्नाथ सुबेदीले जानकारी दिए ।

