मकवानपुर । मकवानपुर जिल्लामा रातिको ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै तिहारमा राति ९ बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको छ ।
राती ९ बजे पश्चात् देउसी-भैलोलगायत सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम नगरी चार्ड पर्वलाई शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा मनाउन जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले जानकारी दिए ।
यसैगरी सूचनामा प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाएकोले विक्री वितरण गरेको पाइएमा प्रचलित कानून कानून बमोजिम कारबाही हुने उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी तिर्थ चिलुवालका अनुसार तिहार तथा छठ पर्वलाई सौहार्द्पूर्ण वातावरणमा मनाउन र शान्ति सुरक्षालाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिको शुक्रबारकाे बैठकले निर्णय गरेको बताए ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार चाडपर्व लक्षित सुरक्षाकर्मी परिचालन गरी गस्ती समेत बढाइएको छ । चाडवाड मनाउने नाममा व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपार्न आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिपावली, नेपाल सम्वत् ११४५, छठ लगायतका राष्ट्रिय पर्वको शुभकामनासहित पर्वहरु शान्तिपूर्ण एवं सौहार्दपूर्ण वातावरणमा मनाउन अनुरोध गरेको छ ।

