मकवानपुर । मकवानपुरकाे हेटाैंडामा तेक्वान्दो खेलका ६ जना खेलाडी सम्मानित गरिएकाे ५ । तेक्वान्दोका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आइतबार हेटौंडा–१७, हटियामा सम्मान गरिएको हाे ।
४ जना छात्रा र २ जना छात्र गरी ६ जनालाई सम्मान गरिएकाे क्रियटिभ तेक्वान्दो डोजाङले जनाएको छ । सम्मानित हुनेमा चौथो संस्करणको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दोमा ३९ केजी तौल समूहमा प्रथम, पुम्से विधामा प्रथम र चन्द्रागिरी राष्ट्रिय प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका आदित्य पराजुली, खुला राष्ट्रिय तेक्वान्दोमा २० केजी तौल समूहमा प्रथम र चन्द्रागिरी तेक्वान्दोमा २० केजी तौल समूहमा दोस्रो र पुम्से विधामा प्रथम आरुषी पराजुली रहेका छन् ।
यसैगरी ४१ केजी तौल समूहमा तृतीय, ३८ केजीतौल समूहमा तृतीय र पुम्से विधाम द्वितीय आदित्य ढकाल, पुम्से विधामा तृतीय रिवानी अधिकारी र महिलातर्फ ३२ केजी तौल समूहमा प्रथम इच्छा विष्ट सम्मानित गरिएकाे क्रियटिभ तेक्वान्दो डोजाङले जानकारी दिएकाे हाे । चन्द्रागिरी तेक्वान्दोमा तृतीय प्रिन्स ढकाललाई पनि सम्मान गरिएको छ । प्रतियोगिता आयोजनाकाे लागि सहयोग गर्ने सहयोगी दाताहरुलाई मायाको चिनो प्रदान गरिएको छ । उनीहरूलाइ नगर प्रमुख मिना कुमारी लामाले सम्मना प्रदान गरेकी थिइन् ।
नगर प्रमुख लामाले बंगलादेशको राजधानी ढाकामा हुने अन्तर्राष्ट्रिय तेक्वान्दोमा सहभागिताकाे लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरिन् । २०७७ साल असोज ४ गते हरिबहादुर महतले हेटौंडा १७ मा जग्गा उपलब्ध गराएर २०७८ सालमा वडाको ४ लाख र जनश्रमदानबाट १ लाख २६ हजार गरी ५ लाख २६ हजारको पिलरमात्र उठाउने काम भएकाले नगरपालिकामार्फत् बजेट लगानी गर्ने उनले बताइन् ।
राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आय–व्यय सार्वजनिक
हेटौंडा–१७, हटियामा भएको पहिलो संस्करणको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । क्रियटिभ तेक्वान्दो डोजाङको आयोजनामा गत वर्षको कार्तिक १७ र १८ गते भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आय–व्यय विवरण करिब ९ महिनापछि सार्वजनिक गरिएको हो ।
आइतबार हटियामा भएकाे कार्यक्रममा दुई दिन सञ्चालन भएको प्रतियोगितामा करिब १० लाख रुपैयाँ खर्च भएको डोजाङ प्रमुख भोजराम पराजुलीले सार्वजनिक गरे । डोजाङ प्रमुख पराजुलीले प्रतियोगितामा ९ लाख ९४ हजार ४ सय ७५ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरेका थिए । यस्तै, प्रतियोगिता संचालनकाे लागि विभिन्न क्षेत्रबाट ९ लाख २१ हजार ५ सय रुपैयाँ सहयाेग प्राप्त भएकाे उनले जानकारी दिए ।
प्रतियोगितामा मकवानपुर र बाहिरी जिल्लाका खेलाडीहरुको दर्ता शुल्कबाट २ लाख ७२ हजार ५ सय रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्बाट २ लाख रुपैयाँ, हेटौंडा उपमहानगरपालिकाबाट १ लाख रुपैयाँ, खेलकुद विकास समिति हेटौंडा–१७ तथा वडा कार्यालयबाट ८५ हजार रुपैयाँ प्राप्त भएको आय–व्यय विवरणमा उल्लेख छ ।
यस्तै, नारायण सिंह थिङबाट ५० हजार रुपैयाँ, १६ नम्बर वडा कार्यालय र कृष्णप्रसाद पराजुलीबाट २०–२० हजार रुपैयाँ, शिवम् सिमेन्ट र पोषक ब्रिडरबाट १५–१५ हजार रुपैयाँ प्राप्त भएको छ । प्रेमबहादुर गुरुङबाट १० हजार ५ सय रुपैयाँ, केशवबहादुर कार्की, सागर कटुवाल, प्रदीप अर्याल र डिस मिडिया नेटवर्कबाट १०–१० हजार रुपैयाँ प्राप्त भएको जनाइएको छ ।
प्रतियोगिता आयोजना गर्दा खेलाडीको आवासका लागि १ लाख ६१ हजार रुपैयाँ, टिमकोच र टिम म्यानेजरका लागि १६ हजार १ सय रुपैयाँ, खानामा २ लाख २५ हजार २ सय रुपैयाँ, खेल सामग्रीमा ५२ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । छपाइमा १० हजार रुपैयाँ, मायाको चिनो र फ्रेममा ३४ हजार रुपैयाँ, स्पिकरमा १२ हजार रुपैयाँ, चौर मर्मतमा ३३ हजार ७ सय ५० रुपैयाँ खर्च भएको जनाइएको छ ।
यसैगरी मेडलमा ३० हजार रुपैयाँ, प्रमाणपत्रमा २१ हजार ३ सय ५० रुपैयाँ, खेलाडीको पुरस्कारमा ३८ हजार रुपैयाँ, शिल्डमा ३२ हजार ८ सय रुपैयाँ, पानीमा १२ हजार ६ सय रुपैयाँ, रेफ्री भत्तामा ९३ हजार रुपैयाँ, यातायातमा १६ हजार ५ सय रुपैयाँ खर्च भएको आय–व्यय विवरणमा उल्लेख छ । बत्ती व्यवस्थापनमा १७ हजार ५ सय रुपैयाँ, इन्धनमा १६ हजार ५ सय रुपैयाँ, खाजामा ४५ हजार २ सय ४० रुपैयाँ खर्च भएको छ ।

