मकवानपुर । बागमती प्रदेश सरकारले लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएकाे छ । प्रदेश सरकार २५ साउनबाट सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने तयारीमा रहेकाे छ।
प्रदेशकाे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन मार्फत खाेप संचालन गर्ने जानकारी दिएकाे हाे । गाई भैसीमा लाग्ने लम्की स्किन रोगको प्रभावकारी उपचार नभएकाले २५ साउन शुक्रवारदेखि श्रावण ३० गतेसम्म बागमती प्रदेशका १३ वटै जिल्ला खाेप अभियान सञ्चालन गर्ने मन्त्रालयले जानकारी दिएकाे छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले लम्की स्किन रोगको नियन्त्रण प्रयासबाट किसानको समस्या केहीहदसम्म समाधान हुने बताए। ‘प्रदेश सरकार किसानहरूको आर्थिक समृद्धिका लागि यस्ता प्रयासलाई निरन्तरता दिने प्रतिबद्ध छ” उनले भने ।
मन्त्रालयले चालु आर्थिक वर्ष प्रदेशका ७६ हजार २ सय ७५ गाई भैसीलाई खोप लगाउने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा प्रदेशका ४८ हजार ३ सय ६४ र मकवानपुरका ३१ हजार ६ सय ६ खोप लगाइएकाे थियो। लम्की स्किनका कारण गत वर्ष ११ हजार २ सय १८ पशुको मृत्यु भएको थियो । नेपालमा कूल ७५ अर्ब ४८ करोड रुपैयाँको आर्थिक क्षति भएको अनुमान गरिएको छ।
यो रोग २०७७ साल असारमा प्रथम पटक नेपालमा देखापरेकाे थियाे । हाल ७७ वटै जिल्लामा राेग देखा परेकाे छ । रोगका कारण सामन्यतया १० देखि २० प्रतिशत पशुहरु बिरामी हुने र करिब १ देखि ५ प्रतिशतसम्म मृत्युदर देखिन सक्ने कार्यक्रममा जानकारी दिइएकाे थियाे ।
लम्पी स्किन रोगका कारण गाईभैंसीमा उच्च ज्वरो, शरीरमा गिर्खाहरू, सुन्निने जोर्नी र खुट्टा, थुनेलो देखापर्ने र दुध उत्पादन ८० प्रतिशतसम्म घट्ने गरेको छ। प्रत्येक जिल्लामा स्थानीय तहसँगकाे समन्वयमा पशु सेवा कार्यालयहरु मार्फत खोप कार्य संचालन गरिने भएकाे छ । प्रत्येक स्थानीय तहहरुको लागि आवश्यकता अनुसार स्थानीय तहको समन्वयमा भ्याक्सिनेटरहरु समेत नियुक्ति गरिएको बताइएकाे छ ।

