मकवानपुर । हेटौडामा रहेकाे जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडकाे १६ औं साधारण सभा शनिबार भएकाे छ । सहकारी अध्यक्ष वसन्तराज गौतमकाे अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य कुमारी मुक्तानकाे प्रमुख आतिथ्यतामा साधारण सभा भएकाे हाे ।
सदस्य संख्या ७८१ जना रहेकाे सहकारीकाे शेयर पुँजी एक करोड १३ लाख ४३ हजार ५०० रुपैंया रहेकाे छ । उक्त सदस्यहरुबाट हालसम्म ४ करोड २६ लाख ३१ हजार रुपैंया बचत रहेकाे साधारण सभामा अध्यक्ष गौतमले जानकारी दिए । सहकारीकाे जगेडाकाेषमा ३५ लाख ५ हजार र अन्य काेष १० लाख २५ हजार ३ सय रहेकाे बताइएकाे छ । वित्तिय तथा व्यवसायीक सेवा प्रदान गर्दै आएकाे सहकारीले सहकारी शिक्षा सहकारी अध्ययन भ्रमण तथा सम्मान कार्यक्रम गर्दै आएकाे गौतमले बताए ।
२०६६ सालमा तत्कालित डिभिजन सहकारी कार्यालय हेटौंडामा दर्ता भई संचालनमा आएकाे सहकारीले २०८० अषाढ मसान्तसम्म कुल ऋण लगानी ४ करोड ५७ लाख ७१ हजार ६ सय गरेकाे थियाे । आर्थिक वर्ष २०८०/०८१ मा ऋण लगानी २ करोड ८० लाख ४९ लाख रुपैंया गरेकाे सहकारीले उक्त अवधीमा २ करोड ३३ लाख ५८ हजार ५ सय रुपैंया ऋण असुली गरेको अध्यक्ष गौतमले जानकारी दिए । संस्थाकाे २०८१ आषाढ मसान्तसम्म ऋण लगानी ५ करोड ४ लाख ६२ हजार १ सय रहेकाे छ ।
गत आर्थिक वर्षमा ३७ लाख ७९ हजार ३ सय आम्दानी गरेकाे सहकारीले २१ लाख १० हजार ४ सय खर्च गरेकाे थियाे । उक्त आवमा संस्थाले संचालन मुनाफा १६ लाख ६८ हजार ८ सय भएकाे जनाएकाे छ । सहकारीले जोखिम व्यहाेर्ने काेषमा २ लाख ८० हजार खर्च गरी संस्थाले १३ लाख ८८ हजार ८ सय खुद बचत गरेकाे गौतमले जानकारी दिए ।
संस्थाले उपभोक्ताकाे माग अनुसार हेटौंडा, शिवम्, ऋद्धिसिद्धी र सिजी सिमेण्ट उपलब्ध गराउँदै आएकाे छ । एसइई उच्च शिक्षा र विश्वविद्यालयका परीक्षामा विशिष्ट श्रेणीमा उतिर्ण हुने शेयर सदस्यका छोराछोरी तथा संस्थाका असल वचतकर्ता र असल ऋणीलाई साधारण सभामा सम्मान गरिएकाे छ । यसैगरी संस्थाकाे स्थापना दिवसका दिन २० साउन २०८० मा हेटौडा १५ स्थित दिव्य सेवा निकेतानमा आश्रित जेष्ठ नागरिकलाई लत्ताकपडा र फलफूल वितरण गरेकाे थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा सहकारी जिल्लाका सहकारी मध्ये उत्कृष्ट भई सम्मानित भएकाे समेत अध्यक्ष गौतमले साधारण सभामा जानकारी गराएकाे थिए । संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा शेयर सदस्य संख्या ७८१ बाट ९०० पुर्याउने लक्ष्य लिएकाे जनाएकाे छ । यसैगरी शेयर पुँजी बृद्धिगरी १ करोड २३ लाख रुपैया तथा बचत संकलन बृद्धि गरी ४ करोड ९० लाख पुर्याइने लक्ष्य लिएकाे । यस्तै ऋण लगानी ५ करोड ८० लाख पुर्याइने लक्ष्य लिएकाे सहकारीले सिमेन्ट विक्री ३३ हजार ७९० बाट ४० हजार बाेरा पुर्याइने लक्ष्य लिएकाे बताइएकाे छ ।
आर्थिक कारोबारकाे सूचना प्रवाह एसएमएसबाट गराउँदै आएकाे सहकारीले प्रविधिलाई आत्मसात गर्दै शेयर, बचत तथा ऋण रकम भुक्तानी मोवाईल बैकिङ प्रविधिद्वारf गर्ने व्यवस्था गरिने संस्थाले जनाएकाे छ । कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन सहकारीका अध्यक्ष बसन्तराज गौतमले प्रस्तुत गरेका थिए, सचिवको प्रतिवेदन दीर्घ नारायण भट्टराईले र कोषाध्यक्ष जयराम घितालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य जगन्नाथ ढकाल, असल बचतकर्ता तर्फ राजकुमारी गुप्ता, असल ऋणी अम्बर बहादुर पाख्रिन, उत्कृष्ट बाल बचतकर्तामा निर्भाणा कार्की र उत्कृष्ट अङ्क हासिल गर्ने शेयर सदस्यका सन्तानलाई पुरस्कृत गरेको थियो ।

