मकवानपुर । १६ मङ्सिरमा हुने स्थानीय तह निर्वाचनकाे लागि भाेली आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने भएका छन् । निर्वाचन आयोगकाे उपनिर्वाचन कार्यतालिका अनुसार देश भरका स्थानीय तहका ४४ रिक्त पद मा प्रतिस्पर्धा गर्न उम्मेदवारी दर्ता गर्ने छन् ।
मकवानपुर जिल्लाकाे १ पदकाे लागि उपनिर्वाचन हुने भएकाे छ । जिल्लाकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ काे वडाध्यक्ष पदकाे लागि उपनिर्वाचन हुदैंछ । जिल्लामा क्रियाशील राजनीतिक दलहरुले उक्त पदकाे लागि उम्मेदवारहरुकाेको टुङ्गो लगाएका छन् । गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको थियाे ।
नेपाली कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस मकवानपुरले जनाएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राजेश नगरकोटीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले रविन प्रधानलाई उम्मेदवार बनाउने भएकाे छ ।
तीनदलसँगै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार टुङ्गो लगाएका छन् ।रास्वपाले आशा वीरबललाई उम्मेदवार बनाउने निर्णय गरेको हेटौँडा नगर सभापति ध्रुवबहादुर विष्टले बताए । एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाउने निर्णय उक्त पार्टीले जनाएकाे छ ।
दलहरुले उम्मेदवार चयन गरेसँगै चुनावी अभियानलाई तीव्रता दिएका छन् । उपनिर्वाचनकाे मिति नजिकिएसँगै उक्त वडामा चुनावी सरगर्मी बढेको छ ।
त्रिपक्षिय प्रतिष्पर्धा
२०७९ सालकाे स्थानीय तह निर्वाचनमा प्रमुख तीन दलबीच नै प्रतिस्पर्धा भएको हेटौडा १२काे वडाअध्यक्ष पदमा उपनिर्वाचनमा समेत तीनै दलबीच कडा प्रतिस्पर्धा हुने आकँलन गरिएको छ ।
गत निर्वाचनमा माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत प्राप्त गरी वडाध्यक्ष पदमा विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३ सय ४० मत प्राप्त गरेका थिए । यस्तै एमालेका राजेश नगरकोटीले १ हजार ३ सय २५ मत प्राप्त गरे ।
गतनिर्वाचनमा उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन् । विजय भएका माओवादीका घलान र निकटतम प्रतिद्वन्दी काँग्रेसका तिवारी बीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्राे स्थानमा रहेका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो ।
गतनिर्वाचनमा तीनै दलका उम्मेदवारले पाएको मतलाई हेर्दा चुनावमा कसले बाजी मार्छ अनुमान लगाउन सक्ने अवस्था भने देखिदैन् । अन्य दलहरुले समेत उम्मेदवारकाे टुङ्गो लगाएकाेले उपचुनाव निकै प्रतिष्पर्धी हुने देखिन्छ ।
थपिए १५ सय मतदाता
उपनिर्वाचनमा हेटौंडा–१२ मा १ हजार ५ सय ८८ मतदाता थपिएका छन् । निर्वाचन आयोगले आगामी उपनिर्वाचनमा हेटौंडा–१२ को वडा अध्यक्ष पदका लागि ८ हजार ५३ मतदाता कायम गरेको छ । जसमा पुरुष ३ हजार ८ सय ७८, महिला ४ हजार १ सय ७४ र अन्य १ जना मतदाता कायम गरिएको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा उक्त वडामा ६ हजार ४ सय ६५ मतदाता कायम गरिएको थियो । आयोगले हेटौंडा–१२ मा आगामी उपनिर्वाचनका लागि २ वटा मतदानस्थल कायम गरेको छ भने ९ वटा मतदान केन्द्र कायम गरेकाे छ ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना
स्थानीय तहको उपनिर्वाचनकाे लागि हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार उपनिर्वाचनकाे लागि १२ नम्बर वडा कार्यालय भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले वडा कार्यालय भवनमा कार्यालय स्थापना गरिन् ।
यस्तो छ निर्वाचन कार्यतालिका
निर्वाचनका लागि ३० कात्तिकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकाे छ । मंसिर २ बाट निर्वाचनका कार्यक्रम संचालन गरिने छ । मंसिंर १६ मा मतदान हुने निर्वाचन आयोगको कार्यक्रम तालिका रहेको छ । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छभने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । त्यसपछि मतगणनालगायतकाे प्रक्रिया हुनेछ ।
विभिन्न कारणले रिक्त रहेका जिल्ला समन्वय समिति प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुदैंछ ।
आइतबारबाट निर्वाचन आचार संहिता लागु हुने
स्थानीय तहको उपनिर्वाचनका लागि २ मङ्सिर आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुने निर्वाचन आयोगले जनाएकाे छ ।
आयोगको शनिबारको बैठकले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम उपनिर्वाचन हुने जिल्ला भित्र निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।
निर्वाचन आचारसंहिता लागू भएको जिल्लाको निर्वाचन हुने स्थानीय तह बाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु गराउनु परेमा निर्वाचन आयोगलाई पूर्व जानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले प्रकाशित गरेकाे विज्ञप्तिमा उल्लेछ ।

