मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा हाडीखोला युथ क्लब र शहीद स्मृति क्लब सेमिफाइनल प्रवेश गरेकाे छ । योसँगै जिल्ला लिगमा सेमिफाइनल समिकरण पुरा भएको छ ।
साविक विजेता न्यू डाँफे क्लबलाई हराउँदै मनहरी गाउँपालिकाको हाँडीखाेला युथ सेमिफाइनलमा स्थान बनाएकाे हाे । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको क्वाटरफाइनलमा न्यू डाँफेलाई ३–१ गोल अन्तरले हाँडीखोला विजयी भएकाे हाे ।
न्यू डाँफेका लागि ४० औं मिनेटमा सुशान्त तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा हाँडीखोलाले ३ गोल गर्दै खेलको निर्णय आफ्नो पक्षमा पार्न सफल भयो । खेलको म्यान अफ द म्याच हाँडीखोलाका उत्सव खड्का घोषित भए । हाँडीखोला समूह ‘घ’ को विजेता र न्यू डाँफे समूह ‘ख’ को उपविजेताको रुपमा क्वाटरफाइनल पुगेका थिए ।
मंगलबार नै भएको अन्तिम क्वाटरफाइनल खेलमा जित निकाल्दै बामगती गाउँपालिकाको शहिद स्मृति क्लब सेमिफाइनल पुगेको छ । उसले गोर्खा ब्वाइज क्लवलाई २–० गोल अन्तरले हराएकाे हाे । खेलमा गोर्खा ब्वाइजले केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो । खेलको म्यान अफ द म्याच बागमतीका मेसक राई घोषित भए । गोर्खा ब्वाइज समूह ‘ख’ को विजेता र सहिद स्मृति समूह ‘घ’ को उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको थियो ।
सोमबार भएको क्वार्टरफाइनल खेलमा विजयी हुँदै एफसी पोताला र पदमपोखरी युथ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । न्यू कम्बाइन क्लबलाई २–१ गोलले हराउँदै एफसी पोताला सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै, सक्षम युवा क्लबलाई टाइब्रेकरमा हराउँदै पदमपोखरी युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ । १४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल १२ असोजमा हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्ने छन् ।