मकवानपुर । बागमती प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता बहादुर सिं लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । साउन ६ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजिनामा दिए पछि प्रदेश प्रमुखबाट मंगलबार ५ बजेकाे समय सिमा ताेकी दावी पेशकाे लागि आव्हान गरेका थिए । लामाले नेकपा एमालेकाे समर्थनमा मुख्यमन्त्रीमा मंगलबार दावी पेश गरेका हुन् ।
बागमती प्रदेशमा नेकपा एमाले र नेपाली काङ्ग्रेसको आधा आधा कार्यकाल मुख्यमन्त्री नेतृत्व गर्ने सहमति भएको छ । पहिलो २० महिनाको लागि गठबन्धनको तर्फबाट बहादुर सिं लामालाई मुख्यमन्त्री बनाउने गरी दाबी पेश गरिएको एमाले नेता जगन्नाथ थपलियाले बताए । २० महिनापछि एमालेबाट मुख्यमन्त्री हुने गरी अहिले मुख्यमन्त्री र अर्थ काङ्ग्रेसलाई दिने सहमति भएकाे थपलियाले बताए ।
सहमति अनुसार प्रदेशको सुरुवातमा नेपाली काङ्ग्रेसका दलका नेता बहादुर सिंह लामा २० महिना र त्यसपछि नेकपा एमालेका दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति बनेको छ । मंगलबार हेटौंडामा पुर्वमुख्यमन्त्री डोरमणि पौडेलसहित नेताहरु लामा, थपलिया, नेपाली काङ्ग्रेसका नेता इन्द्र बहादुर बानियाँ, पुर्व मन्त्री केशव पोख्रेलसहितका नेताहरु बसेर सहमति गरेका हुन् । सहमति अनुसार एमालेले भौतिक पुर्वाधार सहित ६ मन्त्रालय र काङ्ग्रेसले मुख्यमन्त्री सहित ७ वटा लिने सहमति बनेको छ ।
काङ्ग्रेसले मुख्यमन्त्रीसहित, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, सस्कृती, पर्यटन तथा सहकारी मन्त्रालय लिने भएको छ भने एमालेले भौतिक सहित खानेपानी, उर्जा तथा सिंचाइ, कृषि तथा पशुपन्छी बिकास, वन तथा वातावरण, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन र स्वास्थ्य मन्त्रालय लिने सहमति बनेको हो ।
सोमबार नै मुख्यमन्त्रीकाे लागि दावी पेश गर्ने समय तोकिएकाे भएपनि भागवण्डा नमिल्दा आजकाे लागि समय सारिएकाे थियाे । मंगलबार विहान सहमति भएसँगै नेपाली काँग्रेसले पहिलोपल्ट बागमतीमा नेतृत्व गर्ने अवसर पाएकाे हाे । लामा प्रदेशकाे पाचौं मुख्यमन्त्री नियुक्ति हुनेछन् । मंगलबार नै मुख्यमन्त्री र मन्त्रीकाे नियुक्ति गरिने र बुधबार सपथ ग्रहणकाे कार्यक्रम हुने बताएकाे छ ।

