मकवानपुर । नेपालीहरुकाे दोस्राे ठुलाे पर्व तिहार मंगलबार सुरु भएकाे छ । आज कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार परेकाे छ । कागको पूजा गरी यो पर्व मनाइँदै छ ।
सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता रहेकाेले बुधबार काग तिहार मनाइदैं छ । यमराजको दूतका रुपमा पुजिने कागलाई आज बिहान मनपर्ने खानेकुरा खान दिएर काग तिहार मनाउने चलन छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।
काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ । त्यसैले पनि काग घर वरिपरी आइ कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने गरिन्छ । आजको दिन कागलाई दही–भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास समेत रहिआएको छ ।
काग तिहारकाे दिन कागप्रति श्रद्धा प्रकट गर्दै पूजन गरेमा पितृले सोझै पाउँछन् भनिन्छ । अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ खुशी हुन्छन् भन्ने मान्यता छ । यमराज काग तिहारदेखि मर्त्यलोकमा पाँचदिनसम्म विचरण गर्न आएका हुन्छन् भन्ने जनविश्वासमा यो पाँचदिनलाई यमपञ्चक भन्ने गरिन्छ ।
कागलाई चतुर पन्छीका रुपमा लिइन्छ । फोहर कसिङ्गर र सिनुसमेत खाने भएकाले वातावरण स्वच्छ राख्न कागले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तिहार हिन्दुहहरुको एक विशेष चाड कात्तिक शुक्ल पक्षको द्धितीया तिथिको भाइटिकासम्म पाँच दिन मनाइन्छ । यो पर्व पाँच दिन सम्म मनाइने भएकोले यस चाडलाई विशेष रुपमा हेरिन्छ ।
काग तिहारकाे दिन काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।
यस वर्ष तिथिको घटबढका कारण मंगलबार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाेले यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको छ । लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धन्वन्तरी पर्व पनि मङ्गलबार नै मनाइएको छ ।
यसरी सुरु भयो तिहार मनाउँने प्रचलन
पौराणिक कथा अनुसार सुर्यको छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्विकार गरी बहिनीको घरमा गई रमाइलो गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यसरी यमुनाको घरमा बस्दा यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भनेपछि उनले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाई दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाईको आयु, कीर्ति सदा बृद्धि होस्’ भन्ने वरदान मागेकी थिइन् ।
यमराजले पनि ‘तथास्तु’ भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले पुजा गर्ने गराउनेहरुको सधै उन्नती हुने तथा कीर्ति पनि फिँजिने वर दिई बहिनीसँग बिदा भई गएका थिए । त्यस समयबाट यो पर्व मानिदै आएको छ । तिहारले पशुपक्षी तथा मानवबीचको प्रगाढ सम्बन्धको चित्रित गर्छ भने अर्कोतिर दाजुभाई तथा दिदी बहिनीबीचको आत्मीय र पवित्र स्नेर्ह वं सम्बन्धलाई पनि उजागर गर्छ ।
तिहारकाे पाँच दिनमा साँझमा घरको मुलढोकामा यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वासले घर–घरमा बत्ती बालेर दिपावली गर्ने गर्छन् ।जुन घरमा यसरी दिपावली हुन्छ त्यसघरमा कहिल्यै अपमृत्यु र अल्पमृत्यु हुँदैन भन्ने मान्यता चलिआएको छ । यमपञ्चकमा काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाई पुजा गरिन्छ । तिहार पिङ खेलेर, देउसीभैलो खेलेर र दीपावली गरी मिष्ठान्न भोजन गरेर रमाइलो गरी मनाइन्छ ।

