मकवानपुर । मकवानपुर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । मन्त्रिपरिषदबाट स्वीकृत नगरी बैदेशीक भ्रमणमा गएको विषयमा विवादमा तानिएपछि अधिकारीले राजीनामा दिएका हुन् ।
अधिकारी केही दिनअघि भ्रमण स्वीकृत नगरी जापान गएका थिए । जापान जाँदा तीन जना असम्बन्धित व्यक्तिलाई पनि सँगै लैजान भूमिका खेलेको आरोप अधिकारीमाथि लागेको छ । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था रहेकाे छ । यसका साथै विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था समेत रहेकाे छ ।
उक्त विवादमा मुछिएपछि बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएर पत्रकार सम्मेलन गर्दै अधिकारीले अनुसन्धानलाई सहयोग गर्न राजीनामा दिएकाे बताए । अधिकारीसँगै जापान गएका असम्बन्धित भनिएका तीनै जना अहिले हनुमान ढोका प्रहरीको नियन्त्रणमा रहेकाे समेत उनले जानकारी दिए ।

