मकवानपुर । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईले प्रदेशमा एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्न निर्देशन दिएका छन्।
मंगलबार हेटौंडामा एमालेका नेता भट्टराईले मन्त्रीहरूलाई प्रदेशप्रति देखिएको नकारात्मक धारणा हटाउन उत्कृष्ट कार्यसम्पादन गरेर जनतामा आशा जगाउन गरी कार्य गर्न आग्रह गरे। उनले मन्त्रीहरूलाई आफ्नो योग्यता, क्षमता र इमान्दारिता प्रदर्शन गर्ने अवसर आएको बताउँदै जनतासँग नजिक रहेर काम गर्न सुझाव दिए।
एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अहिलेकाे सरकार निर्वाचन अघिसम्म रहने बताउँदै मन्त्रीहरुले “सुनौलो बागमती” निर्माणको लागि कार्यकुशलता पूर्वक कार्य गर्नु पर्ने बताए । प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिए।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले वर्तमान गतिविधिबारे जानकारी गराए। कार्यक्रममा एमालेका वरिष्ठ नेताहरू पार्वत गुरुङ, डोरमणि पौडेल, बाबुराम थापा, दावादोर्जे लामा लगायतकाे उपस्थिति रहेको थियो।

