मकवानपुर । मकवानपुरगढी मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमल्टारमा साउन २५ गते बिहीबारबाट श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएकाे छ ।
महायज्ञकाे तयारी पुरा भएको मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेले बताए । महायज्ञमा युवा पण्डित कपिलदेव भट्टले कथा वाचन गर्ने घिमिरेले बताए । जलेश्वर महादेव मन्दिरको पञ्चमुखी शिवलिङ्ग स्थापना तथा बुद्ध मूर्ति निर्माण कार्यका लागि महायज्ञ आयोजना गरिएको उनले जानकारी दिए ।
घिमेरेका अनुसार हिन्दुधर्मालम्बी र बौद्ध धर्मालम्बीले महादेव र गौतम बुद्धको पुजा गर्ने स्थान एकै क्षेत्रमा रहोस् भन्ने साझा उद्देश्यले महायज्ञको आयोजना गरिएको हाे । २५ गते विहान ८ बजे कलश यात्रा गर्ने र १२ बजे उद्घाटन हुने महायज्ञ भाद्र १ गते समापन हुने जनाइएको छ ।
महायज्ञको उद्घाटन मकवानपुर प्रतिनिधि सभा क्षेत्र १ का सदस्य महेश कुमार बर्तौलाले गर्ने कार्यतालिका रहेको आयोजकले जनाएको छ । देशव्यापी धार्मिक अनुष्ठान महाअभियान १००८ भागवत संकल्पका साथ महायज्ञ आयोजना गरिएको जनाइएको छ ।

