मकवानपुर । मकवानपुर प्रहरीले विदेशी मुद्रा अमेरिकी डलर र युरो सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकीटोलबाट प्रहरीले ६२ लाख रुपैयाँ बराबरकाे उक्त विदेशी मुद्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गरी बरामद भएको रकम र पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । हेटौंडा–१, चौकीटोलस्थित प्रहरी चेकपोष्टमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०७६५ नम्बरको इभी गाडीलाई जाँच गर्दा भारतको उत्तर प्रदेश जालौन बस्ने ४० वर्षीय विजय सिंह कुशवाह, उत्तर प्रदेशकै गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक र भारतको राजस्थान चितोरगढ बस्ने ३२ वर्षीय राहुल कुमार माण्डावतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई शरीर तथा झोलाको तलासी गर्ने क्रममा विदेशी मुद्रा बरामद भएको प्रहरी उपरीक्षक खड्काले बताए । उनीहरुलाई चेकपोइन्टमा रोकी झोला खानतलासी गर्दा अमेरिकी डलर केही थान फेला परेको उनले बताए । खड्काका अनुसार कार्यालयमा ल्याएर शरीर खानतलासी गर्दा उनीहरुले लगाएकाे अन्डरवेयर भित्र अमेरिकी डलर र युरो बरामद भएकाे हाे । कुशवाहाको साथबाट १२ हजार अमेरिकी डलर, पाठकको साथबाट १४ हजार युरो र माण्डावतको साथबाट २० हजार अमेरिकी डलर बरामद भएको हाे ।
बरामद भएको अमेरिकी डलरको नेपाली बजार मुल्य ४३ लाख २० हजार ५१५ रुपैयाँ र युरोको १९ लाख ६९ हजार ५१५ रुपैयाँ गरी जम्मा कुल ६२ लाख ९० हजार ३५ रुपैयाँ हुने प्रहरीले जानकारी दिएकाे छ । पक्राउ परेकाहरुले काठमाडौंमा क्यसिनोमा खेलेर फर्किएको प्रारम्भिक बयान दिएकाे खड्काले बताए । पक्राउ गरिएकाहरु माथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय काठमाडौं पठाउने तयारी भइरहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।

