धुलिखेल (काभ्रे) । काभ्रेको धुलिखेलमा बागमती प्रदेशका पत्रकार लक्षित पाँच दिने श्रव्यदृश्य सम्पादन कार्यशाला सोमबारदेखि सुरु भएको छ। बागमती प्रदेश संचार रजिस्ट्रार कार्यालयको आयोजनामा सुरु कार्यशालामा प्रदेशका विभिन्न जिल्लाका २० जना पत्रकारहरुले सहभागिता जनाएका छन् ।
कार्यशालामा मकवानपुरबाट ५ जना, ललितपुर, काठमाडौं, काभ्रेपलाञ्चोक र भक्तपुरबाट ३/३ जना, रामेछाप,नुवाकोट र सिन्धुलीबाट १/१ जना र सिन्धुपाल्चोकबाट २ जना रहेका छन्। कार्यशालामा मुख्यतया भिडियो सम्पादन गर्ने तरिका सिकाइने जनाईएको छ । तालिमलाई प्रशिक्षकद्वय नसना बज्राचार्य र शिव पुरीले सहजीकरण गर्नेछन् ।
बागमती प्रदेशका पत्रकारहरुलाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ तालिम आयोजना गरिएको संचार रजिष्ट्रार रेवती सापकोटाले बताए। “दृश्यले धेरै कुरा बताउनु पर्छ । हामीले भिडियोमा काम गर्दा भिडियोलाई कसरी बढी भन्दा बढी अर्थपूर्ण बनाउने भन्ने कुरा यस कार्यशालामा सिकाइने छ” सापकोटाले भने । विशेष गरी श्रव्यदृश्य सम्पादन कार्यशालाले पत्रकारहरुलाई गुणस्तरीय भिडियो सामग्री तयार पार्न सक्षम बनाउने सापकोटाले बताए ।
यस अघि कार्यालयले गत साउन १५ गते सूचना प्रकाशित गरी इच्छुक पत्रकारहरुलाई आवेदनका लागि आह्वान गरेको थियो। श्रव्यदृश्य सम्पादन कार्यशालाका साथै अन्य विभिन्न विषयहरुमा पनि तालिमहरु संचालन गर्ने योजना कार्यालयको रहेको छ । तालिमहरुमा अनलाइन पत्रकारिता, तथ्यांक आधारित पत्रकारिता, मोबाइल पत्रकारिता, समाचार लेखन तथा सम्पादन कार्यशाला, रेडियो प्राविधिक कार्यशाला र मिडिया संचालकहरुका लागि विज्ञापन कला सम्बन्धी कार्यशाला समावेश छन्।
कार्यालयले प्रदान गर्ने उक्त तालिमहरुले बागमती प्रदेशका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नुका साथै आधुनिक प्रविधिसँग परिचित गराउने लक्ष्य रहेको रजिष्ट्रार सापकोटाले बताए । कार्यशालामा सहभागीहरुले यस प्रकारको तालिमबाट आफूहरुले धेरै कुरा सिक्न पाउने र यसले आफ्नो पेशागत दक्षता बढाउन मद्दत गर्ने आशा व्यक्त गरेका छन् ।

