मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले चालु आर्थिक वर्षबाट कृषि ऋणमा ब्याज अनुदान दिन सुरु गर्ने बताएका छन् ।
बुधबार मन्त्रालय अन्तरगतकाे कृषि विकास निर्देशनालयले गरेकाे वार्षीक प्रगति समीक्षा गोष्ठीमा उनले यस्ताे बताएका हुन् । गोष्ठीमा मन्त्री श्रेष्ठ श्रेष्ठले कृषि क्षेत्रमा बजेट बढाउनु पर्ने बताउँदै पहल गर्ने जानकारी दिए ।
कृषि विकास निर्देशनालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले कार्यालयको उपलब्धि सन्तोषजनक रहेको तर अझै सुधार गर्न बाँकी रहेकाे बताए। उनले नयाँ मोडलबाट कार्य सञ्चालन गर्न लागिएको जानकारी दिए।
साउन २२ र २३ गते भएकाे गोष्ठीमा निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठले गत वर्षको प्रगति प्रस्तुतिसँगै यस वर्ष थप प्रगति हासिल गर्न उपलब्ध स्रोत साधनको उचित प्रयोग गर्नुपर्ने बताए। कार्यक्रममा कृषि क्षेत्रको बजेट वृद्धि, सेवा प्रवाह सुधार, पारदर्शिता र सुशासनमा जोड दिनुपर्ने विषयमा छलफल भएकाे थियाे ।
सहभागीले रैथाने बालीको प्रवर्द्धन र नयाँ कार्यक्रम मोडेलको कार्यान्वयनमा जोड दिएका थिए। निर्देशनालय मातहतका १९ वटा कार्यालयहरूले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका गोष्ठीले आगामी वर्षका लागि रणनीति तय गर्न मद्दत पुग्ने आयोजकले जनाएकाे छ ।

