मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिं लामा नियुक्त भएका छन् । लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी मुख्यमन्त्रीमा नियुक्ति भएका हुन् । नेपाली काग्रेसको तर्फबाट पहिलो मुख्यमन्त्री बनेका लामा प्रदेशको पाँचौ मुख्यमन्त्री हुन् ।
फेरिएको सत्ता समीकरण अनुसार गत असार २४ गते नेकपा एमाले सरकारबाट बाहिरिए पछि अल्पमतमा परेका तत्कालिन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते प्रदेश प्रमुख समक्ष राजिनामा दिएका थिए ।उनको राजिनामा पछि प्रदेश प्रमुख शर्माले २ वा २ भन्दा बढी दलको समर्थमा सरकार गठनको लागि साउन ८ गते बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
लामाले प्रदेश प्रमुखले आह्वान गरेको समय अनुसार मंगलबार विहान मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका लामाले काग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसद्को समर्थनमा दाबी पेश गरेका थिए । लामा २०७९ सालको निर्वाचनमा नुवाकोटबाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।

