मकवानपुर । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले पद तथा गोपनीयताको सपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा मुख्य न्यायाधिवक्ता काफ्लेले शपथ लिएका हुन् ।
उच्च अदालत पाटनका मुख्य न्यायाधिश नृपध्वज निरौलाले काफ्लेलाई शपथ ग्रहण गराएका थिए । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र मुख्यमन्त्री बहादुर सिंह लामाको उपस्थिति उनले सपथ लिएका हुन् । २ भदौमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।
२५ वर्षदेखी कानून व्यवसायीको रुपमा कार्य गर्दै आइरहेका दोलखा तामाकोशी गाउँपालिका–३ का स्थायी बासिन्दा काफ्लेलाई मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
नेपाल बार एसोसिएसनको सदस्य काफ्ले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार रहेका थिए ।

